लोकेश मध्यम वित्तीय पारिवारिक पृष्ठभूमि भएका व्यक्ति हुन् । करिब चार वर्षअघिसम्म उनी आफूलाई ज्यादै भाग्यमानी व्यक्ति ठान्थे । कारण उनको थाप्लोमा परिवारको बोझ परेको थिएन । बाबुआमाको छत्रछायामा कुनै झैझमेलामा नअल्झिएको उनको जीवन थियो । एक–एक वर्षको अन्तरालमा भएको उनको बाबुआमाको निधनले गर्दा उनलाई ठूलो संकट आइप¥यो । संकट भन्नाले आर्थिक संकट होइन। बाबुले किनिराखेका खेतीजन्य जग्गा भएकोले चामल किन्नुपरेको थिएन। उनले पनि केही समय कामकाज गरी अवकाश लिँदा एकमुष्ट रकम हात पारेका थिए। घरायसी कामकाज एवं अन्य जिम्मेवारीको बोझ उनको थाप्लोमा पर्यो। पहिलेझैँ जता मन लाग्यो जाने काम रोकियो । एकमात्र छोरी र छोराको भविष्य निर्माण गर्ने चिन्ता थपियो। हुन त यो काम हरेक बाबुआमालाई स्वतः आउने कुरा हो । बाबुआमा बाँचुन्जेल उनले त्यस विषयमा विशेष चिन्ता लिएका थिएनन्।
हजुरआमा र हजुरबुबाको निधनले गर्दा लोकेशकी छोरी लोलितालाई नि नराम्रो प्रभाव पर्यो। आफूलाई भनेजस्तो पुर्याइराखेका हजुरआमा र हजुरबुबाको निधन हुँदा उनलाई आघात पर्नु स्वाभाविकै हो। हजुरआमा र हजुरबुबाको निधन हुँदा उनको कक्षा १२ को अन्तिम परीक्षा सकिसकेको हुँदा उनी सोको नतिजाको प्रतीक्षारत थिइन्। निश्चित समयमा उद्घोषित परीक्षाफलमा उत्तीर्ण भएबाट परिवारमा खुशीयाली नै छायो। तर कुन्नि के भएर हो, उनको स्वास्थ्य गिर्दै गयो।
बराबर अस्वस्थ भइरहने भएकीले उपचारार्थ डाक्टरहरू देखाउन पर्ने समस्या आइलाग्यो। नियमित औषधिको सेवनले निको भए तापनि उनमा पहिलेजस्तो छिटोछरितोपना तथा चञ्चलता देखा परेन। उनको पठनपाठनमा ध्यान गएन। घरैमा बसिरहने, दिनभर सुत्ने, आमाले अराएको सानोतिनो घरायसी काम गर्दै बिताउन थालिन् । एक किसिमले उनमा खिन्नता, डिप्रेसन छाइरह्यो । त्यसैले समयमै क्याम्पसमा स्नातक पढाइको लागि नाम दर्ता गर्ने काम भएन । यसरी सो वर्ष उनको पढाइ छुट्यो । शुरु–शुरुमा क्याम्पस पढ्दाको साथीहरू घरमा आउने गर्दथे । पछि उनले क्याम्पसमा नाम नलेखाएको हुँदा उनीहरु पनि आउने कम हुँदै गयो ।
लोकेश आफ्नी एकमात्र छोरी लोलिताको यस्तो अवस्था देखेर चिकित्सकहरुलाई देखाई राय–सल्लाह लिने कार्यमा दौड गर्न बाध्य भए । अर्को नौलो ठाउँमा लैजाने तथा उनको मनोविज्ञानअनुसार उतै पढाउने काम गर्न सल्लाह दिए । घरमा आफ्नी श्रीमती प्रभासँग सरसल्लाह गरी धेरै नेपालीको अध्ययन गर्ने छिमेकमा रहेको सिक्किमस्थित मणिपाल क्याम्पसमा स्नातक कक्षामा भर्ती गरी त्यहीँकै महिला छात्रावासमा बस्ने–खाने प्रबन्ध मिलाएर फर्के । नौलो ठाउँ, नौला परिवेश तथा नयाँ सहपाठीहरू पाएर केही दिन उनी अकमक्क भए तापनि पछि त्यहीँ रमाएर पढाइमा ध्यान दिन थालिन्। उनले आफ्नो पढाइमा प्रगति गर्दै निर्धारित समयको परीक्षामा राम्रो अङ्क ल्याएर स्नातक परीक्षा उत्तीर्ण भई आफ्नो जन्मथलो फर्किन् । बाबुआमा तथा आफन्तहरु ज्यादै खुशी भए। उनले स्नातकोत्तर पनि उतै गएर पढ्ने धोको रहेको सुनाइन्। लोकेशले पनि सहमति दिई आफैँ छोरीका साथ गएर भर्ती गर्ने र बस्ने–खाने सारा प्रबन्ध गरी फर्के।
लोलिता क्याम्पसको बर्खे बिदा तथा दशैँ बिदामा घरमा आउँथिन् । परिवारमा बसी हाँसीखुशी पुनः पढाइको लागि फर्किन्थिन्। यसरी स्वदेशबाहिर गएर पढ्न थालेदेखि उनको स्वास्थ्य पनि राम्रो भएको थियो । यसरी चार–पाँच वर्षको दौरानमा लोकेशका १३ दिने दाजुभाइका तीन सन्तानको विवाह सम्पन्न भइसकेको थियो । उनीहरू लोलिताभन्दा पाँच–छ वर्ष जेठा थिए।
लोकेशले पनि ललिताको स्नातकोत्तर परीक्षाको परिणाम आएपछि छोरीको वैवाहिक कार्य सिध्याउने योजना गरेका थिए। नभन्दै स्नातकोत्तर परीक्षामा उनी उत्तीर्ण भइन्। तब उनले आफ्नो जहान प्रभासँग छोरीको विवाह गरिदिने विषयमा कुरा गरे । प्रभाले आफूले पनि छोरीसँग यस विषयमा कुराकानी गरिसकेकी जनाउ दिइन्। छोरीको जवाफ अब विद्यावारिधि गर्ने, हाल विवाह गर्न नचाहेको हुन्थ्यो।
लोकेशले पनि विद्यावारिधि पछि नै गराउने तर सर्वप्रथम यही वर्षमा गतिलो केटो खोजी छोरीको वैवाहिक कार्य गर्न पाए हाइसन्चो हुने मनसाय प्रभालाई सुनाए। छोरीलाई पनि विवाह गर्न मनाउनु भनेर काम विशेषले बाहिर लागे।
एकदिन घरमा आमाछोरी मात्र थिए। छोरा पनि मामाघरको हजुरआमाले डाकेको हुँदा उतै गएका थिए। प्रभाले छोरी लोलितालाई डाकी हाँसखेल गर्दै बिस्तारै विवाहको कुरा निकालिन्। विद्यावारिधि गर्न हत्पताउन जरुरी छैन, सो कुरा बिस्तारै कामकाज गर्दै गएपछि गर्दा झन् आफूलाई नै फाइदा हुने हो, अतः सर्वप्रथम कुनै क्याम्पसमा पढाउने अथवा सरकारी वा गैरसरकारी सेवामा प्रवेश गरेमा सुनमा सुगन्ध थपेझैँ हुन्छ भन्दा लोलिताबाट केही जवाफ प्रभाले पाइनन् । पछि उनले छोरीलाई माया गरी फकाएर ‘विवाह गर्न नचाहनुको कुनै विशेष कारण भए भन, आफूलाई लागेको कुरा भन्न डर मान्नु अथवा लाज मान्नु राम्रो होइन’ भनिन् ।
लोलिताले आफ्नी आमाले मायाले फकाई–फकाई सोध्ने गरेकोमा आफूले विवाह गर्न नचाहेको कारण बताइन् । बाहिरफेर अध्ययन गर्न जाँदा त्यहीँकै आफूभन्दा माथिल्लो कक्षामा पढ्ने केटोले आफूलाई पढाइदेखि अन्य काममा ठूलो सहयोग गरी गुन गरेको हुँदा ऊप्रति ज्यादै आभारी भई प्रेम हुन पुगेको लोलिताले बताइन् । उसको पनि आफूप्रति प्रेम भएको हुँदा विवाह गरेमा उसैसँग मात्र गर्ने, नभए अरुसँग गर्ने मनस्थिति किमार्थ नरहेको कुरा उनले दोहोर्याइन्। आफ्नी छोरीको यस्तो कथन सुनेर प्रभा एकछिन् बोल्न नै सकिनन् ।
राति खाना खाई सबै आ–आफ्नो कोठामा सुत्न गए । प्रभाले आफ्नो लोग्नेलाई छोरीले दिउँसो आफूलाई भनेकी यावत् कुराको बेलीविस्तार गरिन् । त्यो सुनेर लोकेश एकछिन् टोलाउन पुगे । त्यसपछि उनले छोरीसँग त्यस विषयमा आफैँ कुरा गर्ने मनसाय प्रकट गर्दै सुत्न तर्खर गर्न थाले । भोलिपल्ट बिहान प्रातः कालीन क्रियाकर्म समाप्तिपछि लोकेशले लोलितासँग हाँसठट्टा गर्दै विवाहको प्रसङ्ग निकाले। लोलिताले पुनः आफ्नो एकमात्र चाहना विद्यावारिधि गर्ने रहेको हुँदा हाल विवाह गर्न नचाहेको ढिपी दोहोर्याइन्।
माथिल्लो कक्षामा पढ्ने केटोले आफूलाई पढाइदेखि अन्य काममा ठूलो सहयोग गरी गुन गरेको हुँदा ऊप्रति ज्यादै आभारी भई प्रेम हुन पुगेको लोलिताले बताइन् । उसको पनि आफूप्रति प्रेम भएको हुँदा विवाह गरेमा उसैसँग मात्र गर्ने, नभए अरुसँग गर्ने मनस्थिति किमार्थ नरहेको कुरा उनले दोहोर्याइन् ।
लोकेशले भने, ‘विवाह भनेको समयमै गर्नुपर्छ । मानिस भएर समयोचित काम गरी आफ्नो मानमर्यादामा रहनु जरुरी छ। कसैको मर्का पर्ने, मन दुखाउने, क्रियाकलाप गर्नु मानवीय काम होइन । त्यसैले सर्वजन हित हुने काम गर्नु नितान्त जरुरी छ। आफ्नो घाँटी हेरी हाड निल्नुपर्छ। त्यसैले आफ्नो स्वजातीय केटा आफ्नो पहुँच भएका, धर्म सम्प्रदाय मिल्नेसँग दाम्पत्य जीवन अँगालिएमा सर्वजन हित हुन्छ । यस विषयमा एकपल्ट राम्ररी मनन गरी भोलिसम्ममा मलाई जवाफ देऊ।’
भोलिपल्ट लोकेशले बिहान चियापान गर्दा हिजो आफूले भनेको कुराको जवाफ मागे। आफ्नी आमालाई भनिसकेको त्यही कुरो उनले दोहोर्याइन् । सो कुरा नभए कोहीसँग पनि विवाह नगरी आफू बूढी कन्या भएर बस्ने प्रण दोहो¥याइन् ।
लोकेश तथा प्रभा चुपचाप लागी एक हप्तासम्म छोरीको क्रियाकलाप हेर्ने विचार गरे । उनीहरुले छोरी केही गलेको, अनुहार फुङ्ग उडेको जस्तो तथा जाँगर नभई शिथिल भएको अनुभव गरे ।
आमाबाबुले त्यसपश्चात् छोरीलाई माया गरेर नरम बोलीमा आफूहरूले उनको सदा सर्वदा भलो चाहेको, छोरीको भविष्य सुख समृद्धशाली भएको मात्र हेर्न चाहेको खुलस्त गरी भने । त्यसैले सदा सर्वदा आफ्नो नजर पर्ने स्वजातीय केटासँग वैवाहिक जीवनयापन गराउने एकमात्र धोको रहेको हुँदा सम्झाउन खोजेको खुलस्त भने । यसरी बेलामौकामा उनलाई माया गर्ने मामाघरको हजुरआमा, सानीआमालगायत मामाहरूले पनि मनाउन खोजे तर केही सीप नलागेको हुँदा लोकेश र प्रभाले छोरीको सुखद भविष्यको लागि उनको चाहनाअनुसार गर्ने निधो गरे ।
एकदिन लोकेश र प्रभाले माया गरी छोरीले मन पराएको केटोको बारे उनलाई सोधनी गरे । लोलिताले मोबाइलमा रहेको केटोको फोटो देखाउँदै उनको शैक्षिक क्रियाकलाप, उनको पारिवारिक एवं आर्थिक स्थितिको आफूलाई थाहा भएको यावत् कुरो संक्षेपमा सबै बताइन् ।
लोकेशले यसरी छोरीको सिक्किम मणिपाल विश्वविद्यालयमा अध्ययन गर्दा भएको माया–प्रीतिको बारेमा थाहा पाइसकेपछि आफ्ना मिल्ने दाजु तथा ससुराली खलकसँग के–कसो गर्नुपर्छ भन्ने सल्लाह गरे । सबैले छोरीको इच्छाअनुसार गरिदिनुबाहेक अन्य उपाय नभएको मन्तव्य प्रकट गरे ।
यसरी सविस्तार कुरा बुझेपछि लोकेशले लोलिताको मोबाइलबाट सुरजलाई फोन गरी उनको लोलितासँगको सम्बन्धबारे विस्तृत जानकारी लिन खोज्दा उनले आफू र आफ्नो परिवार यस विषयमा विरोधी नरहेको, विवाह गर्न चाहना रहेको हुँदा मन्जुरी भएको संक्षिप्त जवाफ दिए।
फोनबाट कुरा आएपछि वैवाहिक कार्यतालिका मिलाउन केटाको घरमा कुराकानी गरी विवाहको दिन, स्थान छिन्न लोकेश आफ्नो एकजना साथीसँग सिक्किम गए । केटा पक्षले सामान्य किसिमले कम खर्चमा विवाह सम्पन्न गर्न चाहेको हुँदा त्यहीँ आएर गरे दुवैलाई सुविधा हुने भन्ने व्यहोरा पेस गरे । लोकेशले घरमा सरसल्लाह गरी जवाफ दिन्छु भनी फर्के।
घरसल्लाहअनुसार दिन निश्चित गरी आफ्ना बन्धुबान्धवहरूको टोली उतै गएर पार्टी प्यालेसमा विवाह सम्पन्न गरे । त्यसतर्फ जाने टोली नौलो ठाउँ घुमफिर गरी बेजातीय जुवाइँ भए पनि एउटै हिन्दु धर्म मान्ने कथित उपल्लो जाति रहेकोमा खुशी नै भए । सबैले छोरी र ज्वाइँको सुखद भविष्यको कामना गर्दै स्वदेश फर्केर आए। जमानाअनुसार बदलिएको परिवेशमा आफूहरुलाई हिँडाउन सकेकोमा लोकेशका परिवारप्रति पनि सबै खुशी भए।
(सत्य घटनामा आधारित)











प्रतिक्रिया