काठमाडौं ।
विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा एचपीभी खोप अभियानको शुभारम्भ गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी सो अभियानको शुभारम्भ गर्नुभयो।
प्रधानमन्त्री ओलीले महिलाको पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो। हामीले नयाँ काम थालेका छौं । अब खुसी र सुरक्षित भविष्यतर्फ जाँदै छौं।’
प्रधानमन्त्री ओलीले सुखमय र रोगव्याधिबाट मुक्त समाज बनाउन चाहेको उल्लेख गर्दै माघ २२ देखि फागुन ६ सम्म देशव्यापी रूपमा सञ्चालन हुने खोप अभियानमा १० वर्षदेखि १४ वर्षसम्मका विद्यालय भित्र र बाहिर रहेका किशोरीहरूलाई सहभागी हुन आग्रह गर्नुभयो।
‘मानिसले रोगलाई जित्न सक्छ भन्ने मान्यतालाई यो खोपले स्थापित गर्छ’, उहाँले भन्नुभयो– ‘मानिस निरोगी होस् रोग नलागोस् भन्ने हाम्रो ध्येय हो ।’ उहाँले स्वस्थ जीवनका लागि स्वस्थ आहारविहार र आराममा ध्यान दिनसमेत सुझाव दिनुभयो। उहाँले बिरामी भएकाले सहज उपचार पाउनका लागि अस्पताल जानुपर्ने बताउँदै आकस्मिक उपचार, प्रजनन अधिकार र ट्रमाजस्ता समस्याका लागि अनिवार्य अस्पताल आवश्यक पर्ने बताउनुभयो।
उहाँले बिफरबाट आमा गुमाएको स्मरण गर्दै अहिले विफर उन्मूलन भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले बिफर उन्मूलन भयो, मलेरिया उन्मूलन भयो। अभियान चलायौं पोलियो उन्मूलन भयो। कोभिडले तीनपटक भेट्यो तर गाह्रो परेन।’ खोपकै कारण बाल मृत्युदर र मातृ मृत्युदर घटेको र औसत आयु बढेको छ। ‘सरकारका सबै कार्यक्रम प्राथमिकताका कार्यक्रम हुन्’, प्रधानमन्त्रीले थप्नुभयो– ‘एचपीभी खोप अभियान विश्वको एजेन्डा हो, नेपालको मात्र होइन।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खोप अभियानमा २७ हजार स्वास्थ्य कार्यकर्ता र ५२ हजार स्वास्थ्य स्वयम्सेविका खटिएको बताउनुभयो । खोप जोखिमरहित रहेको र खोपले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन । नेपालले भविष्यमा पाठेघरको क्यान्सर नहोस् भनेर यो अभियान चलाइएको मन्त्री पौडेलले बताउनुभयो ।
अहिलेकै जसरी बिरामी बढ्दै गएमा क्षमताभन्दा बढीको उपचार सम्भव नहुने बताउँदै मन्त्री पौडेलले निरोगी बनाउने उपाय अवलम्बन नगरे गाह्रो अवस्था सिर्जना हुनेमा जोड दिनुभयो। ‘नेपालीलाई स्वस्थ बनाउने अभियान चलाउनु आवश्यक छ’ –उहाँले भन्नुभयो।
माघ २२ देखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालनमा ल्याइएको हो । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरू यो अभियानमा सहभागी हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अभियानमा १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने सरकारको तयारी छ।
यो खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोग रहेको छ। गाभीले चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको १७ लाख ७० हजार ४ सय भाइल खोप उपलब्ध गराएको छ। गत वर्ष २ डोज लगाएको यो खोप एक डोजमात्रै लगाए हुन्छ भन्ने खोप सिफारिस समिति र विश्व स्वास्थ्य संगठनले निर्णय गरेसँगै अब एक डोजमात्र लगाइँदै छ।
सरकारले यो वर्ष खोप अभियानको रूपमा शुरू गरे पनि अर्को वर्षदेखि नियमित खोप तालिकामा यो खोप राखिसकेको छ । किशोरी लक्षित यो खोप कार्यक्रम विशेष गरी विद्यालय केन्द्रित हुनेछ। अभियानका लागि १८ हजार ९ सयवटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ। विद्यालयबाहेकका स्वास्थ्य संस्थाहरूमा पनि खोप चल्छ। थप ८ हजार २ सयवटा यस्ता केन्द्र तोकिएका छन्।
खोप अभियानमा २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० स्वयम्सेवक, १५ हजार ६ सय ७४ सुपरीवेक्षक परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाले जनाएको छ। अभियानका लागि १७ हजार ८ सय ४३ वटा सेफ्टी बक्स प्रयोग हुनेसमेत उल्लेख गरिएको छ। विभिन्न अनुसन्धानले वार्षिक करिब २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको छ।











प्रतिक्रिया