काठमाडौं ।
काठमाडौं विश्वविद्यालयद्वारा प्रस्तावित गरिएको सीता दाहाल कलेज अफ न्याचुरोपथी एन्ड योगिक साइन्सेज एन्ड टिचिङ्ग हस्पिटल निर्माणको प्रस्तावमा काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा. अच्युत वाग्लेको मुख्य भूमिका रहेको पाइएको छ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको समयमा काठमाडौं विश्वविद्यालयले निर्माण गर्न लागेको कलेज अफ न्याचुरोपथी एन्ड योगिक साइन्सेज एन्ड टिचिङ्ग हस्पिटलको नाम उनकी पत्नी सीता दाहालको नाममा प्रस्ताव गर्नेदेखि बजेट माग गर्नेसम्ममा रजिस्टार डा. वाग्लेको भूमिका देखिएको हो।
विश्वविद्यालयले ‘काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालय’ लाई वृहत्तर बनाएर नमुना चिकित्सालय बनाउने उद्देश्यले नेपाल सरकारसँग आ.व. २०८१–०८१ को बजेट बन्दै गर्दा काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयको लागि बजेट माग गरेको भए पनि रजिस्ट्रार डा. वाग्लेको पहलमा तत्कालीन कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दहालको नाममा गर्न प्रस्ताव गराई विश्वविद्यालयको कार्यकारी परिषद्बाट स्वीकृत गराइएको पाइएको छ।
२०८० वैशाख १७ गते पनौती नगरपालिकाबाट स्वीकृतिसमेत लिएको टिचिङ्ग हस्पिटलको निर्माणका लागि रजिस्टार डा. वाग्लेले गत वर्षको बजेट भाषणभन्दा एक दिनअगाडि स्वास्थ्यमन्त्रीलाई एक अर्ब ५० करोड मन्त्रालयअन्तर्गतको बजेट कार्यक्रममा समावेश गर्न पत्र लेख्नुभएको थियो । सो पत्रमा सोही दिन तत्कालीन स्वास्थ्यमन्त्रीले प्रक्रिया अगाडि बढाउन भन्दै सचिवलाई निर्देशन दिएको र अर्को दिन ल्याइएको बजेटमा समावेश गरिएको पाइएको छ।

रजिस्ट्रार डा. वाग्लेले बजेटको एक दिन अघि स्वास्थ्य मन्त्रीलाई लेखेको पत्रमा भनिएको छ– नेपालको परम्परागत, मौलिक र रैथाने चिकित्सा पद्दतिको रूपमा रहेको योग तथा प्राकृतिक चिकित्सा नेपाल सरकारले अवलम्बन गरेको पाँच प्रमुख राष्ट्रिय चिकित्सा पद्दति मध्येको एक हो। यस चिकित्सा विधाका हालसम्म नेपालभर १८ वटा सामुदायिक र ३५ वटा निजी स्तरमा चिकित्सालयहरू रहेको तर दक्ष जनशक्तिको अभावमा यो क्षेत्रको यथोचित विकास हुन नसकेको तथ्य पनि जग जाहेर छ।’
पत्रमा अगाडि भनिएको छ ‘नेपाली माटोमा मूल जरो रहेको यस चिकित्सा पद्दतिको विकास, विस्तार र स्तरोन्नतिका लागि दक्ष जनशक्तिको अपरिहार्यतालाई हृदयङ्गम गर्दै काठमाडौं विश्वविद्यालयले यस विधाका चिकित्सकीय र पराचिकित्सकीय जनशक्ति उत्पादन गर्न स्कुल अफ मेडिकल साइन्सेसको परिसरमा शिक्षण अस्पतालको रूपमा विकास गर्ने उद्देश्यले स्वर्गीय सीता दाहालको नाममा सिता दाहाल कलेज अफ न्याचूरोपथी एन्ड योगिक साइन्सेज एन्ड टिचिङ्ग हस्पिटल स्थापना एवं निर्माणका लागि रू.१,५०,००,००,०००/– (अक्षरेपी एक अर्ब पचास करोड रुपियाँ मात्र) आर्थिक वर्ष २०८१ / ०८२ को बजेट कार्यक्रममा समावेश गरीदिनुहुन सादर अनुरोध गर्दछु।’
काठमाडौं विश्वविद्यालयले पहिलादेखि नै ‘काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालय’ नामको संस्था स्थापना गरेर योग तथा प्राकृतिक चिकित्सा शिक्षाको चिकित्सकीय एवं शिक्षण कार्यक्रमलाई अगाडि बढाइरहेको अवस्थामा तत्कालीन प्रधानमन्त्रीसँग नजिक हुन विश्वविद्यालयको योजनामा सीता दाहालको नाम जोडिएको स्रोतको दाबी छ।
प्रचण्ड परिवारसँग नजिक रहेका डा. वाग्लेले अहिले नयाँ उपकुलपतिको दौडमा आफूलाई उभ्याउन ‘काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालय’ मा सीता दाहालको नाम वर्तमान उपकुलपति डा. भोला थापाले जोडेको स्थापित गर्नेतर्फ लागिरहेका छन्। जबकि, विश्वविद्यालयकै वरिष्ठ अधिकारीहरूले पनि आफैंले गरेको कामको जस नलिएर डा. वाग्ले राजनीतिक स्वार्थ पूरा गर्न लागेकोमा आश्चर्य व्यक्त गरेका छन्। केन्द्रमा गठबन्धन फेरिएपछि प्रा.डा. भोला थापालाई प्रचण्ड निकट देखाएर आफू उपकुलपति बन्ने दाउमा डा. वाग्ले लागेको विश्वविद्यालयमा चर्चा चलिरहेको छ।
डा. वाग्ले प्रचण्ड परिवारसँग नजिक रहेको र उनकै पहलमा ‘काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालय’ मा सीता दाहालको नाम जोडिएको विश्वविद्यालयका कर्मचारीको भनाई छ।
काठमाडौं विश्वविद्यालयका एक वरिष्ठ अधिकारीले रजिस्टार डा. वाग्लेले नै प्रस्ताव ल्याएपछि तत्कालीन उपकुलपति डा. थापाले विश्वविद्यालयको समग्र हितलाई ध्यानमा राख्दै स्वीकृत गरेको बताए। तर, अहिले केन्द्रमा बनेको गठबन्धनको नजिक बन्न डा. वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई सीता दाहालको नाम देखाएर डा. थापालाई उपकुलपतिको दौडबाट बाहिर गर्न भूमिका खेलिरहेको विश्वविद्यालयकाअ ती अधिकारीको दाबी छ।
यस्तो छ कामु विवाद र छनौट समिति
२०७७ साल माघ ७ गते तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रा. डा. थापालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको थियो। चार वर्षे कार्यकाल सकिएपछि अहिले रजिस्टार डा. वाग्लेलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ।
नयाँ उपकुलपति छनौट गर्न गत मङ्सिर २९ गते बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्माको संयोजकत्वमा विश्वविद्यालयका अध्यक्ष प्रा.डा.अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य रहेको छनौट समिति गठन गरेको थियो।
यसबीचमा कामु उपकुलपति तोक्ने विषय पनि विवादित बनेको थियो । छनौट समितिले थापालाई नै कामु उपकुलपति तोक्न भन्दै प्रधानमन्त्री कार्यालयमा पत्र पठाएपछि यो विषय विवादित बनेको थियो। तर, प्रधानमन्त्री ओलीले रजिस्टार वाग्लेलाई नै कामुउपकुलपतिको जिम्मेवारी सम्हाल्न भन्दै पत्र पठाउनुभएको बताइएको छ।
छनौट समितिले पहिलो पटकको आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको छ । तर, यसबीचमा कार्यविधि संशोधन गरेर पुनः सूचना प्रकाशित गरेर ७ दिनको समय दिँदै थप आवेदन मागिएकोमा थप चार जनाको आवेदन परेपछि उपकुलपतिमा कुल २० जनाको आवेदन परेको छ। संशोधित कार्यविधिअनुसार मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएसलाई पनि समेटिएको थियो।
प्रतिक्रिया