शृंखलामा नेपालको हारको क्रम जारी

1.03k
Shares

काठमाडौं ।

कीर्तिपुरमा जारीे त्रिकोणात्मक महिला टी–२० शृंखलामा घरेलु टोली नेपालले हारको क्रमलाई निरन्तरता दिएको छ । आइतबार त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले हारेको हो।

जारी शृंखलामा यो नेपालको लगातार तेस्रो हार हो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले प्रतिस्पर्धात्मक लक्ष्य १ सय ४१ रन नेपालसामु राखेको थियो । जवाफमा नेपालले ब्याटिङमा आवश्यकअनुसार रन गति बढाउन नसक्दा १ सय २५ रनमा खुम्चिनु परेको थियो ।

डच टोलीकी कप्तान बाबेट डी लीडले सर्वाधिक ४१ रनको योगदान दिइन् । ३८ बलको सामना गरेकी बाबेटले चार चौका र एक छक्कासमेत प्रहार गरेकी थिइन् । उनलाई राम्रो साथ दिएकी हिथर सिगर्सले २३ बलमा २६ रन बनाइन् । जसमा, तीन चौका र एक छक्का सामेल थिए ।

डच टोलीकी ओपनर फेबे मोल्कनबोएर र चौथो नम्बरकी ब्याटर रोबिन रिएकेले समान २१ रन बनाएर रनगति बढाएका थिए । तर, अन्तिम ९ रन जोड्दा भने चार विकेट गुमाएपछि डच टोली १ सय ४० रनमै समेटिएको थियो ।

नेपालकी बलर सिता राना मगरले १८ औं ओभरमा तीन विकेट निकालेपछि नै डच टोलीको १ सय ५० रन नाघ्ने सम्भावना समाप्त भएको थियो । सिताले केवल १२ रन दिएर ३ ओभरमा ५ विकेट लिएकी थिइन् । यस्तै, मनिषा उपाध्यायले २ विकेट हासिल गरेकी थिइन् ।
नेपालको ब्याटिङ
नेपालको लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन जोडिन् । ३२ बलको सामना गरेकी उनले एक छक्का प्रहारसमेत गरेकी थिइन् । यस्तै, ओपनर सम्झना खड्काले शानदार सुरुवात दिलाएकी थिइन् । उनी २५ बलमा ४ चौका प्रहार गर्दै २३ रन जोडेर आउट भएकी थिइन् । अर्की ओपनर ममता चौधरीको योगदानमात्र ७ रन थियो ।

यस्तै, यू १९ नेपाली टोलीकी कप्तान पूजा महतोले १८ बलमा १८ रन बनाइन् । कविता जोशीले १५ बलमा १४ रन जोडिन् । जबकि, सिता एक छक्कासहित १० रनमा नटआउट रहिन् । डच बलरमा २ ओभर फ्यालेकी सिगर्सले १० रन दिएर २ विकेट लिइन् । उनलाई अलराउन्ड प्रदर्शन गरेकी हुनाले प्लेयर अफ द म्याच घोषित गरिएको थियो ।

नेपाल अंकविहीन

यो जितपछि नेदरल्यान्ड्स अंकतालिकाको दोस्रो स्थानमा ४ अंकसहित रहेको छ । चार अंक नै जोडेको थाइल्यान्ड पहिलो स्थानमा छ । यी दुई टोलीबिच आज खेल हुँदैछ । तीन खेलमा हार बेहोरेर अंकविहीन रहेको नेपालले थाइल्यान्डसँग मंगलवार खेल्नेछ । यो शृंखला तेहेरो राउन्ड लिग आधारमा छ र शीर्ष रहने टोली विजेता बन्नेछ ।