सत्य घटना: शिवरात्रिको पूर्वसन्ध्यामा अद्भुत घटना


विज्ञानभन्दा बाहिर केही पनि हुन सक्दैन । यो ध्रुवसत्य कुरा हो । तर कहिलेकाहीँ विज्ञानले प्रमाणित गर्न नसक्ने कुरा पनि भइदिन्छ। त्यस्ता कुरालाई पनि पत्याउनुपर्ने हुन्छ । उपचारको सेरोफेरोमा काठमाडौँमै भएको सत्य घटना यहाँ उल्लेख गरिन्छ।

श्री ३ वीरशमशेरका नाति अर्थात् उत्तरतर्फका कमान्डिङ जनरल रुद्रशमशेर राणालाई प्यारालाइसिस भएको थियो। उनको बायाँ अंग नचल्ने भएको थियो । सम्भव भएसम्मका सबै किसिमका उपचार गरियो तर बीसको उन्नाइस भएन। केही राणा दाजुभाइले उनलाई बिसेक नहुने रोग लागेकाले रोलक्रमबाट हटाउने चर्चासमेत गरेका थिए।

रुद्रशमशेरकै नाति इतिहासकार पुरुषोत्तम शमशेर राणा (हाल स्वर्गीय) का अनुसार वि.सं. १९६६ को कुरा हुनुपर्छ । शिवरात्रि आउनुभन्दा दुई दिनअघि चिरपरिचित व्यक्ति फणीन्द्रनाथ शर्मा आएर रुद्रशमशेरकी पत्नी लक्ष्मीकुमारी देवीलाई भने, ‘पशुपतिमा एक अभूतपूर्व महात्मा आएका छन्, आज्ञा पाए ती महात्मालाई बोलाउने थिएँ।’ लक्ष्मीकुमारीले सक्दो चाँडो ती महात्मालाई लिएर आउन स्वीकृति दिइन्।

ती महात्मा गोरो, अग्लो, कालो दाह्री–जुँगा भएको, कालो अल्खा धारण गरेको, कालो झोला भिरेको, तेजस्वी एवं अद्भुत थिए रे ! रद्रशमशेरको दरबारमा ल्याइएपछि ती महात्मा काठ बिछ्याएको ठाउँमा बसेछन्, फलफूलसहितको मिष्ठान्न भोजन लिन पनि उनले अस्वीकार गरेछन् ।

ती महात्माले झोलाबाट दुई पुरिया खरानीजस्तो औषधि झिकी सुत्ने बेलामा पानीमा मिलाएर पशुपतिको स्मरण गर्दै खान दिनू भने । रुद्रशमशेरकी पत्नीले सोही अनुसार गरिन् । भोलिपल्ट बिहान अकस्मात् रुद्रशमशेर उठेर हिँड्न सक्ने भए । उनी तुरुन्तै सिंहदरबार पुगेर श्री ३ चन्द्रशमशेरलाई दर्शनार्थ आएको खबर पठाए । दुई दिनअघि मात्रै उठ्न नसक्ने अवस्थामा देखेकोले चन्द्रशमशेरले पिठ्युँमा बोकाएर माथि ल्याउनू भनी अराए । तर रुद्रशमशेर आफैँ सिंहदरबारको भर्‍याङ चढेर आएको देख्दा चन्द्रमशमशेर छक्क परे । यो कसरी सम्भव भयो भनी प्रश्न गरे । रुद्रशमशेरले पनि अद्भुत महात्माको बारेमा बताए।

सोही समयमा थानकोट, साँगा, दक्षिणकाली जतासुकैका नाकाहरूमा श्री ३ चन्द्रशमशेर, रुद्रशमशेर, फणीन्द्र शर्मा सबैले ती महात्माको खोजतलास गर्न मान्छे पठाए । धेरै दिनसम्म खोज्दा पनि पाउन सकेनन् । आखिर जिजुबुबा रुद्रशमशेरको प्यारालाइसिस निको पार्न पशुपतिनाथ बाबा (शिवजी) नै सवारी भएको सबैले अनुमान गरेको इतिहासकार पुरुषोत्तम शमशेर राणाको भनाइ छ । प्यारालाइसिस निको भएपछि वि.सं. २०१८ मा रुद्रशमशेरको स्वर्गारोहण भयो।

यसरी वीरशमशेरका नाति रुद्रशमशेरको उपचार गरी निको पार्ने अद्भुत योगी को हुन् ? उनको औषधिले त्यस्तो कडा रोग कसरी ठीक हुन सक्यो ? यसको उत्तर अहिलेसम्म पनि रहस्यमय नै छ । यस उपचारलाई आधुनिक विज्ञानले प्रमाणित गर्न सक्दैन । रुद्रशमशेरको प्यारालाइसिस निको बनाउन शिवरात्रिको अवसर पारेर पशुपतिबाट शिवजी नै आएको इतिहासकार पुरुषोत्तमशमशेर राणाको भनाइ छ ।

(रोहिणीप्रसाद घिमिरे, ‘धर्म–विज्ञान–२०७९’ बाट उद्धृत अंश ।)