रवि लामिछाने चितवन अदालतमा उपस्थित


काठमाडौं ।

रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन्।

लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ। बयानका लागि लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन गएको बताइएको छ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन अदालतमा मुद्दा दर्ता भएको थियो।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ।अभियोगपत्रमा लामिछानेले सहकारी संस्थाबाट तलबबाहेक पनि रकम लिएको देखिएको उल्लेख छ।

‘विभिन्न व्यक्ति तथा संस्थाहरूलाई भुक्तानी गरी आफूले समेत भुक्तानी लिई ठगी गर्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुन्छ’ –अभियोगपत्रमा भनिएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।