विदेश जाने आशामा ठगिए एकै गाउँका दश युवा


बाँके ।

नेपालगञ्ज उपमहानगरपालिका–२३ का मनोजकुमार कोरी कुवेत जान घरबाट टीकाटालो गरेर निस्किनुभयो। छोरा विदेश जान थालेको भनेपछि घरमा रुवाबासी भयो। २०२४ अक्टोबर २१ मा मनोज १२ हजार ९ सय ७० रुपियाँ तिरेर जहाजमा काठमाडौं जानुभयो। भारतको अयोध्या गएका मनोजलाई भोलि नै काठमाडौं जानुपर्ने सन्देश पठाइएपछि रातारात आएर जहाजबाट काठमाडौं हानिनुभएको थियो।

मनोज पाँच दिन काठमाडौंमा बस्नुभयो । विदेश उडाएन । भिसा नै नक्कली रहेको थाहा पाएपछि उहाँ घर फर्किनुभयो । मनोजले त्यो दिन सम्झिनुभयो– ‘विदेश जाने भनेर टीकाटालो गरेर गएको मान्छे फेरि घर फर्किंदा मलाई साह्रै नराम्रो लाग्यो । घर फर्किन मन लागेको थिएन । तर, कहाँ जानु ? मन रुवाउँदै फर्किएँ।’

मनोज आइतबार जिल्ला प्रहरी कार्यालय, बाँकेको गेटमा भेटिनुभयो। उहाँको हातमा विदेश पठाइदिन्छु भनी पैसा लिएका व्यक्तिलाई कारबाही गरेर रकम फिर्ता गरी पाऊँ भन्ने निवेदन थियो। मनोजले २ लाख ६५ हजार रुपियाँ बुझाउनुभएको थियो । अरू ३५ हजार रुपियाँ विदेश उड्नेबित्तिकै घरका मान्छेले दिने भनिएको थियो । ६ महिनामा तिर्ने गरी २ लाख रुपियाँ ब्याजमा लिएर एजेन्टलाई पैसा बुझाउनुभएके थियो । ‘१ लाखको डेढ लाख रुपियाँ ६ महिनामा दिने गरी २ लाख रुपियाँ लिएको थिएँ’, मनोजले भन्नुभयो– ‘दलालले डुबायो । अब कसरी तिर्ने हो ?’

त्यहीँका आरिफ खाँ किचन हेल्फरमा कुवेत जान तयार हुनुभयोे । उहाँले ३ लाख रुपियाँ बुझाउनुभएको थियो। आरिफले २ लाख ५० हजार ब्याजमा र ५० हजार रुपियाँ भिनाजुसँग मागेर दलाललाई बुझाउनुभएको थियो। भाइ अब्दुल अर्सद खाँलाई विदेश पठाउन मोनु खाँले ५ प्रतिशत ब्याजमा लिएर दलाललाई तीन लाख रुपियाँ बुझाउनुभएको थियो।

एकै ठाउँका दश जना युवाले कुवेत जान तीन लाखका दरले पैसा बुझाएका थिए । बाँकेकै डुडुवा गाउँपालिका–६, सिख्खनपुरुवाका हरपालसिंह सिखले उनीहरूसँग पैसा लिएका थिए । १० जनामध्ये २ जनालाई लाइट ड्राइभर र ८ जनालाई किचन हेल्फरमा काम लगाइदिने प्रलोभन देखाइएको थियो ।

दशै जना घरबाट बिदावारी भएर काठमाडौं निस्केका थिए । पाँच दिन काठमाडौं बसेर पुनः घर फर्किएका थिए। अहिले दशै जना हरपालसिंह सिखलाई कारबाही र रकम फिर्ताका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा धाइरहेका छन्।

‘विदेश पठाऊ कि भने हाम्रो पैसा फिर्ता गर’ भन्दा सिंहले विदेश पठाउन नसक्ने र पैसा पनि अहिले फिर्ता गर्न नसक्ने ओठे जवाफ दिने गरेको मोनु खाँले बताउनुभयो । ‘हाम्रो पैसा अलिअलि गर्दै दिए पनि हुन्थ्यो । हरपालसिंह सिखले हामीलाई विदेश पठाउन सक्दिनँ । पैसा पनि अहिले दिन सक्दिनँ । जे गर्न सक्छौ गर भन्छन्’, मोनुले भन्नुभयो– ‘विदेश जान नपाउने र पैसा पनि फिर्ता नपाउनेजस्तो देखिएपछि प्रहरीको शरणमा आएका छौं ।’

प्रहरीमा मोनु खाँ, आरिफ खाँ, मो. हानिफ खाँ, सकिर अलि बेहना, अस्लम शेष, सउवाल अहमद शेष, रजाक शेष, मनोजकुमार कोरी, सम्सुल शेष र फिरोज शेषले ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् । दशै जनाले पैसा बुझाएको सबै प्रमाण राखेका छन् ।

हरपालले आफ्नैमा पर्ने सिख्खनपुरुवा र मसाहका तीन÷तीन जनालाई पनि विदेश पठाइदिन्छु भन्दै ठगेको उनीहरूले बताएका छन् । सिख्खनपुरुवाका हरपालसिंह सिख राजनीतिमा पनि देखिएका व्यक्ति हुन्।