राजबल्लभले कवितामा ल्याए औरा


काठमाडौं ।

अभिनेता राजबल्लभ कोइरालाको कविता संग्रह हालै राजधानीमा आयोजित एक समारोहबीच पुस्तकको कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभूषण पाठक, निर्देशक दीपाश्री निरौला र प्रकाशक साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले सार्वजनिक गरेका छन्।

आफुद्धारा अभिनीत फिल्म एक्टर : टेक वनको प्रिमियरमा आएको अवसर पारेर आफ्नो कृति सार्वजनिक गरेका अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए।

‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ। मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह ल्याएको हो’ अभिनेता कोइरालाले विमोचन समारोहमा भने।

आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले राजबल्लभको कविता संग्रहले फिल्म र साहित्यलाई जोड्ने सेतुको रूपमा जोड्ने विश्वास व्यक्त गरे। पाश्र्व संगीतसहित कविता वाचनको शृंखलासहित सम्पन्न कार्यक्रममा कवि विप्लव प्रतीकले अभिनेता कोइरालालाई अमेरिकाको ड्यालसमा भेटेको स्मरण गर्दै संग्रहमा रहेका कविता र आवरणको तारिफ गरे।

निर्देशक दीपाश्री निरौलाले राजबल्लभ अभिनयमा मात्र नभएर कविको रूपमा पनि परिपक्व भएको प्रमाण कविता संग्रह रहेको जनाउँदै निरन्तर फिल्ममा देखिन सुझाब दिइन्।

दिलभूषण पाठकले संग्रहभित्र समेटिएका केही कविता वाचन गर्दै कविताले समयको कथालाई दुरुस्त उतारेको टिप्पणी गरे। शब्द मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ।