साहारा चितवन सहकारी ठगी प्रकरण: लामिछानेसहित १५ विरुद्ध मुद्दा दायर


काठमाडौं ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार पूरक अभियोग दायर भएको छ। लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत विरुद्ध पनि मुद्दा दायर भएको हो।

अभियोगपत्रमा लामिछानेले सहकारी संस्थाबाट तलबबाहेक पनि रकम लिएको देखिएको उल्लेख छ। ‘विभिन्न व्यक्ति तथा संस्थाहरूलाई भुक्तानी गरी आफूले समेत भुक्तानी लिई ठगी गर्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुन्छ’ –अभियोगपत्रमा भनिएको छ।

साहारा सहकारी ठगीमा गएको असोज ८ गते सहकारीका संस्थापक गितेन्द्रबहादुर (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरूद्ध मुद्दा दायर भइसकेको छ। सोही दिननै सरकारी वकिल शान्तिप्रसाद लुँइटेलले साहारा चितवनको रकम गएको देखिएको गोर्खा मिडियालगायतका कम्पनीका सम्बन्धमा पनि थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिनुभएको थियो।

लामिछाने गोरखा मिडियाका तत्कालीन शेयरधनी, सञ्चालक र प्रबन्ध निर्देशक रहेकाले उहाँमाथि अनियमिततामा छानबिन हुँदै आएको थियो।

थप प्रतिवादीहरूमा रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलगायत रहेका छन्।