खोकनामा चलेको आन्दोलनको दस्तावेजीकरण

8.93k
Shares

यो आन्दोलनले खोकनामा राजनीतिक विभाजनलाई देखेको छ । मुआब्जा लिनुपर्ने र लिन नहुने भन्नेहरू पनि देखेको छ । तर, जे जस्तो भए पनि वास्तवमा त्यो संघर्ष युवापुस्ताले खोकनाको भूमि र त्यससँग सम्बन्धित गुठी, मूर्त र अमूर्त परम्परा जोगाउन गरेका हुन्’ –अभियन्ता असोज महर्जन

ललितपुर ।

केही वर्ष यतादेखि खोकनामा फास्ट ट्र्याकको जिरो प्वाइन्ट राख्ने कि नराख्ने सवाल एउटा राष्ट्रिय विमर्शको विषय बनेको छ । त्यो बहसको शृंखला अझै पनि टुंगिएको छैन । खोकनाको ऐतिहासिक तथा मौलिक बस्ती जोगाउन भन्दै युवापुस्ताले गरेका संघर्षले त्यसलाई राष्ट्रिय विमर्शको तहमा पु¥याएको भने अवश्य थियो ।

फास्ट ट्र्याकको विवाद समाधान नगरे त्यसको निर्माण अवधि लम्बिने भनी नेपाली सेनाले भनिरहेको समयमा त्यही संघर्षबारे लेखिएको ‘द रेसिसट्र्यान्स अफ खोकना द स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ अर्थात् खोकनाको भूमि अतिक्रमणविरुद्धको संघर्ष तथा प्रतिरोध पुस्तक प्रकाशित भएको छ ।

पत्रकार तथा अध्येता अनिल रञ्जितले लेख्नुभएको सो पुस्तक आधुनिक विकास र मौलिकताको द्वन्द्वको दोसाँधमा खोकनाको संस्कृति र परम्परा रक्षाका लागि १५ वर्षयता भए, गरेका संघर्षको पहिलो दस्तावेज हो । संस्कृति बिटमा लामो समयदेखि संलग्न फोटो पत्रकारले खोकनामा चलेको आन्दोलन, त्यहाँ परम्पराबारे खिचेका फोटो समावेश गरी रञ्जितले पुस्तकमार्फत आन्दोलनसँगै त्यहाँको परम्परा, संस्कृतिको समग्रमा खोकना चिनाउन खोजिएको छ ।

अहिले फास्ट ट्र्याकलाई आधुनिक विकासको भाष्य बनाइएको छ । काठमाडौं तराई दु्रतमार्ग (फास्ट ट्र्याक) को प्रस्थान बिन्दु (जिरो प्वाइन्ट) खोकनामा राख्ने कार्यले त्यहाँका कृषियोग्य जमिन, गुठीका जमिन अतिक्रमण हुने भन्दै त्यहाँका युवा अभियन्ता, संस्कृतिकर्मीको संघर्ष अहिले पनि टुंगिएको छैन । त्यहाँ चलेको प्रतिरोधको आन्दोलन, हाखः आन्दोलन, खुदोलमा विरोध प्रतीकात्मक स्वरूप रोपाइँ गर्ने आन्दोलनमा पुस्तकमा उल्लेख गरिएको छ ।

‘एक पत्रकारले त्यहाँ देखेका दृश्य, अभियन्तासँगको अन्तरक्रिया र राज्यको दमनलाई पुस्तकमा समेटिएको हो’ –पुस्तकका लेखक रञ्जितले भन्नुभयो । लेखक रञ्जितका अनुसार खोकनाको फास्ट ट्र्याकलाई आधार बनाएर आधुनिकीकरणले गाउँघरलाई कसरी परिवर्तन गर्दछ भन्ने विषय पुस्तकका केन्द्रीय विषय हुन् ।

‘घर बनाउने, सडक बनाउने डोजरे विकासको अवधारणाले गाउँठाउँको पर्यावरण, त्यहाँको भूमि र त्यससँग जोडिएको संस्कृति, सभ्यता कसरी क्षयीकरण हुँदै जान्छ, आधुनिक विकासको अवधारणाको सापेक्षतामा खोकनालाई लिएर यी प्रश्नको उत्तर खोज्ने प्रयास पुस्तकले गरेको छ’, उहाँले भन्नुभयो– ‘त्यतिमात्र नभई खोकनाको मौलिकता जोगाउन युवापुस्ताले गरेका संघर्षलाई लिपिबद्ध गरिएको छ ।’

‘संघर्षकै कारण सरकारले कहिले फास्ट ट्र्याकको जिरो प्वाइन्ट खोकनामा राख्नुको साटो अरू विभिन्न विकल्प अघि सा¥यो भने कहिले ती संघर्षलाई मुआब्जा वा जग्गा विवादमा केन्द्रित गरी चित्रण गरिरहेको छ । यो आन्दोलनले खोकनामा राजनीतिक विभाजनलाई देखेको छ । मुआब्जा लिनुपर्ने र लिन नहुने भन्नेहरू पनि देखेको छ ।

तर, जे जस्तो भए पनि वास्तवमा त्यो संघर्ष युवापुस्ताले खोकनाको भूमि र त्यससँग सम्बन्धित गुठी, मूर्त र अमूर्त परम्परा जोगाउन गरेका हुन्’ –खोकनामा चलेको संघर्षको नेतृत्व गर्दै आएका नेपाल सांस्कृतिक पुनःजागरण अभियानका संयोजक असोज महर्जनले भन्नुभयो ।

२०७२ सालमा संविधान निर्माण भएपछि काठमाडौं उपत्यकामा भूमि, सम्पदा, हिटी जोगाउन, गुठी जोगाउन अनेक आन्दोलनहरू भएका थिए । ती हरेक आन्दोलनमा युवापुस्ताका अभियन्ता, संस्कृतिप्रेमीहरूको अगुवाइ र सहभागिता रहेको पाइएको छ ।

‘चाहे गुठी विधेयकविरुद्धको आन्दोलन भनौं वा हिटी संरक्षण अभियान भनौं वा कोरोनाकालमा रातो मच्छिन्द्रनाथको रथयात्राको परम्परा जोगाउने सरकारले कफ्र्यु लगाउनुपर्ने गरी भएको प्रतिरोधको अभियान । ती आन्दोलनमा विशेषतः उही अभियन्ताको संलग्नता, नेतृत्व रहेको छ’, संयोजक महर्जनले भन्नुभयो– ‘तर त्यसबारे अहिलेसम्म अभिलेखीकरण गरिएको छैन ।’

यस अवस्थामा सो पुस्तकले खोकनामा भएको आन्दोलनको ऐनाबाट अभियन्ताहरूको भूमिकालाई नियालेको अभियन्ता महर्जनको भनाइ रहेको छ । अभियानमा युवा अभियन्ताहरू कसरी जोडिए ? उनीहरूको भावना के थियो भनेर पहिलोपटक सो पुस्तकमार्फत दस्तावेजीकरण गरिएकाले पुस्तक समग्र अभियन्ताको सम्पत्ति बनेको अभियन्ता महर्जनले बताउनुभयो ।
विभिन्न विकास आयोजनाबाट हुने खोकनाको भूमि अतिक्रमणविरुद्ध सडक संघर्षलाई पुस्तकले समेटेको छ ।

तर यसका लागि कयौं प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, सेनापतिमार्फत पैरवी गरिएको विषय भने पुस्तकले छुटाएको ललितपुर महानगरपालिका–२१ का वडाअध्यक्ष रविन्द्र महर्जनको कथन छ । जे जस्तो भए पनि खोकनाको प्रतिरोधको पहिलो दस्तावेजीकरण भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने वडाअध्यक्ष महर्जनले बताउनुभयो ।

‘मुआब्जाको लोभ, प्लटिङ, अन्य प्रयोजनका लागि उपयोग गर्दा बढी नाफा पाइने लोभले गर्दा महानगरपालिका क्षेत्रमा कृषिभूमि जोगाउन निकै चुनौती भएको छ’ –मेयर चिरिबाबु महर्जनले वल्र्ड नेवाः अर्गनाइजेसनले शनिवार पाटन संग्रहालयमा आयोजना गरेको पुस्तकको लोकार्पण समारोहमा भन्नुभयो ।