उद्यमशीलतामा नेपाली युवाशक्तिको सम्भावना

752
Shares

शहीद लखन गाउँपालिका–७ मास्कीछापका ३२ वर्षीय युवा कमल अधिकारीको गोठमा अहिले सातवटा लैना गाई छन्। सातवटा गाईसँगै खोरमा १२ वटा बाख्रा पनि छन् । उनले १५ वटा बाख्रामध्ये भर्खरै तीनवटा खसी बेचेर ७० हजार हात पारेका छन् । गाईको दूध बेचेर कमलले महिनामा १०/१२ हजार यत्तिकै कमाउँछन्।

रोजगारीको खोजीमा विदेशिने नेपालीको सङ्ख्या बढिरहेको सन्दर्भमा कमल भने इच्छा भएको खण्डमा स्वदेशमै धेरै गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। स्वदेशमै आम्दानी गर्न सकिन्छ, पैसा कमाउनका लागि विदेश जान पर्दैन भन्ने उदाहरण बनेका छन्। हुन त कमल कुनै दिन स्वदेशमा आम्दानीको स्रोत नदेखेर विदेश नगएका पनि होइनन् । तर नौ वर्ष विदेशमा पसिना बगाए पनि घर–परिवारलाई दुई छाक खान, एकसरो लगाउन धौधौ थियो । अनि कमललाई लाग्यो, ‘अब स्वदेशमै केही उद्यम गर्नुपर्छ।’

विदेशबाट फर्किएलगत्तै कमलले गाउँमै गाई र बाख्रा पालनमा लगानी गरे । अहिले उनी गाउँमै बाख्रापालन र गाईपालनमा रमाइरहेका छन् । चारजनाको परिवार पालेर बचत पनि गरिरहेका छन् । कमललाई विदेशमा गर्ने दुःख गाउँमै गर्न सकेमा आम्दानीका साथै सम्मानपूर्वक बाँच्न सकिने रहेछ भन्ने लागेको छ । कमलले गाई र बाख्रापालन शुरु गरेपछि गाउँका अरु युवाले पनि सिको गरेका छन् । गाउँका युवा पशुपालनमा आकर्षित भएका छन् । गाउँकै सन्दीप विश्वकर्माले दुई लाख लगानीमा अहिले बङ्गुरपालन शुरु गरेका छन् । सन्दीपको खोरमा दुईवटा माउसहित नौ बङ्गुर छन् । पछिल्लो पटक सन्दीपले आठवटा बङ्गुरका पाठापाठी बेचेर १६ हजार कमाएका छन् ।

खाडी मुलुकमा गएर पसिना बेच्नुको सट्टा स्वदेशमै उद्यम वा कुनै व्यवसाय गरेको खण्डमा मनग्य आम्दानी गर्न सकिन्छ भन्नका लागि कमल र सन्दीप उदाहरण हुन् । यसरी पटक–पटक विदेश गएर पनि राम्रो आम्दानी नभएपछि स्वदेशै फर्केर युवाले आफ्नै व्यवसाय वा उद्यम गरेर आम्दानी गरी जीविकोपार्जनसँगै बचत गर्ने गरेका धेरै उदाहरण छन् । सरकारले पनि युवालाई प्रोत्साहन गर्दै आएको छ । कमल र सन्दीपले मात्रै होइन, कृषि व्यवसाय गरेर भोजपुरका ३१ वर्षीय कुमार श्रेष्ठले भोजपुर नगरपालिका–१२ टक्सारमा कुखुरापालन, बङ्गुरपालन, माछापालन व्यवसाय सञ्चालन गरेर वार्षिक १५ देखि १८ लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै कुमारले सीप पनि सिकाउँदै आएका छन् ।

संविधानमा ‘राज्यले अवलम्बन गर्ने नीति र राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गरिनेछ’ भनिएको छ । सरकारले युवाको सशक्तीकरण र विकासमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासको योगदानमा युवालाई उपयुक्त अवसर प्रदान गर्ने नीति अख्तियार गरेको छ।

देशमा केही छैन, केही हुँदैन, विदेश नगए के गर्नु’ भन्ने नकारात्मक भाष्यलाई अब चिर्दै जानुपर्छ । स्वदेशमा केही पनि नदेख्ने तर विदेशमा थोरै पैसामा पनि पसिना बगाउन तयार हुने युवाले देशभित्रै बसेर धेरै गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ । गर्नेहरुका लागि देशभित्रै धेरै सम्भावना छ।

त्यसै गरी सरकारले चालू आर्थिक वर्षमा युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गरेको छ । सरकारले सो कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्रलगायतमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गर्न तीन अर्ब रुपियाँ विनियोजन गरेको छ । त्यसै गरी स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई ‘फेलोसिप’ (छात्रवृत्ति) प्रदान गरेको छ । फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई समेत सरकारले प्रोत्साहन गरेको छ । त्यस्तै सरकारले युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पु¥याउने कामलाई तीव्रता दिएको छ ।

मुलुकको कुल जनसङ्ख्याको ४० प्रतिशत युवा छन् । युवालाई पुँजीकृत गरी आर्थिक समृद्धिमा युवाको योगदान सुनिश्चित गर्न सरकारले विशेष योजना पनि तर्जुमा गरेको छ । युवावर्गमा रहेको नवीन सोच र प्रविधिको ज्ञानलाई उत्पादनशीलतामा लगाएर वस्तु तथा सेवाको व्यापार वृद्धि गर्नेतर्फ सरकारले पुँजीसहितको प्रोत्साहन प्रदान गर्नुपर्ने युवाको मागको सम्बोधन गर्न सकेको खण्डमा युवा उद्यमशीलताले अझै गति लिने थियो । नेपालमा केही गरौँ भन्ने युवाको लागि सम्भावना नै सम्भावना छ । युवाहरुको लागि नेपालको कृषिक्षेत्र मनग्य आम्दानीको स्रोत बन्न सक्छ । सरकारले अघि सारेको जलविद्युत्, सडक, रेलमार्ग, दु्रतमार्ग, हवाई मैदान, विशेष आर्थिक क्षेत्र, प्रसारण लाइनलगायतका भौतिक पूर्वाधार निर्माणसम्बन्धी आयोजना युवाहरुको लागि रोजगारीको माध्यम बन्न सक्छ ।

केही समयअघि गरिएको श्रमशक्ति सर्वेक्षणले बर्सेनि पाँच लाखको हाराहारीमा नयाँ श्रमशक्ति बजारमा आउने देखाएको छ । ‘देशमा केही छैन, केही हुँदैन, विदेश नगए के गर्नु’ भन्ने नकारात्मक भाष्यलाई अब चिर्दै जानुपर्छ । स्वदेशमा केही पनि नदेख्ने तर विदेशमा थोरै पैसामा पनि पसिना बगाउन तयार हुने युवाले देशभित्रै बसेर धेरै गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ । गर्नेहरुका लागि देशभित्रै धेरै सम्भावना छ । युवा जनशक्ति जुनसुकै मुलुकका लागि पनि समृद्धिको पहिलो आधारस्तम्भ मानिन्छ । युवावर्ग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको संवाहक शक्ति भएको सर्वस्वीकार्य छ । अर्काको देशमा गएर भाँडा माझ्ने र शौचालय सफा गर्ने काम पनि गर्न तयार हुने तर आफ्नै देशमा शानका साथ कृषि, पशुपालन वा आफ्नै पेसा व्यवसाय गर्न आनाकानी गर्ने प्रवृत्ति युवाले हटाउनुपर्छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको सन्दर्भमा अब युवाहरुले ‘नेपालमा केही हुन्न’ भन्ने भन्दा पनि ‘नेपालमा सबथोक छ’ भन्नुपर्छ ।

(लेखक दर्नाल राष्ट्रिय समाचार समिति, राससमा आबद्ध हुनुहुन्छ ।)