टी-२० आई शृंखला : नेपाल उपाधि दौडबाट बाहिरियो


काठमाडौं ।

कीर्तिपुरमा जारी महिला त्रिकोणात्मक टी–२० आई (अन्तर्राष्ट्रिय) शृंखलामा घरेलु टोली नेपाल उपाधि दौडबाट बाहिरिएको छ। मंगलवार त्रिवि मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भयो। चौथो लगातार हारपछि नेपालको उपाधि जित्ने सम्भावना पनि सकियो।

यो नतिजापछि चार खेलबाट थाइल्यान्डको ८ अंक भएको छ भने चारै खेलबाट नेदरल्यान्ड्सको ४ अंक रहेको छ। नेपालले भने अंक जोड्न सकेको छैन । थाइल्यान्डले नेदरल्यान्ड्स र नेपाललाई २–२ पटक पराजित गरेर अपराजित रहेको छ।

यस्तै, नेदरल्यान्ड्सले चार अंक नेपाललाई दुई पटक हराएर जोडेको हो। अब, नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्ध एक–एक खेल्न बाँकी छ। एक आपसमा तीन–तीन खेल खेल्नु पर्ने सो शृंखलामा थाइल्यान्डले उपाधि जित्ने सम्भावना बलियो रहेको छ। शृंखलामा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

पहिले ब्याटिङ गरेको थाइल्यान्डले मात्र १ सय ७ रनको लक्ष्य नेपालसामू तेस्र्याएको थियो । नेपालले शुरूमै ४ ओेभरसम्म खेल्दा ४ विकेट गुमाइसकेको थियो । यसले नेपाललाई जित्न कठिन परिस्थितिमा पुर्‍यायो । तर, पूर्व कप्तान रुविना क्षेत्री र यु–१९ की कप्तान पूजा महतोले शानदार ब्याटिङ गर्दै नेपाललाई जितको आस देखाए।

उनीहरूले पाँचौं विकेटका लागि ४४ रनको साझेदारी गरेर ५३ रनसम्म पुर्‍याउँदा रुबिना आउट भइन्। उनले बनाएको २६ रन टोलीको लागि सर्वाधिक व्यक्तिगत योगदान थियो । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेकी थिइन्।

उनीपछि पूजा पनि अर्को ओभरमा आउट भइन्। उनले १८ रन जोडेकी थिइन्। रुविना र पूजा आउट भएपछि फेरि एकपटक नेपाली ब्याटिङमा ज्यान भरियो । कविता जोशी र रोमा थापाले स्कोर ९६ सम्म पुर्‍याएका थिए।

कविता २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदै आउट भइन्। तर, रोमाले १९ रनमा नटआउट रहे पनि जित भने दिलाउन सकिनन् । थाइल्यान्डका लागि थिपात्चा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल बनाएको थियो।

५६ रनमा ६ विकेट गुमाएको थाइ टोलीका लागि सातौं विकेटका लागि ५० रनको साझेदारी भयो। यो साझेदारी नै नेपालको लागि हारको कारण बनेको थियो। जसमा, चानिदा सुत्थीरुआंग २७ रन र थिपात्चा पुत्थावोंग २५ रनमा नटआउट रहे। नेपाली बलरमा मनिषा उपाध्यायले ३ विकेट लिँदा पूजा महतो र रचना चौधरीले समान १ विकेट लिएका थिए।