आज बस्ने स्ववियु परिषद् बैठकले निर्देशिका र तालिका पास गर्ने तयारी

32.81k
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु परिषद्को दोस्रो बैठक आज बस्ने भएको छ । बैठकले निर्वाचन कार्यविधि र तालिका पारित गरी कार्यकारी परिषदलाई पेस गर्ने भएको छ । शुक्रवार बसेको बैठकमा परिषद्का दुई सदस्य उपस्थित नभएपछि आज सोमबार बैठक बस्ने भएको हो। परिषद्को अध्यक्ष रेक्टर हुने व्यवस्था छ भने उपाध्यक्षमा रजिस्टार रहने व्यवस्था छ।

परिषद्का सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक एवं परिषद्का सदस्यसचिव रहने व्यवस्था छ । शुक्रवार रोकिएको बैठकले आज कार्यविधि र तालिकालगायतका विषयमा निर्णय गर्ने सम्भावना छ । शुक्रवारको बैठकमा पद्मकन्या क्यापस स्ववियु सभापति ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु सभापति प्रेम जैसी अनुपस्थित थिए ।
शिक्षाध्यक्षको अध्यक्षताको परिषद्मा उपाध्यक्ष रजिस्टार र सदस्यहरूमा ३ स्ववियु सभापति, ३ डीन र ३ क्याम्पस प्रमुख रहने व्यवस्था छ । स्ववियु सभापतिको तर्फबाट ताहाचल क्याम्पसका स्ववियु सभापति ईश्वर थापा, अस्कलका प्रेम जैसी र पदमकन्या क्याम्पसकी स्ववियु सभापति ज्योति पनेरु रहेका छन् । परिषद्को सदस्यसचिवमा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक रहने व्यवस्था छ ।

दुई जना स्ववियु सभापति र एक डीन उपस्थित नभएका कारण बैठक बस्न नसकेको परिषद्का एक सदस्यले जानकारी दिए । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचनको कार्यविधि र तालिका सार्वजनिक गर्न परिषद्को बैठक बोलाएको थियो ।

निर्देशनालयले बैठकपछि विद्यार्थी संघसंगठनसँग छलफल गर्नेछ । सो छलफललगत्तै तालिका सार्वजनिक गर्नेछ । कम्तीमा निर्वाचन हुनु एक महिनाअघि तालिका सार्वजनिक गर्नुपर्छ । सोही आधारमा निर्देशनालयले परिषद्को बैठक बोलाएको हो । गत वर्ष सम्पन्न त्रिविसभा बैठक (सिनेट) को निर्णयको आधारमा फागुन १५ गते निर्वाचन गर्ने निर्णय भएको हो ।

सो बैठकले निर्णय गरेर कार्यान्वयन गर्न निर्देशनालयलाई जिम्मा दिएको छ । निर्देशक अधिकारीका अनुसार परिषद्ले निर्वाचनको सबै निर्णय पारित गरेपछि कार्यकारीको बैठकमा पेस गर्नेछ । परिषद्को बैठकले निर्णय अनुमोदन गरेसँगै निर्वाचन प्रक्रिया अघि बढ्नेछ । निर्देशनालयले त्यसपछि विद्यार्थी संघसंगठनसँग छलफल गरी माघ १५ गतेभित्र कार्यतालिका सार्वजनिक गर्नेछ ।

उपकुलपति प्राडा केशरजंग बरालले नीति तथा कार्यक्रममा पारित गर्दा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख गर्नुभएको थियो । सोही आधारमा फागुन १५ मै निर्वाचन गर्नुपर्ने बाध्यता छ । त्रिविले जारी गरेको शैक्षिक क्यालेन्डरमा समेत फागुन १५ गते स्ववियु निर्वाचन गर्ने उल्लेख छ । स्ववियु पदाधिकारीको दुईवर्षे कार्यकाल सकेसँगै त्रिविले स्ववियु निर्वाचन प्रक्रिया शुरू गर्न लागेको हो । ‘दुई वर्षअघि स्थगित भएका उपत्यकाको ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गर्ने तयारी छ । स्थगित भएका र दुईवर्षे कार्यकाल पूरा भएका सबै क्याम्पमा स्ववियु निर्वाचन हुने निर्देशक अधिकारीले बताउनुभयो ।

गतवर्ष देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १५ मा निर्वाचन गर्ने उल्लेख छ । त्रिविले सामानुपातिक र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन गर्ने भएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनेछन् । उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य सामानुपातिक प्रणालीमार्फत चुनिनेछन् । निर्वाचनमा भाग लिने स्ववियु पदाधिकारी र सदस्यको उमेर हद २८ वर्ष नै कायम हुने गरी तयारी थालेको छ ।

अझै करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । यसैबीच त्रिविले स्नातक तहको भर्ना बन्द गरेको ९ दिन दिन बित्न नपाउँदै फेरि भर्ना खोल्ने निर्णय गरेको छ । विद्यार्थी संघसंगठनको दबाब थेग्न नसकेपछि आज सोमबारबाट ११ गतेसम्मका लागि भर्ना खोल्न निर्देशन दिएको छ ।

रेक्टर कार्यालयले सबै डीनको कार्यालयलाई पत्राचार गरी भर्ना खोल्न निर्देशन दिएको हो । त्रिविले स्ववियु लक्षित कार्यक्रममा प्रभाव पर्न सक्ने उल्लेख गर्दै पुस २८ बाट भर्ना बन्द गराउने निर्णय गरेको थियो । फेरि भर्ना खोल्ने निर्णयसँगै क्याम्पसमा स्नातक तहको भर्ना गर्नेको भीड लाग्ने भएको छ।

त्रिवि उपकुलपति विश्वविद्यालय जानै छाडे

गएको बिहीबार मध्यरातमा २४ क्याम्पस प्रमुख नियुक्ति भएदेखि त्रिविका उपकुलपति प्राडा केशरजंग बराल कार्यालय पुग्नुभएको छैन । नेपाल विद्यार्थी संघले पुस २९ गते विभिन्न नारा लेखेको हस्तलिखित पम्प्लेट ढोकामा टाँसेका थिए । सोही दिनबाट कार्यालय टेक्नुभएको छैन ।

‘उहाँका कार्यकक्षमा पनि होइन, ढोकामा मात्र विरोधपत्र टाँस्दा पनि उहाँ कार्यालय आउन छाड्नुभएको हो, अहिले उहाँ कार्यालय आउन छाडेर वर्कफ्रम होममा हुनुहुन्छ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । नेविसंघ त्रिवि इकाइले उपकुलपति, रेक्टर र रजिस्टारलाई तथानाम लेखेर पत्र टाँसेका थिए। उनीहरूले मेरिटोक्रेसी हराएको आरोप लगाएर पम्प्लेट टाँसेका हुन्।


‘एकसाता भयो उपकुलपतिज्यू कार्यालयमा नआउनुभएको, केही प¥यो कि कर्मचारीलाई बोलाएर घरबाटै काम गर्न थाल्नुभएको भन्ने सुनेका छौं’ –एक उच्च अधिकारीले भने।