राजस्व विभागको सफ्टवेयर ह्याक गरी राजस्व रकम हेरफेर गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ।

आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी राजस्व रकममै हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।

उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’ बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डमा पहुँच पुर्‍याई करको दर हेरफेर गरेको सीआईबीले जनाएको छ।

करको दर हेरफेर गरेको भन्दै विभागले सीआईबीलाई २५ पुसमा पत्र लेख्दै अनुसन्धान गर्न भनेको थियो । त्यसपछि उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल बरामद भएको छ ।

पक्राउ परेकाहरू बिहादी बिजनेस म्यानेजमेन्ट चितवनको नीजी फर्ममा लेखापरीक्षण गर्ने व्यक्ति रहेका छन् । उनीहरुविरुद्ध विद्युतीय कारोबारको कसुरको काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

सिस्टम ह्याक गरेर उनीहरूले भाटभटेनी सुपरमार्केटले सरकारलाई तिर्नुपर्ने कर भन्दा बढी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढी देखाएको खुलेको छ ।

अडिट फर्मको तर्फबाट विभागको सिस्टमा प्रवेश गरी करदाताहरूको कारोबार विवरण आफू अनकूल बढी, घटी बनाई लाभ लिने उदेश्यले भाटभटेनीको करको दायरा बढाइएको अनुसन्धानबाट खुलेको छ । कूल पठाउनु पर्ने करमा आफू अनकूलका व्यक्तिको कम देखाउने त्यस वापतको रकम अर्को करदाताको बढाउने गरेको सीआईबीले जनाएको छ ।