ओली, प्रचण्ड र देउवाको आगमनले दाङवासी फुरुङ्ग

अब दाङको विकासले गति लिन सक्ला ?

16.17k
Shares

देउखुरी दाङ ।

लुम्बिनी प्रदेशको राजधानी र सुन्दर उपत्यकाको रूपमा रहेको दाङमा पूर्व र वर्तमान प्रधानमन्त्रीसमेत रहेका प्रमुख तीन दलका शीर्ष नेताहरू लगातार आएर जिल्लाको विकासमा प्रतिवद्धता जनाउन थालेपछि दाङवासीहरू फुरुङ्ग बनेका छन् ।
सोमबार आज एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दाङ आइपुग्नुहुनेछ ।

उहाँ जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने र यहाँ रहँदा विभिन्न विकास योजनाका बारेमा ऐक्यवद्धता जनाउने कार्यक्रम तय भएको एमाले दाङले जनाएको छ । यसअघि तीन साताको अवधिमा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि दाङमा आएर यहाँको विकास र समृद्धिका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएर फर्कनुभएको थियो ।

हाल प्रधानमन्त्री रहेका र यसअघि प्रधानमन्त्री भइसकेका प्रमुख दलका प्रमुख तीन नेताहरूको जिल्ला आगमनलाई दाङवासीहरूले निकै चाखपूर्वक स्वागत गरिरहेका छन् । उनीहरूको एउटै चाहाना छ ‘शीर्ष नेताहरूले प्रतिवद्धता जनाएअनुसार अब दाङको विकास र समृद्धिले फड्को मार्न सकोस् । ’

पाँच वर्षपछि दाङमा पाइला टेक्न लाग्नुभएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले जिल्लामा आएपछि सोमबार लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनमा विशेष सम्बोधन गर्ने र घोराहीमा हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले जिल्लाका लागि विकासका नयाँ योजना तथा प्रतिवद्धता व्यक्त गर्ने आशा दाङवासीको छ ।

दाङले भोग्नुपरेको सडक, खानेपानी, सिँचाई, एयरपोर्टको समस्या, कोइलाबास नाका तथा केबलकारसम्बन्धी समस्या समाधान गर्नसमेत प्रधानमन्त्री ओलीले आवश्यक तत्परता देखाउने उनीहरूको अपेक्षा छ । यसअघि दुई दिन दाङमा रहने बताइए पनि प्रधानमन्त्री ओली सोमबार नै काठमाडौं फर्किने नेकपा एमाले दाङले जनाएको छ । प्रधानमन्त्री ओली फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने र लामो समयदेखि अलपत्र रहेको घोराही–तुलसीपुर चार लेन सडकको शिलान्यास गर्ने बताइएको थियो ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहाल माघ ११ र १२ गते दाङ आउनुभएको थियो । दाहालले दुई दिनको बिचमा पार्टीको कार्यक्रमदेखि शुभेच्छुकहरूसँग पनि भलाकुसारी गर्नुभयो । सत्ता छाडेर जनताको बीचमा आएको भन्दै आगामी २०८४ मा हुने निर्वाचनका लागि जनतासँग भोटसमेत माग्न भ्याउनुभयो । उहाँले दाङको बारेमा जनयुद्धका बेलादेखि जानकार रहेको बताए पनि यहाँको विकासका लागि ठोस योजना भने सुनाउनुभएन ।

‘टरीगाउँ विमानस्थल चालू गर्न यहाँको नेतृत्वले इच्छाशक्ति देखाएमा राम्रो हुने छ । दाङको विकासका लागि हामी गम्भीर छौँ, अध्यक्ष प्रचण्डले भन्नुभयो –साविक राप्तीको आर्थिक केन्द्र हो । दाङको विकासका लागि सबै लागौँ । दाङ अवश्य बन्नेछ ।’
प्रचण्ड दाङबाट फर्किएको १४ दिनपछि माघ २६ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आउनुभएको थियो ।

देउवाले दंगीशरण गाउँपालिका ३ चखौरामा भएको थारू समुदायको कार्यक्रमदेखि पार्टीका विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभयोे । उहाँले दाङको विकासका लागि टरीगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताउनुभयो । पश्चिम क्षेत्रकै पुरानो विमानस्थल भए पनि चलायमान बन्न नसकेको टरीगाउँ विमानस्थल बिस्तार गरेर चालू गर्दै दाङको विकासका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन हुनु र प्रदेश राजधानी हुनु यहाँको विकासको आधार रहेको उहाँले बताउनुभयो । सभापति देउवाले थारू समुदायको उत्थानका लागि आरक्षण आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको दाङमा एकपछि अर्को गरेर शीर्ष दलका मुख्य नेता आईरहँदा दाङले धेरै आश्वासन पाएको छ । तीन साताको अवधिमा देशका प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्री दाङमा आएर विभिन्न विषयमा यहाँको अवस्थासँगै आगामी योजनाका बारेमा बोलिरहँदा लामो समयदेखि अधुरा योजना र यसअघि सार्वजनिक गरिएको विकासका योजनाले सार्थकता पाउनेमा दाङबासीमा आशा पलाएको छ ।

नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले शीर्ष नेताहरूको पछिल्लो दाङ आगमनले दाङको विकास र समृद्धिका लागि दबाब निर्माण गर्ने हुँदा सकारात्मक भएको टिप्पणी गर्नुभयो । दाङको विकासका लागि दाङको हवाई यातायात व्यवस्थापन, कोइलाबास नाका पूर्ण सञ्चालन, नेपाल संस्कृत विश्वविद्यालय व्यवस्थापन, लमही–धारापानी–तुलसीपुर कोरिडोर, घोराही–प्युठान सडक, घोराही–स्वर्गद्वारी केबुलकार, लमही–घोराही सुरुङमार्ग, घोराही–तुलसीपुर–अमिलिया फोर लेन प्रदेश राजधानीको गुरुयोजना कार्यान्वयनका लागि दाङ आएर फर्किने नेताहरूले आवश्यक पहलकदमी लिनुपर्ने नागरिक अगुवा चन्द्रराज पन्तले बताउनुभयो ।