मृतक प्रकृति र पीडित नेपाली विद्यार्थीहरूको न्यायका लागि कूटनीतिक पहल जारी


काठमाडौं ।

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युको घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न र उक्त घटनापछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीहरूको न्यायका लागि सरकारले कूटनीतिक प्रयास जारी राखेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बुधबार ओडिसा सरकारका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन वार्ता गरी दोषीलाई कडा कारबाही र त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनको वातावरण बनाउन आग्रह गर्नुभएको छ । यसैबीच ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीले पनि प्रकृति लम्सालको मृत्युको घटनामा न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार नै ओडिसा पुगेका नेपाली दूतावासका अधिकारीद्वय सञ्जीवदास शर्मा र नवीनराज अधिकारीसँगको कुराकानीमा ओडिसाका मुख्यमन्त्री माझीले यस्तो आश्वासन दिनुभएको हो । उहाँले क्याम्पसमा शान्तिसुरक्षा पुनःस्थापित गर्ने आश्वासन दिँदै नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्केर आफ्नो पढाइ जारी राख्न पनि आग्रह गर्नुभएको छ ।

उक्त घटनाको सिलसिलामा भुवनेश्वर प्रहरीले क्याम्पसका मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, छात्रावासका निर्देशक सुधिरकुमार राठ र सुरक्षागार्ड रमाकान्त नायक तथा जोगिन्द्र बेहोरालाई पक्राउ गरेको छ । यद्यपि, यतिखेर ती पाँचै जना अदालतको आदेशमा २० हजार रुपियाँ धरौटीमा छुटिसकेका छन् । शंकास्पद मृत्युको मुख्य दोषी अद्विक श्रीवास्तव प्रहरीको न्यायिक हिरासतमा छन् ।

सोमबार नेपाली विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनबाट दुव्र्यवहार भएको घटना बाहिरिएलगत्तै नयाँदिल्लीस्थित नेपाली दूतावासको निरन्तर पहलसँगै मंगलवार नै नेपाली विद्यार्थीहरूको समस्या लगभग समाधान भइसकेको छ । क्याम्पसबाट निष्कासित गरिएका नेपाली विद्यार्थीहरूलाई क्याम्पसले फिर्ता बोलाइसकेको छ भने स्वदेश फर्किसकेका विद्यार्थीहरूलाई पनि क्याम्पस फर्कने खर्च क्याम्पसले नै बेहोर्नेभएको छ ।

ती विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति दिँदै ओडिसा प्रहरीले २४ घण्टे हटलाइन चालू गरेको छ । मृतक प्रकृति लम्सालले आफूमाथि मानसिक दुव्र्यवहार गरेको विषयमा उजुरी गर्दा पनि बेवास्ता गरेका क्याम्पसका अधिकारीका साथै प्रकृतिको मृत्युको न्याय माग्दै विरोध प्रदर्शन गर्ने नेपाली विद्यार्थीमाथि दमन र दुव्र्यवहार गर्ने ३ जना उच्च अधिकारीहरू निलम्बनमा परेका छन् भने २ जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको छ । विद्यार्थीमाथि भएको दुव्र्यवहारका लागि केआईआईटीका उपकुलपतिले समेत सार्वजनिक रूपमा माफी मागिसकेका छन् ।