–दुई अध्यक्षले ताला लगाए, ६ संगठनले खोल्न आग्रह गरे
–त्रिवि भन्छ: निर्वाचन रोकिँदैन, एक दुई दिनमा तालिका सार्वजनिक गर्छौं
काठमाडौं ।
नेपाल विद्यार्थी संघबाट निर्वाचित दुई क्याम्पसका स्ववियु अध्यक्षले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा तालाबन्दी गरेपछि सोही संगठनका नेताले आपत्ति जनाउँदै ६ विद्यार्थी संगठनले तत्काल ताला खोल्न आग्रह गरेका छन् ।
अध्यक्षसहित कार्यसमितिको कार्यकाल चैत ४ गते सकिने गरी निर्देशिका जारी गरेको विषयमा आपत्ति जनाउँदै तालाबन्दी गरेका हुन् । पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीको अगुवाइमा तालाबन्दी भएको थियो । दुवैजना स्ववियु निर्वाचन परिषद् सदस्य हुन् ।
निर्देशिका जारी भई निर्वाचन कार्यतालिका आउने अन्तिम तयारी भइरहँदा दुई अध्यक्षले शिक्षाध्यक्ष र निर्देशनालयमा तालाबन्दी गरेका हुन् । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । आफूहरूसँग कुनै प्रकारको छलफल नै नगरी स्ववियु निर्वाचन कार्यविधि पारित गरिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । त्रिवि कार्यकारी परिषद् बैठकले कार्यविधि जारी गर्दै २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त हुने उल्लेख गरेका छन् । परिषद् सदस्यद्वयले सो विषय संशोधन गर्न माग गरेका छन् ।
स्ववियुको अस्तित्व जोगाउन आफ्ना माग पूरा नभएसम्म आन्दोलनस्वरूप शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको उनीहरूको भनाइ छ । सो कार्यको ताला लगाउने र अन्यले विरोध जनाएका छन् । निर्वाचनको मुखमा तालाबन्दी गरेको भन्दै ६ विद्यार्थी संगठनले असन्तुष्टि पोखेका छन् ।
त्रिवि अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्ट, अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष दिनेश ऐर, त्रिवि अनेरास्ववियु अध्यक्ष समिर गौतम, अखिल (छैटौँ) त्रिवि इन्चार्ज विवेक जिसी, अखिल (समाजवादी) त्रिवि संयोजक कविन्द्र सी र अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष वीरेन्द्र नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीको आधिकारिक संस्थाको आवधिक निर्वाचनका गतिविधि बिथोल्ने उद्देश्यले त्रिवि सभामा विद्यार्थीबाट प्रतिनिधित्व गरेका सदस्यहरूले गरेको तालाबन्दीप्रति आपत्ति जनाएका छन् ।
विद्यार्थीबाट चुनिएका प्रतिनिधि नै यस किसिमको क्रियाकलापमा उत्रनु, विद्यमान स्ववियुको पदावधि थप्ने र समयमै स्ववियु निर्वाचन नगराउने मनसाय राखेर अनेक षड्यन्त्रपूर्वक स्ववियु संस्थालाई प्रतिनिधिविहीन बनाउन उद्यत व्यक्तिहरूलाई विश्वविद्यालयबाटै संरक्षण गरिएको हो कि भन्ने आशंकासमेत उत्पन्न भएको खण्डमा स्ववियु निर्वाचनसम्बन्धी कार्यविधि, २०८१ जारी भइसकेको अवस्थामा विश्वविद्यालयले तोकिएकै समयमै स्ववियु निर्वाचन सम्पन्न गराउनु विश्वविद्यालयको प्रमुख दायित्व हो, यसका लागि विश्वविद्यालयका पदाधिकारीसहित सबै जिम्मेवार निकायहरूको समेत ध्यानकर्षण गराउँदछौं’ – विज्ञप्तिमा भनिएको छ ।
तोकेको समयमै स्ववियु निर्वाचन गराउनु सबै विद्यार्थी संघ संगठनको जिम्मेवारी भएकोले यसलाई साझा दायित्व ठानेर स्ववियु निर्वाचन सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूलाई अनुरोध गरेको छ । त्रिवि अनेरास्ववियुका नेता मदन विष्टले यो वा त्यो बहानामा निर्वाचन बिथोल्न नहुने बताउनुभयो ।
कार्यविधिमा निर्धारित मितिमा कुनै कारणवश निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र कुनै मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था उल्लेख छ । त्रिवि सभा सदस्य एवं त्रिवि विश्वविद्यालय क्याम्पस अध्यक्ष श्यामराज ओझा, पुल्चोक इन्जिनियरिङ क्याम्पस स्ववियु अध्यक्ष विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष विष्णु ढुंगेलले आइतबार स्ववियु निर्वाचनलाई विवादित बनाउने र विश्वविद्यालयलाई विद्यार्थी प्रतिनिधिविहीन बनाउने निर्णय गलत नियत भएको आरोप लगाएका छन् ।
निर्देशिकाको दफा १३ को उपदफा ४ मा स्ववियु निर्वाचन सम्पन्न भएको वा नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल यही चैत ४ गतेदेखि स्वतः समाप्त भएको मानिनेछ भन्ने व्यवस्थाको विपरीत छ । त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमको नियम ३४९ को ‘घ’ मा कुनै कारणले निर्धारित मितिमा निर्वाचन हुन नसकेमा त्रिवि कार्यकारी परिषद्ले बढीमा ६-६ महिनाका लागि थप गर्न सक्ने व्यवस्था उल्लेख छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले निर्वाचनको प्रक्रिया पूरा भइसकेको बताउनुभयो । निर्देशनालयले आगामी साताभित्र कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । परिषद्ले १३ गतेसम्म तालिका सार्वजनिक गर्ने तयारी थालेको छ ।
‘कसैले रोकेर रोक्दैनाैं, निर्वाचनको मित तय भइसकेपछि थप प्रक्रिया रोकिँदैन, चुनाव हुन्छ । भएरै छाड्छ’ –खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले भन्नुभयो ।











प्रतिक्रिया