–साउन यतामात्र ३ हजार व्यक्ति ठगिए
–दैनिक ३५ जना उजुरी लिएर विभाग पुग्छन्
काठमाडौं ।
युरोपका विभिन्न देश पठाइदिने भन्दै कन्सल्टेन्सी, ट्राभल्स तथा मेनपावर कम्पनीहरूले सोझासीधा नेपालीलाई ठग्ने गरेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यस आर्थिक वर्षयता सबकुरा न्युज प्राइभेट लिमिटेडका सञ्चालक केशव गौतम तथा शारदा रिजाज, पल्सवेभ कन्सल्टेन्सीका राधिका गौतम, युरोपएसिया मेनपावरका जाकिर हुसेन,बंंगलामुखी टुर एन्ड ट्राभल्सका लिलबहादुर रोका र बेस्ट ब्रेन कन्सल्टेन्सीका जानुका ढुङ्गानाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सर्वसाधारण जनतासँग करोडौं रुपियाँ उठाई फरार भएको जनाएको छ ।
वैदेशिक रोजगार विभागमा श्रावण यतामात्र २ हजार ९ सय ३६ व्यक्तिले आफूहरू व्यक्ति तथा संस्थाबाट ठगिएको भन्दै उजुरी दिएका छन् । ठगिनेमा धेरैजसो वैदेशिक रोजगारको माग संख्या, कामको प्रकार तथा तलब सामाजिक सञ्जालमा पोस्ट गरी बुस्टिङ गर्ने गरेको पाइएको छ । विभागका अनुसार आफूहरू ठगिएको भन्दै दैनिक ३५ जना जति उजुरी लिएर आउने गरेको जनाएको छ ।
आफूलाई पलवेभ कन्सल्टेन्सीले ठगेको बताउने मोहन लामाले नेपाल समाचारपत्रसँग कन्सल्टेन्सी पनि मेनपावरजस्तो सरकारी निकायमा दर्ता हुने जस्तो लागेर अनलाइनमार्फत रकम पठाएको बताउनुभयो । अधिकांश ठगीमा पर्नेहरूले कन्सल्टेन्सी सरकारमा दर्ता भएको हुनाले अनलाइनबाट भुक्तानी गर्दा आफूहरू नठगिने लागेरै रकम पठाएको बताएका छन् । नेपाल समाचारपत्रको प्रतिनिधि २ घण्टा विभागमा रहँदा आफू ठगिएको भन्दै उजुरी लिएर आउनेमा माथि उल्लेखित ५ कन्सल्टेन्सी, ट्राभल्स तथा मेनपावरको रहेको देखिएको छ ।
सरकारले कन्सल्टेन्सी, ट्राभल्स एन्ड टुरको नियमन गर्न नसक्दा आफूहरू ठगिनुपरेको उजुरीकर्ताको भनाइ रहेको छ । त्यसै गरी विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले व्यक्तिहरूले केही नबुझी आफूखुसी रकम पठाउँदा ठगिने क्रम बढेको बताउनुभयो । उहाँले ठगिनबाट बच्न कन्सल्टेन्सी, ट्राभल्स एन्ड टुर जस्ता संस्थाको विश्वास नगर्न अनुरोध गर्नुभयो । यस्ता संस्था कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने गरे पनि बिनालगामको घोडाजस्तो छाडा रहेको ठगीमा पर्नेहरूको छ ।
धेरै ठगी गर्ने ५ संस्था तथा व्यक्ति
–सब कुरा न्युज प्राइभेट लिमिटेडका सञ्चालक केशव गौतम तथा शारदा रिजाज
–पल्सवेभ कन्सल्टेन्सीका राधिका गौतम
–युरोपएसिया मेनपावरका जाकिर हुसेन
–बंगलामुखी टुर एन्ड ट्राभल्सका लिलबहादुर रोका
–बेस्ट ब्रेन कन्सल्टेन्सीका जानुका ढुङ्गाना











प्रतिक्रिया