काठमाडौँ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज सम्पन्न स्ववियु परिषदको बैठकले कार्यकारी परिषदमा सिफारिस गर्ने निर्णय गरेको हो। उक्त बैठकले स्ववियु निर्देशिका, र कार्यतालिका बनाउने निर्णय गरेको छ।
बैठकले निर्वाचन कार्यविधि र तालिका पारित गरी कार्यकारी परिषदलाई पेस गरेको छ । शुक्रवार बसेको बैठकमा परिषद्का दुई सदस्य उपस्थित नभएपछि आज सोमबार बैठक बसेको हो । परिषद्को अध्यक्ष रेक्टर हुने व्यवस्था छ भने उपाध्यक्षमा रजिस्टार रहने व्यवस्था छ।
परिषद्का सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक सदस्यसचिव रहने व्यवस्था छ । शुक्रवार रोकिएको बैठकले आज कार्यविधि र तालिकालगायतका विषयमा निर्णय गरोको हो ।
शिक्षाध्यक्षको अध्यक्षताको परिषद्मा उपाध्यक्ष रजिस्टार र सदस्यहरूमा ३ स्ववियु सभापति, ३ डीन र ३ क्याम्पस प्रमुख रहने व्यवस्था छ । स्ववियु सभापतिको तर्फबाट ताहाचल क्याम्पसका स्ववियु सभापति ईश्वर थापा, अस्कलका प्रेम जैसी र पदमकन्या क्याम्पसकी स्ववियु सभापति ज्योति पनेरु रहेका छन् । परिषद्को सदस्यसचिवमा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक रहने व्यवस्था छ ।
दुई जना स्ववियु सभापति र एक डीन उपस्थित नभएका कारण शुक्रबार बैठक बस्न नसकेको हो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचनको कार्यविधि र तालिका सार्वजनिक गर्न परिषद्को बैठक बोलाएको थियो ।
निर्देशनालयले बैठकपछि विद्यार्थी संघसंगठनसँग छलफल गर्नेछ । सो छलफललगत्तै तालिका सार्वजनिक गर्नेछ । कम्तीमा निर्वाचन हुनु एक महिनाअघि तालिका सार्वजनिक गर्नुपर्छ । सोही आधारमा निर्देशनालयले परिषद्को बैठक बोलाएको हो । गत वर्ष सम्पन्न त्रिविसभा बैठक (सिनेट) को निर्णयको आधारमा फागुन १५ गते निर्वाचन गर्ने निर्णय भएको थियो । तर, फागुन १५ मा निर्वाचन गरिने भनिएकोमा दुई बर्से कार्यकाल नपुग्ने भएपछि निर्वाचनको मिति पछाडि सारिने भएको हो।
कार्यकारी परिषद्को बैठकले निर्णय अनुमोदन गरेसँगै निर्वाचन प्रक्रिया अघि बढ्नेछ । निर्देशनालयले त्यसपछि विद्यार्थी संघसंगठनसँग छलफल गरी माघ १५ गतेभित्र कार्यतालिका सार्वजनिक गर्नेछ ।
उपकुलपति प्राडा केशरजंग बरालले नीति तथा कार्यक्रममा पारित गर्दा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख गरेका थिए । त्रिविले जारी गरेको शैक्षिक क्यालेन्डरमा समेत फागुन १५ गते स्ववियु निर्वाचन गर्ने उल्लेख छ । स्ववियु पदाधिकारीको दुईवर्षे कार्यकाल सकेसँगै त्रिविले स्ववियु निर्वाचन प्रक्रिया शुरू गर्न लागेको हो । ‘दुई वर्षअघि स्थगित भएका उपत्यकाको ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गर्ने तयारी छ । स्थगित भएका र दुईवर्षे कार्यकाल पूरा भएका सबै क्याम्पमा स्ववियु निर्वाचन हुने निर्देशक अधिकारीले बताए ।
गतवर्ष देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १५ मा निर्वाचन गर्ने उल्लेख छ । त्रिविले सामानुपातिक र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन गर्ने भएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनेछन् । उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य सामानुपातिक प्रणालीमार्फत चुनिनेछन् । निर्वाचनमा भाग लिने स्ववियु पदाधिकारी र सदस्यको उमेर हद २८ वर्ष नै कायम हुने गरी तयारी थालेको छ ।
अझै करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । यसैबीच त्रिविले स्नातक तहको भर्ना बन्द गरेको ९ दिन दिन बित्न नपाउँदै फेरि भर्ना खोल्ने निर्णय गरेको छ । विद्यार्थी संघसंगठनको दबाब थेग्न नसकेपछि आज सोमबारबाट ११ गतेसम्मका लागि भर्ना खोल्न निर्देशन दिएको छ ।
रेक्टर कार्यालयले सबै डीनको कार्यालयलाई पत्राचार गरी भर्ना खोल्न निर्देशन दिएको हो । त्रिविले स्ववियु लक्षित कार्यक्रममा प्रभाव पर्न सक्ने उल्लेख गर्दै पुस २८ बाट भर्ना बन्द गराउने निर्णय गरेको थियो । फेरि भर्ना खोल्ने निर्णयसँगै क्याम्पसमा स्नातक तहको भर्ना गर्नेको भीड लाग्ने भएको छ।











प्रतिक्रिया