–अमेरिकालाई पन्छाएर युक्रेनको रक्षा गर्न युरोपेली नेताहरूले आँटलान् त ?
–बेलायतमा युरोपेली शीर्ष नेताहरूको सम्मेलन
–युरोपेली राष्ट्रहरू र अमेरिकाको एकतामाथि प्रश्न चिह्न
–यस्ता हुन सक्छन् जेलेन्स्कीका तीन विकल्प
–जेलेन्स्की लन्डन पुगे
काठमाडौं ।
रुससँगको तीन वर्ष लामो युद्धबाट पार पाउन खनिज सम्झौतामा हस्ताक्षर गर्ने उद्देश्यले शुक्रवार वासिंटन पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की उल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग भनाभन गरेर निस्किएपछि रुस–युक्रेन युद्ध अन्त्य हुने सम्भावनामा फेरि आशंका थपिएको छ । यससँगै युक्रेनको भविष्य अन्धकारतर्फ धकेलिने सम्भावना बढेको छ ।
ह्वाइट हाउसमा भएको भनाभनपछि खनिज सम्झौतामा हस्ताक्षर गर्ने विषयले प्रवेश नै पाएन भने पूर्व निर्धारित संयुक्त पत्रकार सम्मेलन पनि स्थगित भयो । त्यतिमात्रै नभई ट्रम्प प्रशासनले थप छलफल नगर्ने भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न निर्देशन पनि दियो । उक्त घटनाको लगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुवियोले सीएनएनमा दिएको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नुपर्ने बताउनुभयो भने जेलेन्स्कीले माफी माग्न अस्वीकार गर्दै फक्स न्युजमा आफूले कुनै गल्ती नगरेको प्रतिक्रिया दिनुभएको थियो ।
ह्वाइट हाउसको यो घटनासँगै युरोपेली राष्ट्रहरूले युक्रेनको पक्षमा बोलेका छन् तर उनीहरू अमेरिकाविरुद्ध एकजुट भएर युक्रेनलाई सहयोग गर्न कतिको सामथ्र्य राख्छन्, त्यो अझै प्रष्ट भएको छैन । आइतबार बेलायतको डाउनिङ स्ट्रिटमा हुने युरोपेली शीर्ष नेताहरूको सम्मेलनले यस विषयमा दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले ट्रम्प–जेलेन्स्कीको वार्ताभन्दा पहिले नै तय गरेको यो सम्मेलन रुस–युक्रेन शान्ति सम्झौताका बारेमा छलफल गर्नका लागि नै आयोजना गरिएको हो । यतिखेर युक्रेनी राष्ट्रपति जेलेन्स्की उक्त सम्मेलनमा भाग लिन बेलायत पुगिसक्नुभएको छ ।
बेलायती प्रधानमन्त्री स्टार्मर शान्ति सम्झौतामा अमेरिकालाई पनि समावेश गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । तर, ट्रम्प–जेलेन्स्कीको भनाभनपछि भने युरोपेली राष्ट्रहरू र अमेरिकाको एकता कसरी अघि बढ्छ भन्नेमा पनि प्रश्न चिह्न खडा भएको छ । ह्वाइट हाउसको बैठकपछि अमेरिकाले युक्रेनलाई सैन्य समर्थन नगर्न पनि सक्छ, सैन्य समर्थन गरि नै हाले पनि पहिलाजस्तो नहुन सक्छ । यस परिस्थितिमा युरोपेली राष्ट्रहरू युक्रेनको रक्षा गर्न सक्षम छन् कि छैनन् भन्ने विषय युरोपको लागि पनि चुनौतीपूर्ण बन्न पुगेको छ ।
ह्वाइट हाउसको भनाभनपछि युरोपेली नेताहरू युक्रेनको समर्थनमा उत्रिएका छन् तर अमेरिकालाई पन्छाएर अघि बढ्न उनीहरूलाई पनि त्यति सहज छैन । ट्रम्पले कमान्ड सम्हालेको अमेरिकाले युरोपेली सुरक्षाको सुनिश्चितता गर्न चासो नदिन पनि सक्छ, जसले गर्दा दोस्रो विश्वयुद्धपछि बनेको विश्व व्यवस्थाको चुरो टुट्ने सम्भावना पनि प्रबल देखिएको छ ।
यसैबीच नेटोको सदस्य राष्ट्र टर्कीले रुस र युक्रेनबीच शान्ति वार्ताको आयोजना गर्ने आफ्नो रुचिलाई पुनः दोहर्याएको छ । टर्कीका सञ्चारमाध्यमले कूटनीतिक स्रोतको हवाला दिँदै टर्कीका विदेशमन्त्रीले आइतबार बेलायतमा हुने युरोपेली राष्ट्रहरूका भेलामा टर्कीले आफ्नो प्रस्ताव पुनः दोहर्याउने बताएको छ ।
अर्कोतर्फ युक्रेनमा थप संकटमा फसेको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग केवल तीनवटा विकल्पमात्र देखिएको छ । पहिलो ट्रम्पसँग झुक्ने, यसो गरेमा युक्रेनले अमेरिकाको पूर्ण सहयोग त पाउन सक्छ तर यसका लागि उसले आफ्नो खनिज खानीमात्र होइन, सार्वभौमसत्ता पनि गुमाउनुपर्ने हुनसक्छ । दोस्रो, राष्ट्रपतिको पद त्याग्ने । युद्धको मैदानमा भएको बेलामा अचानक पद त्याग्न र फेरि नयाँ राष्ट्रपतिको चुनाव गर्न त्यति सजिलो हुने छैन ।
तेस्रो विकल्प भनेको युद्धमा रहेको रुससँग नै सम्झौता गर्ने । ह्वाइट हाउसको घटनापछि रुसका पूर्व राष्ट्रपति डिमित्री मदभेदेभले रुसको सरकारी सञ्चारमाध्यम आरआईए नोवोस्तीमार्फत रुस युक्रेनसँग वार्तामा लचिलो हुन तयार रहेको बताउनुभएको छ । यद्यपि, उहाँले पनि रुसको संविधानअनुसार लचिलो हुने र रुस संवाद गर्न तयार भएका व्यक्तिहरूसँग मात्रै वार्ता गर्नेे भनेर रुसको लचिलोपन कस्तो हुने भन्ने छनक दिइसक्नुभएको छ ।











प्रतिक्रिया