काठमाडौँ।
निजामती क्षेत्रको सबैभन्दा ठूलो ट्रेड युनियनको रुपमा रहेको नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व लिन रस्साकसी चलेको छ ।
बुधवार देखि काठमाडौँको सभागृहमा शुरु भएको सो महाधिवेशनले आगामी ३ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि देशभरबाट झण्डै १ हजार प्रतिनिधिहरु काठमाडौमा जम्मा भएका छन् । सो महाधिवेशनको बुधवार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए तर यतिखेर नेतृत्व लिन संगठनकै पूर्व उपाध्यक्षहरु भवानी दाहाल र रेवन्त गौतम बीच रस्साकस्सी चलिरहेको छ । दुबै जनाले आफूहरु लामो समय देखि ट्रेड युनियन हक अधिकार स्थापित गर्ने लडाईमा सक्रिय रहनुका साथै कर्मचारी हीतमा निरन्तर समर्पित हुँदै आएकाले आफूले नेतृत्व पाउनु पर्ने दाबी गर्दै आइरहेका छन् । कर्मचारी संगठनका अग्रजहरुले सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गर्दै आइरहेता पनि हालसम्म सहमति हुने सम्भावना देखिएको छैन् । दाहाल र गौतम दुबैले आ -आफ्नो जीत सुनिश्चित रहेको दाबी गरिरहेका छन् । एमाले निकट मानिएको सो संगठनको नयाँ नेतृत्व चयनका लागि पार्टीले आन्तरिक रुपमा सर्वसम्मत गराउने प्रयास गरिरहेको बताइएको छ ।

सर्वसम्मत हुन नसके निर्वाचनमा नै जानु पर्ने माग समेत प्रतिनिधिहरुले उठाउन थालेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले उद्घाटनका क्रममा सर्वसम्मत गर्न सुझाव दिएकाले प्रतिनिधिहरुलाई मनोवैज्ञानि दबाव परेको छ । यद्यपि सर्वसम्मत हुन नसके लोकतान्त्रिक पद्धति अनुसार निर्वाचनमा समेत जान सकिने भन्दै प्रतिनिधिहरुले निर्वाचनलाई पनि खुला राख्नुपर्ने माग गरिरहेका छन् । निजामती क्षेत्रको सबैभन्दा ठुलो ट्रेड युनियन भएकाले नेतृत्वमा को आउँछ भन्नेमा सिंगो प्रशासनिक क्षेत्रले समेत ठुलो चासो र कौतुहलताका साथ हेरिरहेको बताइएको छ ।
अध्यक्षका दुबै उम्मेदवार दाहाल र गौतमले आ आफ्नो एजेण्डा प्रस्तुत गर्दै आफुलाई नेतृत्वमा पु¥याउन आग्रह गर्दै आइरहेका छन् । दाहालले नयाँ पुस्ताको आखाबाट हेर्ने गरी संगठनको गौरवपूर्ण इतिहासलाई बचाउँदै अझै यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य पेश गरेकी छन्।
उनले आफूले नेतृत्व पाएमा भ्रष्टाचार नियन्त्रणमा विशेष भुमिका खेल्ने र संगठनलाई सेवाग्राहीमैत्री कर्मचारी संगठनको रुपमा स्थापित गर्ने बताइन् । यसैगरी आमकर्मचारीको सामाजिक र पेशागत सुरक्षामा अविचलित भएर लागिरहने तथा संघीय निजामती सेवा ऐन ल्याउने विषयलाई उच्च प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ ।
यसैगरी अध्यक्षका अर्का प्रत्याशी गौतमले सामाजिक सञ्जाल मार्फत केही एजेण्डाहरु सार्वजनिक गरेका छन् । जसमा उनले पारदर्शी कार्यशैली अवलम्बन गरी संगठनलाई सामूहिक नेतृत्वको भावना विकास गराउने, व्यावसायिकता सिर्जनशीलता र गतिशीलता सहितको सुदृढ संगठन निर्माण गर्ने, निजामती सेवाप्रतिको सम्मान र गौरव अभिवृद्धि गर्ने, संगठनलाई सूचना तथा प्रविधिमैत्री , सुशासनयुक्त र वैचारिक संठगनको रुपमा विकास गराउने लगायतका छन् ।

प्रत्याशी दुई अध्यक्ष मध्ये एकजनालाई वरिष्ट उपाध्यक्षमा राखी अर्का एकलाई अध्यक्ष बनाएर सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिहरुबाट दबाव परिरहेको बुझिएको छ ।
नेतृत्वको लागि रस्साकस्सी भइरहदा वर्तमान शासकीय स्वरुपमा देखिएका विकृति र चुनौतीसँग भिडेर सुशासन कायम गर्न सक्ने, संघीय निजामती सेवा ऐन ल्याउन सशक्त पहलकदमी लिन सक्ने , सम्पुर्ण संगठनप्रेमीको मनोभावनालाई आत्मसात गर्न सक्ने, ट्रेड युनियन माथि लागेका आरोपलाई चिर्न सक्ने, संगठनलाई थप शक्तिशाली बनाउन सक्ने र आवश्यकता अनुसार राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग कुशलतापु्र्वक सौदाबाजी गरी आमकर्मचारीको हीत अभिवृद्धि गर्न सक्ने ल्याकत भएकालाई नेतृत्वमा ल्याउनुपर्ने माग केन्द्रिय प्रतिनिधिहरुले गरिरहेका छन् ।
आधिकारिक ट्रेड युनियनको पहिलो निर्वाचनमा अध्यक्षमा जीत हासिल गरी इतिहास राख्न सफल भएको नेपाल निजामती कर्मचारी संगठन २०४७ साल वैशाख ७ गते स्थापना भएको थियो ।त्यस पछि ११औं महाधिवेशनसम्म आउदा संगठनले १५ जना अध्यक्ष पाइसकेको छ ।
जारी १२ औ महाधिवेशनले १६ औं अध्यक्ष चयन गर्ने छ । संगठनका अनुसार हाल देशभरका गरी झण्डै ४० हजार कर्मचारीहरु यस संगठनमा आवद्ध छन् । झण्डै १ हजार केन्द्रिय प्रतिनिधिहरु नयाँ नेतृत्व चयनका लागि सभागृहमा भेला भएका हुन् । यस्तै संगठनको महासचिवका लागि रामचन्द्र अधिकारी , युवाचन्द्र घिमिरे, वामदेव ओली, कृष्ण केसी लगायतको चर्चा चलेको छ । उहाँहरु मध्ये एकले महासचिवमा बाजी मार्ने देखिएको छ ।











प्रतिक्रिया