सिन्धुलीमा सवारी दुर्घटना: आठ जना घाइते


काठमाडौं ।

सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तीलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन् ।

प्रहरीकाे अनुसार घाइतेको अवस्था खतरामुक्त छ र उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । सवारी चालक, सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन् ।

सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।