सरुवा सधैं ‘राम्रा होइन, हाम्रा मान्छे’ मा केन्द्रित



मापदण्ड बनाउने सचिव बैठकको निर्णय अलपत्र
–एकैपटक ७८ सहसचिवको सरुवा
– निजामती सेवा ऐन र नियमावलीको ठाडो उल्लंङ्घन
–निजामती प्रशासनमा हस्तक्षेपको पारो बढ्दो

काठमाडौं ।

राजनीतिक नेतृत्वले कर्मचारी क्षेत्रमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’ खोजेर सरुवा गर्ने प्रवृत्ति अत्यधिक बढाउन थालेपछि निजामती प्रशासनको कामकाज प्रभावित हुन थालेको छ । वर्तमान सरकारले पनि छोटो छोटो समयमा कर्मचारी सरुवा गर्ने प्रवृत्तिलाई तीव्रता दिन थालेपछि कर्मचारी वर्गमा आतंक छाउन थालेको छ ।

यसैबीच विभिन्न दबाबका बाबजुद एकै पटक ७८ जना सहसचिवहरूको सरुवा गरिएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार बिहीबार ७८ जना सहसचिवको सरुवा सूची सार्वजनिक भएको हो ।

विभिन्न मन्त्रालयमा राजनीतिक नेतृत्वको रूपमा आएका मन्त्रीहरूले मातहतका विभाग तथा संवेदनशील निकायमा पठाउने प्रशासनिक नेतृत्वको ‘ट्रयाक’ रेकर्डलगायतका उपलब्धिहरू केही पनि नहेर्ने र स्वार्थका आधारमा पठाउने क्रम बढेको पाइएको छ । विशेषगरी सहसचिवको सरुवामा बढी लफडा हुन थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूको दाबी छ ।

उता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सरुवा मापदण्ड बनाउन नसक्दा मनलाग्दी सरुवा गरिरहेको छ । सामान्यले कर्मचारी सरुवा गर्दा निजामती सेवा ऐन र नियमावलीको ठाडो उल्लंङ्घन गरिरहेको कर्मचारीहरूको गुनासो छ । मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकले धेरैपटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा मापदण्ड बनाएरमात्रै सरुवा गर्ने निर्णय गरेको भए पनि मन्त्रालयले सचिव बैठकको सो निर्णय अलपत्र पार्दै आइरहेको छ । मन्त्रीहरू नै केही शक्तिशाली सहसचिवहरूको रुचिअनुसार चल्न पुग्दा सरुवाहरू विवादितसमेत हुने गरेका छन् ।

कर्मचारी सरुवा सामान्य प्रक्रिया हो । तर, सरुवासम्बन्धी स्पष्ट नीति र मापदण्ड नहुदा सरुवा बढी विवादित हुने गरेको प्रशासनविद्को भनाइ छ । प्रशासनविद् श्यामप्रसाद मैनालीले मन्त्रीहरूले नै राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे छान्ने प्रवृत्तिलाई व्यापक बनाउने गर्दा सरुवासम्बन्धी नीति बन्न नसकेको बताउनुभयो । ‘सरुवा नीति र मापदण्ड बनाउन मन्त्रीहरू नै अनिच्छुक देखिन्छन्, किनकि नीति र मापदण्ड बनाउदा चलखेल गर्न पाउदैनन् ।’ – मैनालीले भन्नुभयो । कतिपय सरुवाको सूची बाहिरै बनेर आउने गर्दा पनि प्रशासनमाथि अनावश्यक हस्तक्षेप भइरहेको हो ।

अहिले कैयौं सहसचिव तथा उपसचिवहरू आफैं सरुवाको लागि नेताकहाँ दौडधूप गर्ने क्रम बढेको छ । सामान्य प्रशासन मन्त्रालयको राजनीतिक नेतृत्व नीतिगत तहमा सुधार गर्नेभन्दा पनि कर्मचारी सरुवामा मात्रै केन्द्रित हुन थालेको स्रोतको दाबी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले मन्त्रालयले पछिल्लो समय कार्यतालिका बनाएर सरुवा गरिरहेको भए पनि मापदण्ड भने बनाउन नसकिएको बताउनुभयो ।