लेखन, शब्दहरूको जालो बुन्ने कला हो । यो सिर्जनाको एउटा अद्भुत माध्यम हो, जसले लेखकलाई आफ्ना भावना, विचार र अनुभवहरूलाई शब्दहरूमा उतार्न मद्दत गर्छ । लेखनले लेखकलाई आफ्नै संसार निर्माण गर्न, नयाँ संसारको खोजी गर्न र अरूसँग आफ्ना विचारहरू साझा गर्नको लागि अवसर प्रदान गर्छ । तर लेखनको यो सुन्दर यात्रामा लेखकले विभिन्न किसिमका सन्तुष्टि र चुनौतीहरूको सामना गर्नुपर्छ।
लेखनले लेखकलाई अनेकौँ किसिमका सन्तुष्टि प्रदान गर्छ । लेखनले लेखकलाई आत्मअभिव्यक्ति सार्वजनिक गर्न प्रेरित गर्छ । यसले लेखकलाई आफ्नो भित्री संसारलाई बाहिर निकाल्न र अरूसँग साझा गर्नको लागि अवसर प्रदान गर्छ । त्यस्तै लेखनले लेखकको रचनात्मक पक्ष निखार्न मद्दत गर्छ । नयाँ विचारहरूको खोजी, कथाको निर्माण र पात्रहरूको विकासजस्ता क्रियाकलापहरूले लेखकको रचनात्मक पक्ष बलियो हुन्छ ।
लेखनले लेखकलाई समाजसँग जोड्न मद्दत गर्छ । राम्रो लेखनले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । लेखकको आत्मविश्वासलाई बढाउँदै आफ्ना विचारहरूलाई स्पष्टरूपमा व्यक्त गर्न सक्ने क्षमता विकास गर्छ । लेखनको यात्रामा लेखकले विभिन्न किसिमका चुनौतीहरूको सामना गर्नुपर्छ । त्यसमा प्रथमतः विषयवस्तुको चयन तथा शब्द खोज्ने चुनौती पनि हुन्छ । आफ्ना भावना र विचारहरूलाई सही शब्दहरूमा उतार्नु सजिलो काम होइन । कहिलेकाहीँ लेखकलाई भावनाको सिलसिलाबद्ध यात्रामा सही शब्द खोज्न निकै गाह्रो हुन्छ ।
एक राम्रो लेखक बन्नको लागि निरन्तर अभ्यास र प्रयास आवश्यक पर्छ । लेखन शैलीको विकास गर्न समय लाग्छ । लेखकले आफ्नो लेखनको लागि सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रियाहरू पाउँछ । कतिपय पाठकहरूले लेखकको लेखनलाई मन पराउँछन् भने कतिपयले आलोचना पनि गर्छन् । त्यस्तै लेखनको सबैभन्दा महत्वपूर्ण पक्षमध्येको एक सम्पादन हो । आफ्नो लेखनलाई पूर्णता दिनको लागि लेखकले बारम्बार सम्पादन गर्नुपर्छ ।
लेखकले आफ्नो लेखनको लागि विभिन्न किसिमका आलोचना र आरोपहरूको सामना गर्नुपर्छ । कतिपय आलोचनाहरू सकारात्मक हुन्छन् । त्यसले लेखकलाई आफ्नो लेखनलाई सुधार गर्न मद्दत गर्छ । कतिपय आलोचनाहरू व्यक्तिगत प्रहारका लागि गरिएका हुन सक्छन् । लेखकले यस्ता आलोचनाहरूलाई सकारात्मकरूपमा लिन सिक्नुपर्छ ।
लेखकको समाजमा महत्वपूर्ण भूमिका हुन्छ । लेखकले आफ्नो लेखनमार्फत समाजलाई सकारात्मक सन्देश दिन सक्छ । लेखकले समाजका विभिन्न समस्याहरूको बारेमा लेखेर जनचेतना जगाउन सक्छ । लेखकले सत्यको पक्षमा बोल्न सक्छ । लेखकले समाजलाई एकताबद्ध बनाउन सक्छ ।
लेखन एक जटिल र रोमाञ्चक प्रक्रिया हो । यसमा सन्तुष्टि र चुनौती दुवै हुन्छन्। एक सफल लेखक बन्नको लागि निरन्तर प्रयास, धैर्य र समर्पण आवश्यक पर्छ । लेखकले आफ्नो लेखनमार्फत समाजलाई सकारात्मक योगदान दिन सक्छ।
वास्तवमा लेखन एक पवित्र यात्रा हो । आफ्ना भावना, अनुभव र विचारहरूलाई शब्दहरूमा उतार्ने यो कलात्मक अभिव्यक्तिले हामीलाई अरूसँग जोड्छ । लेखनले हामीलाई आफैँलाई बुझ्न र संसारलाई नयाँ दृष्टिकोणले हेर्न मद्दत गर्छ । लेखनको यो सुन्दर पक्षसँगै यसमा आरोप र विवाद पनि जोडिएका हुन्छन् । लेखनको सन्तुष्टि मात्र होइन, आरोप सहन पनि हामी तयार हुनुपर्छ ।
लेखक हुनु भनेको आफ्ना विचारहरूलाई सार्वजनिक गर्नु हो । जब हामी आफ्ना विचारहरूलाई सार्वजनिक गर्छौं, त्यस बेला हामी अरूको आलोचना र टिप्पणीको निशाना बन्न सक्छौँ । हाम्रा विचारहरू सबैलाई मन पर्न सक्दैनन् । कसैलाई हाम्रा विचारहरू मन पर्न सक्छन् भने कसैलाई मन पर्न सक्दैनन् । यो स्वाभाविक हो । तथापि यसको अर्थ यो होइन कि हामीले आफ्ना विचारहरू व्यक्त गर्न डराउनुपर्छ ।
लेखक हुनु भनेको एक्लो यात्रा हो । हामी आफ्ना विचारहरूलाई शब्दहरूमा उतार्न धेरै समय बिताउँछौँ । हामी अरूको प्रतिक्रियाको पर्खाइमा बस्छौँ । कहिलेकाहीँ हामीलाई लाग्न सक्छ कि हामी एक्लै छौँ । तर यो सत्य होइन । लाखौँ मानिसहरू छन् जसले हाम्रा लेखनहरू पढ्छन् र लेखकलाई बुझ्छन् ।
लेखक हुनु भनेको निरन्तर सिक्ने प्रक्रिया पनि हो । हामी लेखनको माध्यमबाट आफैँलाई निखार्न सक्छौँ । हामी अरूबाट सिक्न सक्छौँ । हामी आफ्ना गल्तीबाट सिक्न सक्छौँ । अन्ततः लेखनले हामीलाई जीवनको अर्थ खोज्न मद्दत गर्छ । सामाजिक उत्तरदायित्व पनि लेखकले बहन गर्नुपर्छ । हामी लेखनको माध्यमबाट समाजलाई सकारात्मक परिवर्तन ल्याउन सक्छौँ । हामी समाजका समस्याहरूलाई उजागर गर्न र समाजलाई सचेत बनाउन सक्छौँ ।
लेखक हुनु भनेको चुनौतीपूर्ण काम हो । यसमा धेरै उतार–चढाव आउँछन् । यो एकदमै सन्तुष्टिदायी काम पनि हो । जब हामी कुनै राम्रो लेखन सिर्जना गर्छौँ, त्यस बेला हामीलाई लाग्छ कि हामीले केही गरेका छौँ । हामीले समाजलाई केही दिएका छौँ ।
लेखनको यात्रामा हामीलाई धेरै आरोपहरूको सामना गर्नुपर्ने हुनसक्छ । तर हामीले यी आरोपहरूलाई व्यक्तिगतरूपमा लिनुहुँदैन । हामीले यी आरोपहरूलाई सकारात्मकरूपमा लिनुपर्छ । यी आरोपहरूले हामीलाई आफैँलाई सुधार्नको लागि प्रेरित गर्न सक्छन् ।
यस्तो लाग्छ, जीवन कुनै पुस्तक हो, जहाँ प्रत्येक पानामा कुनै न कुनै कथा लेखिएको छ । केही कथाहरू हृदयविदारक हुन्छन्, केही प्रेरणादायी । केही भने केवल समयको धूलोले छोपिएका झझल्का मात्र । तर तिनको महत्त्व जीवनका भोगाइहरूको दस्तावेजीकरणमा हुन्छ । ती दस्तावेजहरूले हामीलाई जीवनलाई बुझ्न र भविष्यका लागि तयारी गर्न सहयोग पुर्याउँछन्।
लेखन एक सुन्दर कला हो । यस कलाको माध्यमबाट हामी आफ्ना विचारहरूलाई संसारसँग बाँड्न सक्छौँ । लेखनको सन्तुष्टि मात्र होइन, आरोप सहन पनि तयार हुनुपर्छ । किनभने सत्य बोल्नेलाई सधैँ आरोप लाग्ने गर्छ। लेखन समयको दस्तावेज हो । यसले अनुभूतिमय अतीत, वर्तमान र जीवनको कथा बोलिरहेको हुन्छ, लेखिरहेको हुन्छ । समय, जीवनको अदृश्य धार हो, जसले हाम्रो अस्तित्वलाई धारिलो बनाउँदै, इतिहासको पानामा अमिट दस्तावेजहरूको शृङ्खला लेखिरहेको हुन्छ । समयलाई कसैले देख्न सक्दैन, तर यसको प्रभाव भने अनुभूति गर्न सकिन्छ– क्षण, पल र कालखण्डहरूमा । यसै अदृश्य तत्वले मानव सभ्यता, संस्कृति र जीवनलाई परिभाषित गरेको छ । समयको दस्तावेज भनेको समयले सिर्जना गरेको त्यो अक्षय गाथा हो, जुन हरक्षण लेखिँदै छ ।
समयको दस्तावेज मानवीय अनुभवको संकलन हो । प्रत्येक व्यक्तिले आफ्नो जीवनका क्षणहरूमा अनुभव गरेको सुख, दुःख, सफलता र असफलताले समयको दस्तावेजलाई भरपूर बनाउँछ । इतिहासका किताबहरू, साहित्यका कृतिहरू र कला–संस्कृतिका अवशेषहरू, सबै समयका दस्तावेजकै रूपमा जीवित छन् । ती दस्तावेजहरूमा समयको स्वरूप, त्यसको गति र त्यसले निम्त्याएको परिवर्तन देख्न सकिन्छ । समय कुनै विशिष्ट रूप वा अवस्था होइन, यो सतत परिवर्तनशील छ । युगहरू परिवर्तन भए, साम्राज्यहरू बने र ढले, तर समयले आफ्नो यात्रा कहिल्यै रोकेन । प्राकृतिक घटना, वैज्ञानिक आविष्कार, राजनीतिक परिवर्तन र सांस्कृतिक आन्दोलनहरू समयका पानामा दर्ज भएका अंशहरू हुन् । यी सबै घटना समयका दस्तावेजहरू हुन्, जसले मानवीय सभ्यताको क्रमिक विकासको कथा सुनाउँछ ।
समयको दस्तावेज विगतको दर्पण मात्र होइन, यो भविष्यको मार्गदर्शन पनि हो । विगतका अनुभव, सफलता र त्रुटिहरूको दस्तावेजले मानिसलाई वर्तमानमा सुधार गर्ने र भविष्यलाई उज्यालो बनाउने प्रेरणा दिन्छ । समयको सही मूल्यांकन नगर्नेहरू आफ्नो जीवनमा गम्भीर असर बेहोर्न बाध्य हुन्छन् । यस दस्तावेजको एउटा अर्को महत्वपूर्ण पक्ष भनेको मानवीय संवेदनालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा रहेको छ । साहित्य, कविता, चित्रकला र संगीतजस्ता रचनात्मक कार्यहरूले समयका दस्तावेजलाई थप जीवन्त बनाउँछन् । मानव जीवनका भावना, आकांक्षा र संघर्षका आयामहरू यी माध्यमहरूबाट अमर बनाइन्छ ।
समयको दस्तावेज भौतिक र लिखितरूपमै मात्र सीमित हुँदैन । यो हामीभित्र पनि रहेको छ– हाम्रो स्मृतिमा। मानिसको सम्झना, अनुभव र दृष्टिकोण समयको व्यक्तिगत दस्तावेज हो । हामीले कसरी जीवनलाई हेर्छौं, हाम्रो उद्देश्य र सपना के हो, हामीले के सिकेका छौं– यी सबै व्यक्तिगत स्तरमा समयका दस्तावेज हुन् । लेखनका विषय पनि यिनैबाट प्रेरित हुन्छन्।
अन्ततः समयको दस्तावेज सम्पूर्ण जीवनको सार हो । यो हामीलाई हाम्रो अस्तित्व र यात्राबारे चिन्तन गर्न प्रेरित गर्छ । समयले लेखेका प्रत्येक अक्षरमा मानिसका भावना, संघर्ष र विजयका अध्यायहरू संकलित हुन्छन् । यसलाई पढ्न, बुझ्न र सम्मान गर्न सक्नेहरूले मात्र समयको सही महत्वलाई आत्मसात् गर्न सक्छन् । समयसँगै हामीले पनि यस दस्तावेजमा केही अर्थपूर्ण पृष्ठ थप्न सक्यौं भने, जीवन वास्तवमै सार्थक हुनेछ ।
जीवनको प्रत्येक पल, अनुभूति र मोड एक दस्तावेजजस्तै हो, जसले समयको कथा बोल्छ । बार्दलीमा उभिएर बाडुली लाग्ने गरी सम्झिनु– यो केवल क्षणहरूको पुनरावृत्ति मात्र होइन । भावनाहरूको उद्वेग हो । कहिलेकाहीँ हामी सोच्छौं, यसरी सम्झिनु हाम्रो धर्म हो कि बाध्यता ? उत्तर स्पष्ट नभए पनि, सम्झनु हाम्रो अस्तित्वसँग गाँसिएको सत्य हो । हरेक मान्छेको जीवनमा अतीत र वर्तमानको सन्तुलन हुन्छ । अतीत गुरुजस्तै हो, जसले अनुभवको पाठ दिन्छ । वर्तमान पाठशाला हो, जहाँ ती पाठहरूलाई व्यवहारमा उतारिन्छ । जब यी दुवै मिलेर अघि बढ्छन्, मानिसको व्यक्तित्व परिपक्व बन्छ । समयको आँधीले ल्याएका र बगाएका ती अनेकौं घटनाहरू हामीलाई सिकाउँदै, सोच्न बाध्य पार्दै, तिनले कति कुरा सम्झिन र भुल्न सिकाउँछन्।
जीवनको यात्रा घटनाहरूको सिलसिला मात्र होइन, ती घटनाहरूसँग जोडिएका भावनाहरूको अन्तरयात्रा पनि हो । झ्यालबाट देखिने घुम्ती र मोडहरूले हाम्रो विगतलाई झल्काउँछन् । ती निष्प्राण देखिए पनि, ती हाम्रा अनुभूतिहरूका मौन साक्षी हुन् । समयले सँगालेर राखेका ती मोडहरू हामीले हाँस्दै, खेल्दै र कहिलेकाहीँ रोएर बिताएका ती अविस्मरणीय क्षणहरूका प्रतीक हुन् ।
यस्तो लाग्छ, जीवन कुनै पुस्तक हो, जहाँ प्रत्येक पानामा कुनै न कुनै कथा लेखिएको छ । केही कथाहरू हृदयविदारक हुन्छन्, केही प्रेरणादायी । केही भने केवल समयको धूलोले छोपिएका झझल्का मात्र । तर तिनको महत्त्व जीवनका भोगाइहरूको दस्तावेजीकरणमा हुन्छ । ती दस्तावेजहरूले हामीलाई जीवनलाई बुझ्न र भविष्यका लागि तयारी गर्न सहयोग पुर्याउँछन्।
यसरी अतीतलाई सम्मान गर्दै, वर्तमानलाई जिउँदै र भविष्यलाई आँटसँग स्वागत गर्ने कला नै जीवन हो । त्यही जीवनको सन्तुष्टि र चुनौती नै लेखन हो । हाम्रा अभिव्यक्ति हुन् । यो कर्म हामीले हरेक दिन बारम्बार अभ्यास गर्नुपर्छ, किनभने समयको दस्तावेज हाम्रै भावनाहरूको प्रतिविम्ब हो ।











प्रतिक्रिया