काठमाडौं ।
यही माघ १८ मा हुने संसद्को हिउँदे अधिवेशनको पूर्वतयारी स्वरूप सरकार सम्बद्ध दलहरूले सदनलाई व्यवस्थित मर्यादित र परिणाममुखी बनाउने गरी छलफललाई व्यापकता दिएका छन्। अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सभामुख देवराज घिमिरेले सदनलाई प्रभावकारी बनाउने विषयमा दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ। हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गर्नुभएको सभामुखको सचिवालयले जानएको छ। सोमबार बिहान ११ बजे प्रमुख ५ दलका मुख्य सचेतकसँग छलफल राखिएको छ भने माघ १५ गते मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छन्।
यस्तै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग समेत सभामुखले अलग–अलग संवाद गरिरहनुभएको छ। प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसद्मा सरकारले पेस गर्न लागिएको विधेयकलगायत समसमायिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।
त्यस्तै, सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेसले आगामी संसद् अधिवेशनमा एकढिक्का भएर जनताका मुद्दा उठाउने भएको छ। आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘आसन्न अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्नेमा छलफल भयो । सरकारले पछिल्लोपटक ल्याएका अध्यादेशका बारेमा विज्ञहरूले बैठकमा प्रकाश पारे।’ सोमबार पनि दलको बैठक रहेकाले सांसदहरूले बोल्ने र नेताहरूले जवाफ दिने कार्यतालिका रहेको घिमिरेको भनाइ छ।
कामहरूको सुरुवात गरेको भन्दै यो गठबन्धनको सरकारलाई आगामी ८४ सम्म लैजानेबारे समेत छलफल भएकोे छ। सरकारले ल्याएको विधेयकका पक्षमा एकढिक्का भएर सदनमा प्रस्तुत हुन सांसदहरूलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ।
सोहीअनुसार सांसदहरू सदनमा उपस्थित हुने प्रतिनितिसभा सदस्य रामहरि खतिवडाले बताउनुभयो। हालै जारी भएका अध्यादेश ६० दिनभित्र अनुमोदन गर्नुपर्ने भएकाले द्रुतगतिमा विधेयक पारित गर्न सत्तारुढ दलले सभामुखसँग आग्रह गरेका सांसद खतिवडाले बताउनुभयो । संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका शीर्ष नेताहरूले पनि आफ्नो तयारीलाई चुस्त बनाउँदै लगेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार पक्षको प्रस्तुतिका आधारमा सदनभित्रै योजना बन्ने बताएको छ । यद्यपि, माओवादी सांसद माधव सापकोटाले सदनलाई प्रतिपक्षको झल्को दिने गरी प्रस्तुत हुने बताउनुभयो।
उहाँले भन्नुभयो– ‘सरकार निर्माणको प्रक्रियादेखि आम जनजीविकाका सवाललाई उठाउँछौं। विद्युत् महसुल नउठाउने सरकारको नियत, भूमाफियाहरूका पक्षमा ल्याइएका भूमिसम्बन्धी विधेयकलगायत विषयहरूलाई सदनमार्फन जनतासम्म पुर्याउँछौं।’











प्रतिक्रिया