उपरथी ढकाल स्वदेश फर्किए

लेबनानमा शान्ति सैनिकमाथि आक्रमण गर्ने २५ पक्राउ


काठमाडौं ।


लेबनानमा प्रर्दशनकारीको आक्रमणमा परी घाइते हुनु भएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल आइतबार अपराह्न नेपाल आइपुग्नुभएको छ ।

आफ्नो कार्यकाल पूरा गरेर नेपाल फर्कने तयारीमा रहनुभएका राष्ट्र संघका लागि लेबनानमा कार्यरत डेपुटी फोर्स कमान्डर उपरथी ढकालमाथि त्यहाँका हिजवुल्लाहसँग संलग्न रहेका प्रर्दशनकारीले आक्रमण गरेका थिए । प्रर्दशनकारीको आक्रमणबाट घाइते हुनुभएका उपरथी ढकालको टाउकोमा चोट लागेको थियो । बेरुतमा रहेको लेभल थ्री अस्पतालमा उपचारपछि उहाँ नेपाल फर्कनु भएको सैनिक मुख्यालयले जानकारी दिएको छ ।

उहाँमाथि आक्रमण गर्ने २५ जना प्रर्दशनकारीलाई त्यहाँको सेनाले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । युनिफिल मिसनको आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्कन बेरुत रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको बेला उहाँ चढेको सवारीमाथि प्रर्दशनकारीले भीषण आक्रमण गरेका थिए । उहाँ चढेको सवारीलाई रोकेर प्रर्दशनकारीले आगो लगाइदिएका थिए । उहाँमाथि हातपात गर्ने प्रयास पनि गरेको उपरथी ढकाल निकट स्रोतले जानकारी दिएको छ ।

विमानस्थलमा बिदाइका लागि गएका ४ नेपाली शान्ति सैनिकसमेत घाइते भएका थिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार भएपछि आइतबारबाट कार्यक्षेत्रमा फर्किएका छन् ।