
पाठपूजा र मृत्यु संस्कारको साक्षीका रुपमा धेरैपटक पशुपति मन्दिर र यहाँको आर्यघाटमा पुगियो । यसै क्रममा कामना न्यूज पब्लिकेसन्स् प्रा.लि.का संस्थापक एवं नेपालको पत्रकारिताका धरोहर पुष्करलाल श्रेष्ठको अन्त्येष्टिमा सामेल हुन ५ वर्षअघि आर्यघाटमा पुगेको थिएँ । २०७६ वैशाख ४ गते साँझको समय पशुपतिस्थित आर्यघाट पुग्दा बागमती नदीकिनारमा रहेका चित्ताहरुमा पुष्करलाल श्रेष्ठसहित धेरै व्यक्तिका शव जलिरहेका थिए । मान्छे बित्दाको पीडा परिवारजन र आफन्तमा असह्य भएको त्यहाँको दृश्यले अनुभूत गर्न सकिन्थ्यो । तर त्यहाँ पिउने पानी, फूल–माला अदि बिक्री गर्न जुर्मुराएर आएका अव्यवस्थित व्यापारीहरुको मुहारमा भने खुशी र क्रोध मिश्रित थियो। यस मानेमा कि आफ्नो सामान कसैले किन्यो भने खुशी र किनेनन् भने क्रोधको भाव झल्कन्थ्यो।
उत्ता वाग्मतीको पारिपट्टि आरती चलिरहेको थियो । उनीहरु आरती गाउँदै ताली बजाइरहेका देखिन्थे। नदीकिनारामा भने मृत मानवशरीर जलिरहेका थिए। आफन्त गुमाउनुपरेको पीडामा परिवारका सदस्यहरु ती जलिरहेका शवका नजिकै अश्रुधारा बहाइरहेका थिए । कोही चितामा जलिरहेका थिए, कोही परिवार गुमाउँदाको पीडाले रोइरहेका थिए, कोही मौकामा व्यापार गर्न पाउँदा खुशी भइरहेका थिए । यसरी एक व्यक्ति पीडामा छटपटाइरहँदा अर्कोलाई त्यो पीडाले छोएको थिएन । यो दुःख र सुखको क्षण अनौठो थियो।
यसै गरी यही गत माघ ४ गते पनि एक प्रतिष्ठित व्यक्तिको अन्त्येष्टिका क्रममा म आर्यघाट पुगेको थिएँ । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, कामना न्यूज पब्लिकेसन्स्का पूर्व समाचार सम्पादक डा. महेन्द्र विष्टका पिताजीको सो दिन भएको अन्त्येष्टिका बेला पनि पशुपति आर्यघाटमा देखिएको दृश्यले ५ वर्षअघिकै स्मरण गरायो।
डा. विष्टका पिता मानबहादुर विष्टको ९१ वर्षको उमेरमा माघ ३ गते निधन भए पनि विदेशमा रहेका केही छोराहरुको पर्खाइमा भोलिपल्ट ४ गते अन्त्येष्टि गरियो । यस दिन पनि आर्यघाटका प्रायः चित्ता खाली थिएनन् । खोटाङको चुम्लुङमा जन्मनुभएका स्व. विष्टका राजेन्द्र, डा. महेन्द्र, जीवन, होमराज, अर्जुन गरी ५ छोरा र कमला एक छोरी सबै आ–आफ्ना क्षेत्रमा सक्रिय भएका कारण मलामी ठूलो संख्यामा थिए । पत्रकारिता क्षेत्रमा पनि डा. विष्टको योगदान रहिरहेका कारणसमेत सञ्चारकर्मीहरुको उपस्थिति अझ बाक्लो देखिन्थ्यो । यो माहोलमा नेपाल पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल टेलिभिजन, कामना न्यूज पब्लिकेसन्स्, इमेज च्यानल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षलगायतका पदाधिकारीहरु र आफन्तजनको पनि ठूलो संख्यामा उपस्थित थियो।
एकोहोरो शंख बजेसँगै मलामीहरुको मुहार मलीन र निन्याउरो थियो । छोरा–बुहारी, छोरी–ज्वाइँ, नाति–नातिनी, दाजु–भाइ, दिदी–बहिनी, आफन्तजनका आखाँबाट आँसुका धारा बगेका थिए । धेरै मानिस एकैपटक घाटमा पुग्दा ब्रह्मनालमा पालो पर्खिनुपर्ने अवस्था थियो । सामाजिक सञ्जालमा डा. विष्टले उहाँको बुबाको निधन भएको सन्देश राखेलगत्तै आफन्त, शुभचिन्तकहरुले समवेदना व्यक्त गर्ने, समाचार सन्देश राख्ने गरेका थिए । यिनै सूचना र सन्देशका आधारमा पशुपति आर्यघाटमा मलामीको ओइरो लागिसकेको थियो । श्रद्धाञ्जलि दिन प्रतीक्षामा रहेका शुभचिन्तकहरुले धैर्यधारण गर्दै पार्थिव शरीरलाई ब्रह्मनालमा राख्ने समय कुर्दै थिए । उता आफन्तजनहरु घाटमा अन्त्येष्टिका लागि आवश्यक तयारी गरिरहेका थिए । ५ नं. चित्तामा फूलै फूलले सजाउन डा. विष्टको निर्देशन पाएका आफन्तहरु जुटेका थिए।
आफन्तको अन्त्येष्टि कार्यका क्रममा आर्यघाट पुगेकाहरु पीडामा देखिन्छन् भने व्यापारीहरु जीविका चल्ने आशामा खुशी देखिन्छन् । कोही दुःखी हुँदा कसैलाई खुशीको क्षण आउँदो रहेछ । विद्युत्मा नेगेटिभ र पोजिटिभ भएपछि मात्र उज्यालोले खुशी ल्याउँछ भन्ने बुझेको थिएँ तर मानिसको मृत्युले पनि एकथरीलाई दुःखी बनाउँदा अर्कोको जीवन जिउने आधार तय हुँदो रहेछ।
त्यहाँको सजावट हेर्दा स्व. विष्ट एकपटक जुरुक्क उठेर हेर्नुहोलाजस्तो थियो । उता ब्रह्मनालमा परिवारजनले श्रद्धाञ्जलि दिएपछि अरुका लागि श्रद्धाञ्जलि दिन शवलाई सार्वजनिक रुपमा राखियो। सबैले लामबद्ध भएर स्व. विष्टको पार्थिव शरीरमा फूल–माला चढाई श्रद्धाञ्जलि अपर्ण गरे । त्यसपछि एकोहोरो शंख बजाउँदै शवलाई ५ नं. चित्तातर्फ छोराहरुद्वारा खटमा बोकेर लगियो। साथमा क्यामेरा म्यान त्यहाँको दृश्य कैद गर्न तल्लीन थिए।
यता फूल, माला, पिउने पानीजस्ता सामग्री बिक्रीका लागि जुटेका एक हुल खुद्रा व्यापारीहरु फूल लिनुस्, माला लिनुस्, पानी लिनुस् भन्दै मलामीहरुतर्फ आइरहेका थिए । यो उनीहरुको बाध्यता पनि थियो होला । यसो हेर्दा उनीहरुको बोलीबचन, व्यवहार बाध्यात्मकजस्तो देखिन्थ्यो । बोलीमा आएको टर्रोपना, चिडचिडाहट व्यवहारले उनीहरुको असहज जीवन बुझ्न गाह्रो पर्दैनथ्यो । हुन त घाटमा दैनिक जीवन चलाउन बस्नेहरुमा बाध्यात्मक र सहजता देखिन्छ नै । यस्ता व्यापारी मात्र नभएर पीडामा परेको परिवारको क्रन्दनलाई थाती राख्दै मलामीलगायत घाटमा शव व्यवस्थापन गरिरहेका व्यक्ति सधैँ खट्नुपर्ने बाध्यता छ । झट्ट हेर्दा लाग्छ, यिनीहरुको मन कति बलियो रहेछ।
घाटमा कसैको प्राणपखेरु उडेर चितामा निश्चल सुतेको अवस्था छ भने कोही प्राण बचाउन त्यहीँ व्यापार गर्न र दाहसंस्कारको काम गर्न जुटेका छन् । मानिस मात्र नभएर परेवाहरु पनि यत्रतत्र चढाएका जौ, तिल, अक्षता खाएर प्राण बचाउँदै छन् । बाँदरहरु खोलाको वारि–पारि गर्दै भक्तजनले केही दिन्छन् कि भन्ने आशमा नियाल्दै छन् भने पशुपति विकास कोषद्वारा सञ्चालित पसलहरुमा घाटमा चाहिने सामान बिक्री गर्नका लागि मानिसहरु व्यस्त देखिन्छन् । यता आफन्तको अन्त्येष्टि कार्यका क्रममा आर्यघाट पुगेकाहरु पीडामा देखिन्छन् भने व्यापारीहरु जीविका चल्ने आशामा खुशी देखिन्छन् । कोही दुःखी हुँदा कसैलाई खुशीको क्षण आउँदो रहेछ । विद्युत्मा नेगेटिभ र पोजिटिभ भएपछि मात्र उज्यालोले खुशी ल्याउँछ भन्ने बुझेको थिएँ तर मानिसको मृत्युले पनि एकथरीलाई दुःखी बनाउँदा अर्कोको जीवन जिउने आधार तय हुँदो रहेछ।
यत्रतत्र छरिएर रहेका मलामी चितामा जलेका शवहरु देखेर आखिर संसार यही त रहेछ नि भन्दै थिए । यता पशुपतिकै चहलपहलमा जीवन जिउने बानी परेकाहरु कहाँबाट पैसा झार्न सकिन्छ भनेर मौका खोजिरहेका थिए । त्यहाँ कोही सघाउन आएझैँ गरी स्टेचर, खट उठाएझैँ गर्दै क्षणभर धैर्य नराखी अघि मैले काम गरेको छु, पैसा दिनुस् भन्दै थिए । एकथरी पशुपति विकास कोषका कर्मचारी जसले हरेक दिन लास जलाउने र त्यही काम गरी जीवनयापन गर्दै आएका उनीहरु पनि मृतकका परिवारजनसँग लास जलाएको, चिता पखालेको खर्च दिनुस् भनी माग्दै थिए । कोही माग नै नगरी पानीका बोतल ल्याई छेउमा राखेर पुनः आफैँले लग्ने अनि यहाँ पानी चलाएको छ, पैसा दिनुस् भन्दै झगडा नै गरौँलाझैँ गरी अपशब्द बोल्दै थिए । कोही चिसो छ, चिया खानुस् भन्दै थिए। यो दुःखमा पनि धेरैले व्यापारको सम्भावना देखेका थिए । तर उनीहरुले गर्ने व्यवहार पटक्कै सुहाउने खालको थिएन। कसैले माग्दै नमागी सामान ल्याएर राख्ने अनि आफैँले उठाएर लैजाने र पुनः पैसा माग्ने, नदिए गालिगलौज गर्नेजस्ता असभ्य व्यवहार गर्ने खालका व्यापारीहरुलाई पशुपति विकास कोषलगायत राज्यले सभ्य र मर्यादित बनाउनेतर्फ चासो दिनु उचित होला।
यसका साथै पशुपति क्षेत्रमा तेस्रो लिंगी, अपांग, असहाय, गरिब, ज्येष्ठ नागरिक, सहाराविहीन नागरिकहरुले धार्मिक, सांस्कृतिक नाममा माग्ने, लखेट्नेजस्ता व्यवहारले पीडामा परेका व्यक्तिहरु थप पीडित हुनुपरेको अवस्था छ । यस्तो अवस्थामा राज्यको उपस्थिति र जिम्मेवारी बहन हुन सकेको देखिन्न । पशुपति क्षेत्र सबैको साझा धार्मिक क्षेत्र हो तर जथाभावी माग्ने, धम्क्याउने, धरपकड गर्नेजस्ता व्यवहार देखाएर पशुपतिको शोभालाई अशोभनीय बनाइँदै गरेको देखिन्छ । यसको सुधारका लागि सरोकारवाला निकायको ध्यान पुगोस् । पशुपतिनाथ सबैको आस्था र विश्वासको धरोहर हो।
देश–विदेशबाट आउने भक्तजनहरुले यो थलोबाट नेपाल चिन्छन् र नेपालीको स्वाभिमान चिन्छन्। त्यसैले नेपाल र नेपालीको पहिचान बोकेको महत्वपूर्ण धार्मिक स्थल परिसर स्वच्छ, सुन्दर, शान्त र सुरक्षित बनाई देशको साख बचाउनेतर्फ पशुपति विकास कोष, सरकार, महानगरपालिकालगायतका सरोकारवाला निकायको समयमै ध्यान पुगोस् । दान दिन र लिन इच्छा हुनेहरुका लागि आवश्यकताअनुसार निश्चित स्थान र समय तोकियोस् । व्यापार पनि व्यवस्थित र मर्यादित होस् ।











प्रतिक्रिया