हरियो वन नेपालको धनको स्वास्थ्य अवस्था कस्तो छ? मिचाहा वनस्पतिका कारण अधिकांश वन क्षेत्र रोगी बन्दै

२५ वर्षभित्रै विभिन्नखाले संकट आइपर्न सक्ने

1.6k
Shares

काठमाडौं ।

केही वर्ष अघिसम्म ‘हरियो वन नेपालको धन’ भन्ने नारा निकै घन्किएको हुन्थ्यो तर अहिले यो नारालाई सरकारी स्तरबाट खासै वास्ता गर्ने गरिएको पाइँदैन न त नागरिकस्तरमा नै यो विषयले चर्चा पाउने गरेको छ।

विज्ञहरूका अनुसार जुन बेला हरियो वन नेपालको धन भनेर नारा घन्काइथ्यो, सो नारामार्फत यसको महत्वलाई चित्रण गरिएको हो । तर, आज आएर वनको महत्वको चर्चा हुन छोडेसँगै नेपालका वनहरू बढी रोगी र कुपोषित हुन थालेको पाइएको छ। जसका कारण वन क्षेत्रले दिने वातावणीय र वस्तुको सेवा क्षेत्रमा नकारात्मक असर परिरहेको छ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले नेपालमा वन क्षेत्र बढ्दो क्रममा रहेको भए पनि अधिकांश वनहरूको स्वास्थ्य अवस्था कमजोर र रोगी रहेको बताउनुभयो। नेपालमा विभिन्न समयमा वनको सर्वेक्षण हुँदै आएको छ।

वनको अवस्थालाई सुधार नगर्ने र यसरी नै मिचाहा प्रजातिहरू फैलने हो भने अबको २०–२५ वर्षभित्र गम्भीरखाले सुरक्षा र खाद्य संकट आइपर्नसक्ने विभागकी वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलकले बताउनुभयो ।

२०१५ को तेस्रो वन सर्वेक्षणमा नेपालमा वन क्षेत्र ४४ दशमलव ४६ प्रतिशत रहेको थियो भने पछिल्लोपटक वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले २०२० देखि २२ सम्म गरेको सर्वेक्षणले सो संख्या समेत बढेर वनको क्षेत्र ४६ दशमल शून्य आठ पुगेको औंल्याएको छ । वन क्षेत्र बढे पनि समग्र वनको अवस्था भने राम्रो नरहेको विभागका अधिकारीहरूको भनाइ छ। महानिर्देशक केसीले अहिले झन्डै ७७ वटै जिल्लामा वन क्षेत्रलाई रोगी बनाउने मिचाहा प्रजातिका वनस्पतिहरू फैलिरहेकाले वन क्षेत्रले संकट सामना गर्न परिरहेको बताउनुभयो ।

महानिर्देशक केसीका अनुसार मुलुकमा ५० प्रजातिका मिचाहा प्रजातिका वनस्पति रहेका र तीमध्ये ३० वटाले बढी असर गर्ने र त्योमध्ये पनि ६ प्रजातिका मिचाहा वनस्पति निकै घातक रहेका छन्। जसमा सेतो वनमारा, कालो वनमारा, माइकेनिया, लन्ताना, जलकुम्भी, प्रोसोपिसलगायत रहेका छन्।

मिचाहा प्रजातिका वनस्पतिका बारेमा विद्यावारिधि गर्नुभएका विभागकी अनुसन्धान अधिकृत डा. सिर्जना महर्जनले नेपालमा मिचाहा प्रजातिका कारण जैविक विवधिता नष्ट हुने, बिरुवाको पुनरउत्थान रोकिने, जमिनको उर्वराशक्ति घट्ने र जलस्रोतमा असर पर्नेजस्ता समस्या देखा परिरहेको बताउनुभयो।

यिनै वनस्पतिका कारणसमेत डडेलो बढी लाग्ने समस्या देखिन थालेको छ। डडेलो लागेपछि त्यस्ता मिचाहा प्रजातिका वनस्पति डडेलोले नमर्ने उल्टै राम्रोसँग पलाएर आउने हुँदा त्यसले वनलाई थप समस्या पारिरहेको अधिकृत महर्जनले जानकारी दिनुभयो।

विभागका महानिर्देशक केसीले वनको स्वास्थ्य अवस्था सुधार गर्न उच्च तहबाटै वनको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने, आवश्यक लगानी गर्नुपर्ने र नीतिगत तथा कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपालका वनको स्वास्थ्य अवस्था सुधार गर्न उच्च तहबाटै वनको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक लगानी गर्नुपर्ने र नीतिगत तथा कानुनी व्यवस्था गर्नुपर्छ । साथै अनुसन्धान र नीति निर्माणमा जोड दिनुपर्छ भने देशव्यापी जागरुकता अभियान चलाउनुपर्छ ।
डा. राजेन्द्र केसी
महानिर्देशक
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र