प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने डा. ओम मूर्ति अनिल काे हुन् ?


काठमाडौं।

सरकारले चिकित्सा क्षेत्रबाट ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुस्कार’ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिललाई प्रदान गर्ने भएको छ । प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बुधबार उक्त घोषणा गरिएको हो । स्वास्थ्य सचेतनामा दुईवटा विश्व कीर्तिमान कायम, प्रविधिको प्रयोगमार्फत पहुँच बाहिर रहेकालाई सेवा प्रदान तथा सामाजिक सञ्जालमार्फत स्वस्थ जीवन अभियान सञ्चालन गरेको भन्दै आइतबारको मन्त्रिपरिषद् बैठकले डा. ओम मूर्ति अनिललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

डा. ओम मुर्ति अनिलले एक दशकभन्दा लामो समयदेखि नेपालमा मुटु रोगसम्बन्धी जनचेतना र रोकथाममा निरन्तर क्रियाशील भूमिका निभाउँदै आएका छन् । उनले विभिन्न समयमा आयोजना गरेका निःशुल्क मुटु स्वास्थ्य शिविरमार्फत २० हजार जनाभन्दा बढी व्यक्तिलाई परीक्षण तथा परामर्श गरेका छन् । ती सबै शिविर उनको व्यक्तिगत लगानीमा सञ्चालन भएका हुन्, ती काम सम्पन्न गर्नका लागि करोडभन्दा बढी रकम खर्च हुने अनुमान गर्न सकिन्छ ।
सन् २०१४ मा उनले आयोजना गरेको ११ दिने मुटु शिविर विशेष रूपमा उल्लेखनीय छ, जसमा ६ हजार ८५९ जनाको व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । त्यो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो निःशुल्क मुटु स्वास्थ्य शिविर मानिन्छ । शिविरको सम्पूर्ण खर्च डा. अनिलको व्यक्तिगत स्रोतबाट गरिएको थियो ।

त्यस्तै उनले सुरु गरेको निःशुल्क टेलिमेडिसिन सेवामार्फत विशेष गरी विदेशमा रहेका नेपाली श्रमिक तथा दुर्गम क्षेत्रका हजारौं नागरिक लाभान्वित हुँदै आएका छन् । हालसम्म ३० हजारभन्दा बढी व्यक्तिले यस सेवाबाट प्रत्यक्ष लाभ उठाएका छन् । समयमै परामर्श पाउँदा धेरैजसालाई स्वास्थ्य जटिलता, अनावश्यक खर्च तथा मानसिक तनावबाट जोगिन सहयोग भएको छ ।

उनले शहरी क्षेत्रका युवाहरुमा मुटुरोगको जोखिमका कारकहरूको मूल्याङ्कनसहित बृहत् अनुसन्धान गरेका छन् । जसलाई राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा सर्वोत्कृष्ट शोधपत्रका रुपमा पुरस्कृतसमेत गरेको छ । नेपालकै सबैभन्दा ठूलो अनुसन्धान रहेको त्यस अनुसन्धानमा ५ हजार ५३० जना सहभागी थिए । उक्त अनुसन्धान पनि डा. ओम मूर्ति अनिलकै व्यक्तिगत लगानीमा भएको थियो ।

यसैगरी स्वास्थ्य जनचेतनाका लागि उनले लेखेको पुस्तक ‘म पनि डाक्टर’ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा सन् २०१४ मा लोकार्पण गरिएको थियो । उक्त पुस्तक ५ हजारभन्दा बढी प्रतिहरू ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यकर्ता, शिक्षक तथा विद्यार्थीलाई निःशुल्क वितरण गरिएको थियो । उक्त पुस्तकका माध्यमबाट मुटुको स्वास्थ्य, उच्च रक्तचाप, कोलस्ट्रोलगायतका स्वास्थ्य समस्याका बारेमा सचेतना जगाउन र परामर्श प्रदान गर्न सहयोगी बनेको छ । अहिले पनि उक्त पुस्तकको माग र औचित्य उत्तिकै रहेको छ ।

ह्दय रोग रोकथामको बारेमा जनचेतना जगाउने यो पहिलो नेपाली भाषाको पुस्तक थियो । जस्ले समाजमा स्वास्थ्य सचेतना जगाउन आमूल परिवर्तन गरेको आम बुझाइ छ ।

डा. ओम मूर्ति अनिलले समाजमा फ्रन्टलाइनमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई लक्षित गरी स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । अहिलेसम्म ३ हजारभन्दा बढी त्यस्ता पेशाकर्मीलाई प्राथमिक उपचार, अकस्मात हुने स्वास्थ्य समस्याका बेलामा जीवन रक्षा गर्न सकिने उपाय, मुटुरोगको प्रारम्भिक संकेतको पहिचान लगायतका विषयमा केन्द्रित गरिएको थियो ।

उनले ‘मिसन टु सेभ हार्ट’ अभियान सञ्चालन गरी हृदयघात भएका बिरामीको जीवन रक्षाका लागि तत्काल गर्नुपर्ने उपाय सम्बन्धी तालिमहरू पनि सञ्चालन गर्दै आएका छन्, जसमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू सहभागी हुँदै आएका छन् ।

यसैगरी डा. ओम मूर्ति अनिलले आफ्नो दोस्रो पुस्तक ‘जीवन सम्बन्ध’ को बिक्रीबाट प्राप्त १ करोड रुपियाँभन्दा बढी रकम डा. ओम फाउन्डेसन’लाई सहयोग गरेका छन्, उनले नै स्थापना गरेको उक्त फाउन्डेसनले शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरण क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

जसमध्ये शैक्षिक सत्र २०८१ मा फाउन्डेसनमार्फत विपन्न तथा जेहेन्दार देशभरका विद्यार्थीहरूलाई लक्षित गरी २० लाख रुपियाँबराबरको छात्रवृत्तिको प्रदान गरिएको छ । जसबाट ६० जनाभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । डा. ओम मूर्ति अनिलले धुम्रपान तथा सूर्ती सेवन विरोधी अभियान सञ्चालन गरी २ हजार ५ सयभन्दा बढी व्यक्तिलाई धुम्रपान तथा सूर्ती सेवनको लत छोड्ने प्रतिबद्धता गराएका छन् । त्यस्तै उनले स्कुल हेल्थ प्रोग्राममार्फत स्वास्थ्य सचेतना सञ्चालन गरी नेपालभरका विद्यार्थी सहभागी हुनसक्ने सचेतनामूलक देशव्यापी हाजिरी जवाफ, कविता, चित्रकला प्रतियोगिता सञ्चालन गरेका थिए । जसमा ७ सयभन्दा बढी विद्यालय र १ हजार ७ भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । साथै विपन्न र सिमान्तकृत समुदायका ५ सय घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने पहिलो नेपाली चिकित्सकसमेत रहेका डा. अनिलले स्वास्थ्य सचेतनासम्बन्धी प्रत्यक्ष संवाद कार्यक्रमको लागि फेसबुक लाइभ गरी विश्व कीर्तिमानसमेत कार्यक्रम गरेका छन् । ‘उच्च रक्तचापको निदान केन्द्रित स्वास्थ्य जागरुकता लाइभ स्ट्रिम’को लागि फेसबुकमा सबैभन्दा धेरै दर्शक पाएर विश्व रेकर्ड कायम गरेका हुन् । ११ हजार २१२ जना दर्शक प्रत्यक्ष सहभागी रहेको कार्यक्रमले सन् २०२३ सेप्टेम्बरमा ‘गिनिज बुक वल्र्ड रेकर्ड’ कायम गरेको छ । उनी हाल नेपालका चिकित्सकमध्ये सबैभन्दा धेरै सामाजिक सञ्जाल फलोअर्स भएका चिकित्सक हुन् । उनले स्वास्थ्य सचेतना जगाउने उद्देश्यले त्यससँग सम्बन्धित विभिन्न सामग्री सामाजिक सञ्जालमार्फत नियमित रूपमा प्रस्तुत गर्दै आएका छन् ।

उनको फेसबुकमा १५ लाखभन्दा बढी फलोअर्स र युट्युबमा २ लाख ५० हजारभन्दा बढी सस्क्राइबर छन् । विगत १५ वर्षदेखि नियमित रूपमा मुटु रोगको उपचार तथा रोकथाममा संलग्न उनले हालसम्म २ लाखभन्दा बढी बिरामीहरूको उपचार गरिसकेका छन् ।
सन् २०२० मा स्थापना गरिएको डा। ओम फाउन्डेसन र नेशनल कार्डियाक सेन्टरमार्फत उनी समुदाय स्तरमा मुटु रोगको रोकथाममा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । नेशनल कार्डियाक सेन्टरमार्फत हरेक वर्ष करिब ४० हजारभन्दा बढीले सेवा लिने गरेका छन्, जसमा मध्यम तथा निम्न आय भएका व्यक्तिहरूलाई लक्षित गरी सुलभ दर तथा निःशुल्क जाँच तथा परामर्शसमेत प्रदान गरिँदै आएको छ । उनले सन् २०१४ वल्र्ड बुक रेकर्ड कायम गरेका छन् । मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो समयको रेडियो अन्तर्वार्ताका लागि वल्र्ड बुक रेकर्ड –लन्डन) बाट मान्यता दिइएको छ ।
यसैगरी उनले दुर्गम र ग्रामीण क्षेत्रका मानिसमा स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्यकर्मीहरूलाई मुटुरोग तथा नसर्ने रोगसम्बन्धी थप ज्ञान प्रदान गर्न विभिन्न तालिम सञ्चालन, प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनामा जनतासँग पहिलो र प्रत्यक्ष सरोकार राख्ने सुरक्षाकर्मीलाई कार्डियोपल्मोनरी रिसुसिटेसन (सीपीआर) लगायतका स्वास्थ्य तालिम प्रदान पनि गर्दै आएका छन् ।

महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा जन्मिएर काठमाडौंमा सेवा प्रदान गर्दै आएका डा। ओम मूर्ति अनिलले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान –एम्स० नयाँ दिल्लीबाट इन्टरभेन्सन कार्डियोलोजीमा डीएम, चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडी इन मेडिसिन (स्वर्ण पदक विजेता), कलेज अफ मेडिकल साइन्सेस, भरतपुरबाट एमबीबीएसको अध्ययन पूरा गरेका छन् ।

त्यस्तै अमेरिकन कलेज अफ कार्डियोलोजी (एफएसीसी) र सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एफएससीएआई) बाट फेलोसिप प्राप्त गरेका डा। अनिलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्डियोलोजीको सहायक प्राध्यापक (मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर), डीएम कार्डियोलोजी कार्यक्रम संयोजक, चिकित्सा विभाग चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा इन्टरभेन्सन कार्डियोलोजीमा ह्यान्ड्स–अन अनुभव र विशेषज्ञता सेवा प्रदान गरी मुटुरोगका चिकित्सकहरूलाई प्रशिक्षण तथा बिरामीको सेवामा महत्वपूर्ण भूमिका खेलेका छन् ।

मुलुकमा शान्ति सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान, विकासलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई सरकारबाट प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गरिँदै आएको छ ।