काठमाडौं ।
नेपालका ग्रामीण तथा हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाहरूमा पाठेघर खस्ने समस्या बढी रहेको तथ्य विभिन्न अध्ययन/अनुसन्धानहरूले देखाएका छन्। नेपालमा ६ लाख महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको ती अध्ययनहरूले देखाएका हुन् ।
ग्रामीण भेगको रूपमा रहेको सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाका महिलाहरूमा यस्तो समस्या बढ्दो रहेकाले विगत ३ वर्षदेखि स्क्रिनिङ गरी आवश्यकताअनुसार उपचारका लागि सहरका अस्पतालमा ल्याउने क्रम बढ्दो रहेको पालिकाका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो ।
अध्यक्ष बोहोराका अनुसार सो पालिकामा थामी, जिरेललगायतका जातिको बढी बसोबास रहेको छ । त्यहाँका महिलाहरूले पाठेघर झर्ने समस्या लुकाउने र आर्थिक अभावका कारण उपचारको पँहुचमा पुग्न नसक्ने समस्या विकराल रूपमा रहँदै आएको छ।
सो पालिकाले निःशुल्क स्क्रिनिङ र शल्यक्रियाका लागि विभिन्न अस्पतालसँग सहयोग लिँदै आएको छ। सोअनुसार पालिकाले ०७९ सालमा चौतारा अस्पतालसँगको सहकार्यमा स्क्रिनिङ गरी थापाथली स्थित प्रसूतिगृहमा ल्याई ११ जनाको शल्यक्रिया गराएको थियो।
त्यसै गरी ०८० सालमा भक्तपुर अस्पतालमा १७ जना पठाएकोमा १३ जनाको निःशुल्क शल्यक्रिया भएको थियो भने ०८१ सालमा बुधबारदेखि बनेपाको शिर मेमोरियल अस्पतालमा शल्यक्रिया जारी छ। शिर मेमोरियलमा १८ जना बिरामी सिफारिस गरिएकोमा १६ जना अस्पताल भर्ना भइसकेका छन्।
त्यसमध्ये ४ जनाको बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ भने ५ जनाको बिहीबार र ३ जनाको शुक्रवार शल्यक्रिया हुने अध्यक्ष बोहराले बताउनुभयो।
शिर मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा.एन्जीला बस्नेतका अनुसार पाठेघरको निःशुल्क शल्यक्रियाका लागि अस्पताललाई कोसान प्रोजेक्ट, महिला र महिला फाउन्डेसन नामक संस्था र एडभेन्ट हेल्थ नामक संस्थाले सहयोग गर्दै आएका छन्।
हालसम्म देशका विभिन्न क्षेत्रका १ सयभन्दा बढी महिलाका पाठेघरको शल्यक्रिया गरिसकिएको छ । बस्नेत भन्नुहुन्छ– पाठेघर खस्ने समस्याको स्थायी उपचार भनेको अप्रेसन हो। पाठेघर झर्ने डिग्री हुन्छ। समस्याको आधारमा उपचार खर्च कम र बढी लाग्ने हुन्छ । कसैको ५० हजारमा पनि उपचार हुन सक्छ भने कसैको डेढ लाखसम्म पनि लाग्न सक्छ । पाठेघर खस्ने समस्यालाई सामान्य रूपमा लिनुहुन्न । यो जटिल बन्दै जाँदा क्यान्सरसम्म हुन सक्छ। ’
डा.बस्नेतका अनुसार बच्चा जन्माउँदा सुरक्षित जन्मिएन या हस्पिटलमा जन्माइएन भने पनि पाठेघर खस्ने हुन्छ । पाठेघर खस्ने विभिन्न कारणहरूमध्ये योनीको सरसफाइ, फिजियोथेरापी, स्थिर गर्ने माङसपेसीको सर्पोट भएन भने, बच्चा जन्मिएपछि साथी निकाल्न धेरै बल गरियो भने, सुत्केरी बेथा लाग्दा पाठेघरको मुख खुला नभइकन धेरै बल गर्यो भने, खोक्दा पेटभित्र धेरै बल परेमा अथवा कब्जियत भएमा, महिनावारी बन्द भएका महिलामा हर्मोनको कमी भई माङसपेसीमा असर परेमा पाठेघर खस्न सक्छ।
चिकित्सकका अनुसार पाठेघर झर्नबाट बचाउन पेल्भिक फ्लोर एक्ससाइज (प्रजनन अंगको व्यायाम) गर्नुपर्छ भने पोषणयुक्त खाना खानुपर्छ । यसै गरी गर्भवती हँुदा नियमित स्वास्थ्य जाँच गराउने र सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने, गह्रौं भारी नबोक्ने, धेरै बच्चा नजन्माउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, पटक पटक गर्भपतन हुन नदिनेजस्ता विषयमा ध्यान दिनसके पाठेघर झर्ने समस्याबाट बच्न सकिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पाठेघर खस्ने समस्या भएका महिलाहरूको उपचारका लागि सरकारी अस्पतालमा निःशुल्क शिविर, रिङपेसरीङ राख्ने, शल्यक्रिया गर्ने जस्ता उपचार सरकारी अस्पतालमा निःशुल्क गरिँदै आएको छ।
नेपालको पहाडी, हिमाली भेगका महिलामा सबैभन्दा बढी पाठेघर खस्ने समस्या पाइएको त्रिपुरा सुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाहले बताउनुभयो।
प्रतिक्रिया