आजकल विश्वमा को कति कसरी खुशी हुन्छ भनेर खुशीलाई नाप्न थालिएको छ । यथार्थ खुशी आत्मिक र प्राविधिक दुई तवरले मापन गर्नुपर्ने हुन्छ। ‘खुशीको गोरेटो’ पुस्तकको विमोचनले जीवनमा खुशी पाउन र नाप्न खोज्नेहरुलाई एउटा अवसर दिएको छ।
महान् राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले ‘तिमीलाई राष्ट्रहितमा निर्णय लिने बेलामा दुविधा भयो भने देशको माटो समातेर सोच, तिमीले सही निर्णय गर्न सक्छौ’ भन्नुभएको थियो। यस्तै, खुशी कसरी प्राप्त हुन्छ भन्ने दोधारमा पर्न गएको अवस्थामा कृष्णहरि बास्कोटाले लेख्नुभएको ‘खुशीको गोरेटो’ पढ्न सके निकास सहजै निकाल्न सकिन्छ।
पुस्तक पढ्दै जाँदा लेखकले किताबी ज्ञानका साथै मान्छे र मान्छेको व्यवहारलाई पढेर ‘खुशीको गोरेटो’ लेखेको स्पष्ट अनुभूत हुन्छ। झलक्क हेर्दा नै पुस्तकको बनोट, शीर्षक शान्त, आकर्षक र यथार्थमा खुशीको स्रोतै भएझैँ लाग्छ। लेखकले हरेक शब्द र वाक्य मानवजीवनलाई केन्द्रमा राखेका रचना गरेका छन्। यो पुस्तक कुनै स्थापित विधा कविता, कथा, नाटक, उपन्यास नभएर साहित्यको एक नयाँ विधा ‘अनुभवगाथा’ हो भन्दा अत्युक्ति हुँदैन।

मानवजीवनको यात्रामा धेरै गोरेटाहरुको चोक र चौतारीमा पुग्दा कुन गोरेटो समात्ने भन्ने दोधार र तेधारहरु मनमा उम्रन्छन्। गोरेटोमा यात्रा गर्दै जाँदा भिन्न–भिन्न अनुभूति र प्राप्तिहरु हुन्छन् । सुख इन्द्रिय जनित हो भने खुशी आन्तरिक मनको उपज हो। पुस्तकमा उल्लिखित खुशी प्राप्त गर्ने चौबीस गोरेटाहरु लेखक स्वयं हिँडिसकेर रचना गरेको अनुभूति हुन्छ। लेखकले सकारात्मक सोच, विनयशीलता, त्याग, सहनशीलता, सन्तोष र उद्यमशील कर्मलाई खुशीका तत्वहरु मानेका छन्।
खुशी नितान्त व्यक्तिगत कुरा हो । कोही एउटा कुराले धेरै खुशी हुन्छ भने अर्को त्यही कुराले कम खुशी वा खुशी नै नहुन पनि सक्छ । यस पुस्तकका हरेक अनुभवसिद्ध प्रसंगहरु पढ्दापढ्दै पाठकलाई खुशी पाउन उत्निखेरै केही त अभ्यास गरुँ–गरुँ बनाउन लेखक पूर्णरुपमा सफल देखिन्छन् ।
मानिसको जीवनमा यात्राका अनेकन घुम्तीहरु हुन्छन् । मनमा लागेको कुरा ठाडै राख्ने हक्की स्वभावका लेखक आफ्नो पुस्तकमा पनि जीवन यात्राका घुम्तीहरु अल्छी र नकारात्मक सोच भएका व्यक्तिहरुले कहिल्यै पार लगाउन नसक्ने ठोकुवा गर्न पछि पर्दैनन् । पेसाको धर्मपालन गरेर कार्य गर्ने, अर्काको भलो चाहने र अर्कालाई दिन सक्ने बानी र व्यवहारबाट खुशी प्राप्त हुने रहस्य लेखकले पाठकको अगाडि फुकाइदिएका छन्। विनयशीलता मानिसलाई चिनाउने प्रमुख आधार हो भन्दै लेखक विनयशीलताले विनयशीलता कमाउने विश्वास गर्दछन् । आफूलाई चिनाउन असल कर्म गर्न प्रेरित गर्दै सकारात्मक सोच राखेर धर्म, कानुन र विधिपूर्वक घर वा अफिसको काम गर्दा कहिल्यै दुःखी हुनु नपर्ने तथ्य लेखकले उद्घोष गरेका छन्।
मानिसले आडम्बर भरिएको मन लिएर हिँड्यो भने सुख प्राप्त गर्दैन । मानिस जन्मदा दुष्ट हुँदैन, दुष्ट बनाइन्छ । हाम्रो समाजमा आफ्नो उन्नतिको साटो अर्काको अवन्नतिमा रमाउने, अर्काको खुशीमा जल्ने मनोवृत्ति रहेकोप्रति लेखक अत्यन्त दुःखी भएको देखिन्छ । सकारात्मक सोचभित्र रहेको सफलताको रहस्य खोल्दै लेखक जो मानिस सकारात्मक सोचतर्फ अग्रसर हुन्छ उसैलाई सफलता मिल्छ, उसैले खुशीको पोको पाउन सक्छ भनेर ठोकुवा पनि गर्छन्।
‘खुशीको गोरेटो’ पुस्तकमा लेखकले आफ्ना पाठकलाई खुशी बाँड्न चाहेको स्पष्ट अनुभव हुन्छ । घृणाले घृणा हटाउन सक्दैन । घृणा प्रेमले मात्र हटाउन सक्छ। घृणा पालेर कोही पनि खुशी हुँदैन। खुशीको अभ्यासले खुशी प्राप्त हुन्छ । सफल हुन्छु भन्ने तर कर्म भने विपरीत खालको गर्ने हो भने सफलता हात पार्न सकिँदैन। आफ्नो आदर होस् भन्ने चाहनेले पहिले अर्काको आदर गर्न सक्नुपर्छ । मानिसका शत्रुहरु रिस, शंका, तनाव, अहंकार, लोभ र अभिमान हुन्। रिसाउने बानी मात्रै छोड्न सक्यो भने खुशी खोज्न कतै जानुपर्दैन भन्दै लेखक भौतिक सुविधामा रमाउने आजको पुस्ताले यसको अभावमा उपलब्ध सुविधामा नै सन्तोष लिन सक्ने हो भने खुशी खोज्न अत्तालिनुपर्दैन भन्ने मत राख्छन्।
सन्तुष्टि कसरी प्राप्त गर्न सकिन्छ भन्ने जिज्ञासा खोतल्दै लेखक आफ्नो पुस्तकमा नैतिकता, सत्मार्ग, सतविचार, सदाचार र सत्संगतले सन्तुष्टि पाइने गुह्य कुरा सबैसामु छर्लंग पारिदिएका छन् । यदि कुनै मानिस आफ्नो नातेदार वा वस्तु वा परिणामप्रतिको अत्यधिक आशक्त छ भने त्यसले दुःखी बनाउँछ । बितेको समय सम्झेर विरक्तिने वा भविष्य सम्झेर कहालिने मानिसलाई लेखक कर्म गर्ने अधिकार मात्र हामीसँग छ तर फलको आशा गर्ने अधिकार हामीसँग छैन भन्दै पवित्र गीताको भाष्य सम्झाउन पुगेका छन् । आफैँले आफैँलाई नचिन्ने मान्छेले कहिल्यै उन्नति गर्न सक्दैन भने प्राप्त अवसर छुटाउने मान्छे पनि कहिल्यै सफल हुन सक्दैन । लेखकले ‘खुशीको गोरेटो’ पुस्तकमार्फत भूलोकमा मानिस मात्र यस्तो प्राणी हो जो वर्तमानमा रमाउन सक्दैन भन्ने सन्देश दिएका छन् ।
हरेक मानिसको जीवनमा यस्तो घडी आउँछ जब ऊ गरिआएको काम र जिम्मेवारीबाट अवकाश हुन्छ । अवकाश हुँदैमा जीवन सकिने होइन । अवकाशपछिको जीवनलाई अर्को नयाँ चरण मानेर सक्रिय हुँदै जानुपर्छ भनेर हौसला दिन यो पुस्तक सक्षम रहेको छ । वर्तमान मानव प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै खुशी हुने अवसरका स्रोत घटेका छैनन्, सोच, व्यवहार, प्रतिस्पर्धी आकांक्षा, डाह र ईष्र्या भरिएकाले घटेको जस्तो देखेकोले आत्मा र मन शुद्ध बनाएर विधिसम्मत अनुकरणीय कार्य गरी समाजको रोलमोडल बन्न लेखक पाठकहरुलाई प्रेरित गर्छन् ।
‘खुशीको गोरेटो’ पुस्तक सकारात्मक सोचको खोज र विकासमा निर्लिप्त छ । लेखक भन्छन्, ‘सकारात्मक कार्य गर्दै जाँदा खुशी बढ्दै जान्छ । खुशीको अभ्यासले खुशी ल्याउँछ । मानिसको जीवनमा कोही न कोही शत्रु हुन्छन् । शत्रुसँग रिसाउने वा ईख लिनेभन्दा त्यही शत्रुसँग मित्रता गाँसिदिने हो भने शत्रुता आफैँ नाशिएर जान्छ र खुशी प्राप्त हुन्छ ।’ नकारात्मक सोच राख्यो वा शक्तिको घमण्ड पाल्यो भने सफलता होइन, असफलताको सिकार बन्न पुगिन्छ र खुशीको ठाउँमा दुःखको बास हुन्छ भन्दै लेखकले पाठकलाई दृष्टान्तसहित सचेत गराएका छन् । सकारात्मक सोचले विश्वास, प्रेम, शान्ति, प्रेरणा, उत्साह, आनन्द, सन्तुिष्ट र सिर्जनशीलता जागृत गर्दछ भने नकारात्मक सोचले दुःख, बेइमानी, चिन्ता, निराशा, लोभ, ईष्र्या, छटपटी, उदासीनता, एक्लोपन, ल्याउने गर्दछ । त्यसैले खुशी हुन सकारात्मक सोचको विकास अपरिहार्य हो भन्ने दीक्षा दिन पुस्तक सफल छ।
सत्य तीतो हुन्छ, स्वाद लिन कठिन । सत्य असहज हुन्छ, पचाउन कठिन । सत्य अप्रिय हुन्छ, सुन्न कठिन तर सत्यको विकल्प सत्य मात्रै हो । सत्यमा नै खुशी छ । सादा जीवनमा बाँच्दैमा सत्य हराउँदैन । सादा जीवनमा बाँचेर रमाउँदै खुशी रहन यस पुस्तकले ठाउँ–ठाउँमा प्रेरित गरिरहन्छ । त्यागलाई खुशीको आधार मान्दै मानिस अरुसँग लिएर भन्दा अरुलाई दिएर बढी खुशी हुने अनुभव हामीसँग शेयर गर्न लेखक चुकेका छैनन् । समयको पालना सुख र खुशीको स्रोत भएको हेक्का दिलाउँदै यस पुस्तकले समय व्यवस्थापनको महत्वलाई उजागर गरेको छ । सरकारको उच्च पदबाट अवकाश लेखकले उच्च पदस्थ पदाधिकारीले सही समयमा सही निर्णय गर्न नसक्दा अपूरणीय क्षति हुने गरेको तथ्य निकाल्दै समयमा गरिने निर्णय पनि खुशीको स्रोत भएको पुष्टि गरेका छन् ।
पुस्तक लेख्ने क्रममा लेखक धेरै मानिसलाई आफूले के गर्न सक्छु भन्ने विश्वास आफैँमा नभएको निष्कर्षमा पुगेको देखिन्छ । आफूप्रतिको विश्वास नै जीवनको भरोशा हो । आफ्नो क्षमता चिन्न र आफूप्रति विश्वास गर्न लेखकले ‘खुशीको गोरेटो’ पुस्तकमा धेरै दृष्टान्त दिएका छन् । मानिस चरित्रले चिनिएको हुन्छ । सच्चरित्रवान्लाई खुशी खोज्न कतै जानुपर्दैन भन्दै लेखकले चरित्रको रक्षा गर्न सकिएन भने सफलता र खुशी एकैसाथ गुमाउनुपर्छ भनी आफ्ना पाठकलाई सचेत गराएका छन् । खुशी खोजेर पाइने वस्तु होइन, खुशी गन्तव्य पनि होइन, खुशी त एक निरन्तर चलिरहने यात्रा हो भन्दै एक व्यक्तिले ८० वर्षसम्म पनि खुशी खोज्दा नपाएर खोज्न छोडेपछि मात्रै खुशी भेट्टाई दंग परेको रोचक दृष्टान्त पुस्तकमा पढ्न पाइन्छ ।
मानिस असल वा खराब, दुःखी वा खुशी के हुने त्यो व्यक्तिको आफ्नै कर्म वा बुद्धिमा निर्भर गर्दछ भन्दै लेखकले विभिन्न उदाहरणमार्फत पाठकलाई बुद्धिमानी कार्य गर्न सन्देश पस्किएका छन् । ‘खुशीको गोरेटो’ पुस्तकले जस्ताको संगत गर्यो उस्तै फल मिल्ने तथ्य देखाउँदै खुशी खोज्नेहरुले खुशी प्राप्त हुने राम्रो संगत छनोट गर्न चुक्न हुँदैन भन्ने सत्य पनि उद्घाटन गरेको छ। निदाएको बेला देखेको सपना सपना होइन, दिउँसै ननिदाएको बेला सपना देख्ने र सो सपना पूरा गर्न इमानदार भएर कर्म गर्नाले सफलता हात पर्छ, सफलताले आफैँ खुशी बोकेर ल्याउँछ भन्ने यथार्थ चित्रण पुस्तकमा गरिएको छ।
‘खुशीको गोरेटो’ पुस्तक मानिसको जिन्दगीको वरिपरि घुमेको छ । १८८ पेजको पुस्तक खुशी पाउने उत्प्रेरणाले भरिएको एउटा पोखरी हो । हरेक शीर्षकहरु एउटा–एउटा सन्देशले भरिपूर्ण छन् । पढ्दै जाँदा हरेक वाक्यमा खुशी प्राप्त गर्ने स्रोत भेटिन्छ। लेखकले प्रत्येक शीर्षकमा सयभन्दा बढी रोचक र छोटा कथा, अनुभव र प्रसंग जोडेर लेखाइलाई आकर्षक एवं मिठासपूर्ण बनाएका छन् । यो लेखकको लेख्ने उच्च कुशलता र खूबीको परिचय हो। दैनिक जीवनका भोगाइहरुको अनुभवबाट सकारात्मक सोचको सैद्धान्तिक जलप लगाउँदै रचना गरिएका पुस्तकका हरेक हरफले गहन अर्थ र मर्म बोकेका छन् । छोटा वाक्य, सरल भाषा, मर्मस्पर्सी शब्द, सरल विषयवस्तु, विषयवस्तुभित्र गहन रहस्य बुझ्न पाइन्छ।
पुस्तक पढ्दापढ्दै जीवन निर्माणका लागि अनेक प्रेरक शिक्षा लिन सकिन्छ । पुस्तक संग्रहणीय छ। मूल्य पनि धेरै छैन। विवाह, व्रतबन्ध वा भेटघाट वा अन्य उत्सवमा उपहार दिन योग्य छ। यथास्थितिको जीवनमा परिवर्तन ल्याउन र हरेक मानिसलाई म केही गर्न सक्छु भन्ने आत्मविश्वास दिन ‘खुशीको गोरेटो’ पुस्तक पूर्णरुपले सफल छ । लेखकलाई मुरीमुरी बधाई !











प्रतिक्रिया