काठमाडौँ।
खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा आपूर्ति गर्नका लागि थप गृहकार्य भइरहेको बताएका छन् ।
आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भए पनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताए ।
उनले भने, “आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन ।”
यसैगरी मन्त्री यादवले मेलम्चीको पानी पथान्तरण रोकिने समयमा बाग्मती नदीबाट बर्षातको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याइ आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथा आवश्यक पहलकदमी भइरहेको समेत जानकारी दिए ।
मन्त्री यादवले याङ्ग्री र लार्केको पानी पथान्तरण हुनु अगावै पूर्वाधार तयार गर्ने क्रममा सुन्दरीजलमा २५ दशमलब ५ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गर्न टेण्डर आह्वान भइसकेको बताए ।
उनले भने, “हाल सञ्चालनमा रहेको १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको क्षमता वृद्धि गरी २५ दशमलब ५ करोड लिटर पुर्याइने लक्ष्य रहेको छ । यसका लागि एशियाली विकास बैँकसँग ऋण सम्झौता सम्पन्न भई काम अघि बढाइएको छ ।” भक्तपुरको महादेव खोलामा जलाशययुक्त खानेपानी परियोजनाको वातावरणिय प्रभाव मुल्याङ्कन (इआइए) गर्ने कार्य अघि बढाइएको समेत मन्त्री यादवले जानकारी दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) ले आफूलाई जनताको सेवामा पूर्ण रूपले समर्पित गर्नुपर्ने बताए ।
ग्राहकमैत्री सेवाले समर्पित भई सुशासनयुक्त एवम् झन्झट रहित केयूकेएलका रूपमा आफूलाई स्थापित गर्न यस कम्पनीका हरेक तह र तप्काका कर्मचारीहरूले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवको भनाई छ ।
उनले भने, “केयुकेयलले आफूलाई जनताको सेवामा पूर्ण रूपले समर्पित गर्नुपर्ने छ । कर्मचारी साथीहरुले पनि इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्छ ।” काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानीको गैरराजस्व घटाउँदै लगेर आफ्नो आम्दानीमा उल्लेख्य बढोत्तरी गर्न सक्ने सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नुपर्ने आवश्यकता देखिएको उनले उल्लेख गरे ।
उनले भने, “अब केयूकेएलले समयानुकूल महशुल पुनरावलोकन गरी वित्तीय रूपमा सक्षम संस्थाको रूपमा रूपान्तरण गरी स्थापित गर्नुपर्ने देखिन्छ । सोही अनुसार अगाडि बढ्नु पर्ने छ ।”
वर्तमान अवस्थामा खानेपानी चुहावट नियन्त्रण कार्य र खानेपानीको न्यायोचित वितरण प्रणालीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनु पर्ने टड्कारो आवश्यकता देखिएको मन्त्री यादवको भनाई छ । “मेलम्चीको पानी पथान्तरण कार्य दशैँ अघि नै सम्पन्न गर्न मिलेको सफलताले विपदवाट आक्रान्त काठमाडौँ उपत्यकावासीहरुलाई ठूलो राहत मिलेको छ । खानेपानी चुहाँवट नियन्त्रण गर्न प्रमुख आवश्यक छ ।” उनले भने ।
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले सिस्नेरी परियोजनालाई अघि बढाउनका लागि अग्रसरता लिइएको र मेलम्चीको पानी पथान्तरण रोकिने समयमा बाग्मती नदीबाट बर्षातको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याइ आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथा आवश्यक पहलकदमी भइरहेको जानकारी गराए । खानेपानीका स्मार्ट मिटर जडान कार्यलाई प्राथमिकता दिनसके कर्मचारी खर्च घटाउन मद्दत पुग्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।
नेपाल सरकारले आर्थिक वर्ष २०८०। ८१ को बजेट बक्तव्य मार्फत काठमाडौँ उपत्यकाका खानेपानी सेवासँग सम्बन्धित संस्थाहरूको पुर्नसंरचना गरी सम्पत्तिको दीगो व्यवस्थापन र सञ्चालन तथा प्रभावकारी नियमनको व्यवस्था गर्ने मन्त्री यादवले जानकारी गराए ।
उनले भने, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वित्तीय र प्राविधिक क्षमतामा सुधार गरी खानेपानी सेवा वितरणमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले अध्ययन गरी सिफारिस गर्नका लागि वार्षिक नीति तथा कार्यक्रम मार्फत घोषणा गरेपश्चात् खानेपानी मन्त्रालयका सचिवज्यूको संयोजकत्वमा अन्तर मन्त्रालय उच्चस्तरीय समिति गठन भइ प्रतिवेदन पेश हुने चरणमा रहेको छ ।”
उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेल, मेलम्ची खानेपानी विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टिकाबहादुर चौधरी, भ्याली बोर्डका प्रमुख सञ्जीवविक्रम राणा लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया