साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार शैलेन्द्र सिम्खडालाई


लोकप्रिय हास्य कलाकार साम्दे शेर्पाको नाममा स्थापित यस वर्षको साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार लोकप्रिय हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडालाई प्रदान गरिने भएको छ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा वार्षिक रूपमा प्रदान गरिने पुरस्कारको छनौट समिति बैठकले उक्त निर्णय गरेको हो। सिम्खडालाई हास्यव्यङ्ग्यमार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाको प्रवद्र्धन, सृजनशीलता र प्रभावकारिताका लागि सो पुरस्कार प्रदान गर्न लागिएको केन्द्रले जनाएको छ।

लामो समयदेखि प्रहसन, स्टेज प्रस्तुति, टेलि सिरियल, गाईजात्रा कार्यक्रम गरी भौतिक तथा डिजिटल सञ्चारमाध्यममार्फत हास्य प्रस्तुति र तिखो व्यङ्ग्य प्रहार गर्दै आएका सिंखडालाई भोलि बिहीबार एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।

सबैजसो चर्चित व्यक्तित्वको दुरुस्तै नक्कल गर्न माहिर सिम्खडा अचानक गायक भएका थिए। उनी खासगरी चर्चित नेतादेखि तत्कालीन राजाको क्यारिकेचर गरेर लोकप्रिय भएका थिए।