काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले लाेकतन्त्रकाे विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयाेजित सुदूरपश्चिम कानुन समाजकाे प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र मात्रै हुने बताए ।
“अहिलेकाे संविधानले लाेकतन्त्रलाई सुनिश्चित गरेकाे छ । यसकाे विकल्प खाेज्ने भनेकाे मुलुकलाई संकटमा धकेल्ने काम हाे । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणकाे डटेर सामना गर्नुपर्छ ,” उनले भने ।
लाेकतन्त्रकाे रक्षा, संविधानकाे सुरक्षा र समावेशिताकाे सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए ।
दश वर्षमा संविधानकाे अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षकाे विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताकाे कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याए ।
कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उनको भनाइ छ । राज्यका सबै अंगमा सुदूरपश्चिमकाे उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उनको भनाइ छ ।











प्रतिक्रिया