बुद्धि तामाङको कुस्ती शुरू


लोकप्रिय कलाकार बुद्धि तामाङले निर्माण गर्न लागेको फिल्म कुस्तीको छायांकन शुरू भएको छ।


अनिल योञ्जनको निर्देशनमा निर्माणाधीन फिल्मको मंगलवार राजधानीको मातातीर्थमा मुहूर्त पूजा गरेर अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै सुटिङ शुरू गरिएको हो। अनुषा सिनेमाउड पिक्चर्स प्रालिको ब्यानरमा निर्माणाधीन फिल्ममा धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुष्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायतका कलाकारले अभिनय गर्नेछन्।

फिल्म निर्माण आप्mनो पहिलो प्रयास भएकाले उत्साहितसँगै केही नर्भस भएको अभिनेता बुद्धि तामाङले बताए। ‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गर्नेछु। एउटा राम्रो कथा र राम्रो टिम पाएकाले म निर्माताको रूपमा अगाडि आएको हूँ।

हामीले देखेको सपना छिटै पूरा भएर पर्दामा आउनेछ’ बुद्धिले भने। निर्देशक योञ्जनले सहरको कथा भएकाले काठमाडौं आसपासमा छायांकन गर्ने बताए। योञ्जनका अनुसार आ–आप्mनो स्वभावका कारण एकसाथ रहन कठिनाइको सामना गरिरहेका तर छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा फिल्ममा हुनेछ। आगामी भदौ महिनामा रिलिज गर्ने लक्ष्य राखिएको फिल्ममा दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन, उमंग शाहीको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहनेछ।