काठमाडौंलाई सुरक्षित बनाउन नयाँ रणनीतिक योजना

संगठित गुण्डाहरूको प्रोफाइल बनाइँदै


काठमाडौं ।

राजधानीलाई सुरक्षित र व्यवस्थित गर्न उपत्यका प्रहरी कार्यालयले नयाँ रणनीतिक योजना ल्याउने तयारी गरेको छ।
सो कार्यालयले सुरक्षित राजधानीको अवधारणालाई कार्यान्वयनमा ल्याउन के कस्ता विषयवस्तु समावेश गर्न सकिन्छ भन्ने हेतुले सञ्चारकर्मीसँग बिहीबार छलफल गरेको छ।

भयरहित संघीय राजधानीको अवधारणा अघि सारेको सो कार्यालयले यहाँका जनतालाई कसरी भयसहित वातावरण प्रदान गर्न सकिन्छ भन्ने विषयमासमेत विषय विज्ञसँगसमेत छलफल अघि बढाएको हो।

सो कार्यालयमा प्रमुखको रूपमा हालै सरुवा भएर आउनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले सीमित स्रोत र साधनका बाबजुद पनि प्रहरीले हरेक नागरिकको सुरक्षामा ध्यान दिँदै आएको बताउनुभयो ।

अहिले पनि राजधानीमा एक प्रहरीले २ सय ४८ जना नागरिकको सुरक्षा गर्नुपर्ने अवस्था रहेको र समाजमा अवान्छित क्रियाकलाप गर्ने समूह सक्रिय रहेकाले उनीहरूलाई समेत कानुनी दयारामा ल्याउन गुुण्डागर्दी र बिचौलियालाई कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

टोले गुण्डादेखि राजनीतिक संरक्षणमा आतंक मच्चाउँदै आएको समूह तथा संगठित रूपमा गुन्डागर्दी गर्दै आएका गुन्डाहरूको प्रोफाइल बनाउन शुरू गरिएको केही समयभित्र नै त्यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन अभियान नै सञ्चालन गर्ने तयारीमा उपत्यका प्रहरी कार्यालय रहेको उहाँले बताउनुभयो ।

अहिले देशभर चेक बाउन्सका मुद्दा ५८ हजार रहेकोमा राजधानीमा मात्रै १६ हजारभन्दा बढी यस्ता मुद्दा रहेकाले आर्थिक अपराध नियन्त्रण गर्न पनि अभियान सञ्चालन गर्ने तयारीमा आफूहरू रहेको एआईजी तामाङले जानकारी दिनुभयो
सुरक्षित राजधानी तीन वर्षे रणनीतिक अवधारणा अघि सार्दै त्यसलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाएर कार्यान्वयनमा ल्याउन लागेको त्यसक्रममा जानकारी दिइयो ।