पोखरा ।
आयोजक सहारा क्लब पोखरालाई १–० ले हराउँदै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्ज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । पछि गोल नहुँदा सो गोल नै पुलिसलाई अन्तिम आठमा पुर्याउन पर्याप्त भयो।
पहिलो हाफको सुरुवातमा दबाब बनाएको सहारा फिनिसिङमा चुक्न पुग्यो । पाँचौं मिनेटमा विलियम सेसेनोङको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाए । १२ औं मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार बिफल भयो। उनकै ५६ औं मिनेटको प्रहार पनि पुलिसका गोलरक्षकले पन्च गरी पन्छाए।
उता, पुलिसका लागि १७ औं मिनेटमा विवेक पाण्डेको प्रहार पहिलो बार नजिकबाट बाहिरियो । २१ औँ मिनेटमा विवेककै फ्रिकिक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए । विजेताले १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ रुपियाँ प्राप्त गर्नेछन्।
सहारा क्लबद्वारा प्रदान गर्दै आएको वर्ष उत्कृष्ट खेलाडी पुरस्कारबाट सनिष श्रेष्ठ सम्मानित भएका छन्। सनिषलाई ५० हजार ५ सय ५५ रुपियाँ र सम्मानपत्र प्रदान गरिएको हो। उक्त सम्मान यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलानले प्राप्त गरिसके।











प्रतिक्रिया