काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको वसन्तपुरस्थित क्षतिग्रस्त भवन भत्काउन शुरू गरिएको छ । त्रिविले भत्काउन चासो नदेखाएपछि स्थानीयको सक्रियतामा भत्काउन शुरू भएको हो । काठमाडौं महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनसहित स्थानीय संघसंस्था अभियन्ताको उपस्थितिमा शुक्रवारबाट भत्काउन शुरू गरेको हो ।
यसअघि २०७९ फागुन ११ गते बसेको कामपा कार्यपालिकाको १३औं कार्यपालिकाको बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा वडानम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाको नाममा कायम रहेको ४ आना १ पैसा क्षेत्रफलमा बनेको सो भवन कामपाको मातहतमा ल्याउन नीतिगत निर्णय गर्ने अधिकार दिएको थियो । सो विषयमा पटकपटक प्रयास भएको थियो । उक्त प्रयास विफल भएपछि भवन भत्काउन समस्या भइरहेको थियो ।
त्रिविले भवन भत्काउने विषयमा कुनै चासो नदिएपछि एक वर्षअघि स्थानीयले हस्ताक्षर गरी भवन भत्काउन माग गरेको थियो । कामपा सम्पदा विभाग प्रमुख सरिता राईले रातो स्टिकर टाँसिएको सो भवन जुनसुकै बेला भत्कन सक्ने भएकाले भत्काउन शुरू गरेको जानकारी दिनुभयो । विश्वसम्पदा क्षेत्रमा अशोभनीय सो भवन भत्काउन स्थानीयले पटकपटक दबाब दिएका थिए । उनीहरूकै सक्रियतामा महानगर प्रहरीले भत्काउन शुरू गरेको हो । प्रमुख राईले सो स्थानमा कुन संरचना निर्माण गर्ने भन्ने विषयमा कामपा कार्यपालिका बैठक र त्रिविले निर्णय गर्न सक्ने बताउनुभयो ।
स्थानीय गणपतिलाल श्रेष्ठले कामपा र त्रिविले भत्काउने विषयमा कुनै चासो नदिएपछि भत्काउन शुरू गरेको जानकारी दिनुभयो । २०७२ को भूकम्पले क्षतिग्रस्त दरबारक्षेत्रभित्रको सबै सम्पदा लगभग पुनःनिर्माण भइसक्दा पनि सो भवन पुनःनिर्माण गर्न चासो नदेखाएपछि भत्काउन शुरू गरेको स्पष्ट पार्नुभयो । आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको समयमा वसन्तपुर डबलीस्थित सो भवन पुरानै अवस्थामा राख्दा दुर्घटना हुन सक्ने भएपछि भत्काउन परेको उहाँको भनाइ थियो । भवन नभत्काउँदा पछाडि ग्वाछेमुगःगल्लीबाट आवतजावत गर्नसमेत समस्या भएको उहाँको तर्क थियो ।
उहाँले सो स्थानमा जीवित देवता भैरव र गणेशको वासस्थान अर्थात् घर बनाउनुपर्ने जिकिर गर्नुभयो । ‘हाम्रो चाहना देवतालाई घर हो, सो विषयमा त्रिवि र कामपाबीच सम्झौता गरी निर्णय गर्नुपर्छ, त्यसका लागि हामी निरन्तर दबाब दिन्छांै’ – श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो– ‘घरविहीन दुई देवतालाई बस्न भवन निर्माण गर्न माग गरेका छौं, कामपासँग वार्ता गरेर निर्णय गर्ने तयारीमा छौं ।’ कुमारीको भवन भए पनि दुई देवताको भवन बनाउन नसकेको कारण इन्द्रजात्रामा समस्या हुने गरेकाले देवताको घर बनाउन दबाब दिने तयारीमा स्थानीय छन् ।
कामपाले भत्काएको सो स्थानमा तत्काल कुनै संरचना बनाउने छैन । कामपा–२३ का अध्यक्ष महर्जनले त्रिविको स्वामित्वमा रहेको जग्गामा यो संरचना बनाउँछौं भन्न नमिल्ने तथा कार्यपालिकाको बैठकले के निर्णय गर्छ सोही आधारमा अघि बढ्ने बताउनुभयो । उहाँले परापूर्वकालमा जीवितदेवी कुमारीको घर भएको सो स्थानमा अब भैरव र गणेशको वासस्थान बनाउन स्थानीयले दबाब दिन शुरू गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘शुरूमा भत्काआंै, त्यसपछि कुन संरचना बन्छ निर्णय गरौंला ।’ त्रिविले कामपालाई पत्र लेखेर आफ्नो स्वमित्वमा रहेको जग्गामा अन्य निकायलाई दिन नमिल्ने बताएको थियो । भत्काउनु करिब एक वर्षअघि उपप्रमुखको संयोजकत्वको समितिले भवनको स्वामित्व लिएर त्रिविलाई सार्वजनिक जग्गा दिने तयारी गरेको थियो । उपप्रमुख डंगोलले १२ भदौ २०८० मा त्रिवि उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाका तर्फबाट केन्द्रीय समिति गठन गरेर संयुक्त बैठकको माग गर्नुृभएको थियो । तर, त्रिविले जग्गा साटफेर गर्ने विषयमा कुनै निर्णय गरेको छैन ।
त्रिवि प्रशासन महाशाखा प्रमुख राजु श्रेष्ठले भवन भत्काएको बारेमा केही जानकारी नभएको बताउनुभयो । भत्काउन शुरू गरेको भवनको बारेमा जानकारी लिँदा उहाँले भन्नुभयो– ‘ए भत्काउन शुरू गरेको हो र ? हामीलाई त कुनै जानकारी नै छैन त ।’ उहाँले सो भवन भत्काएर कस्तो संरचना बनाउने भन्ने विषयमा छलफल भइरहेको दाबी गर्नुभयो । तर, त्रिविले भवन भत्काउन कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।
पछिल्लो समय त्रिविले सो जग्गाको स्वमित्व ललितकला क्याम्पसलाई दिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘अब सो स्थानमा ललितकला क्याम्पसको भवन बन्नेछ । भवनमा कलात्मक वस्तु प्रदर्शनीमा राखिनेछ । कलाकारिता सिक्ने विद्यार्थी र अन्यलाई सेवा दिनेछौं ।’ विभागीय प्रमुख श्रेष्ठले पुरातात्विक भवन निर्माण गरिदिन कामपालाई पत्राचार गरेको जानकारी दिँदै भन्नुभयो– ‘पत्र पठाएका छौं जवाफ आएको छैन ।’ उहाँले आफैं भत्केर दुर्घटना हुने अवस्थामा पुगेको सो भवन स्थानीयले भत्काउन शुरू गरेकोमा आपत्ति नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘त्रिविको सोचअनुसार सम्पदा क्षेत्रलाई खतरा नपुग्ने गरी कलात्मक भवन बनाउँनेछौं । विश्वविद्यालयका विद्यार्थीलाई पढ्ने वातावरण बनाउनेछौं । ललितकला सिक्नेका लागि स्थान दिने योजना बनाएका छौं ।’ कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले करिब दुई सातामा भवन भत्काइसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले भत्काएर खुला क्षेत्रका रूपमा विस्तार गर्ने योजना बनाएका छाैं । दु
ई पक्षबीच के निर्णय हुन्छ सोही आधारमा अघि बढ्नेछौं ।’ त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले सो जग्गाको बारेमा कामपासँग निरन्तर छलफल भइरहेको बताउनुभयो । उहाँले कामपासँग सहमति र सहकार्यमा भौतिक संरचना निर्माण गर्ने सोचाइमा रहेको उल्लेख गर्नुभयो ।
तस्वीर: अनिल आङदेम्बे











प्रतिक्रिया