नेपाली महिला क्रिकेट पहिलोपटक विश्वकपमा

2.16k
Shares

काठमाडौं ।

नेपालको पुरुष क्रिकेट टोलीले विश्वकपको स्वाद चाखिसकेको छ। नेपाली महिला टोलीले भन्दा पुरुष टोलीले धेरै उपलब्धि हासिल गरिरहेको छ । पुरुष टोलीले टी–२० विश्वकप नै दुईपटक खेलिसकेको छ।

तर, यसपटक भने महिला टोली पनि कम रहेन । मलेसियामा शनिवारदेखि शुरू भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालको महिला टोलीले खेलेर नेपाली क्रिकेटको उचाइ बढाएको छ । सन् २००७ देखि नेपाली महिला क्रिकेट टोलीले खेल्न शुरू गरेको थियो। सिनियर टोलीले कैयौंपटक प्रयास गरे पनि विश्वकपमा सहभागिता जनाउन असफल भइरहेको छ। सिनियरको प्रयास जारी नै छ।

युवा टोलीले भने करिब १८ वर्षको नेपाली महिला क्रिकेटको इतिहासमा पहिलोपटक विश्वकप खेल्ने तय गर्न सफल भयो । यो समग्र नेपाली महिला क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्अन्तर्गतको सबैभन्दा ठूलो प्रतियोगितामा सहभागी हो । १९ वर्षमुनिको पुरुषतर्फ विश्वकप भइरहेकै छ भने यस उमेर समूहमा महिलातर्फ विश्वकप गत २०२३ देखि आरम्भ भएको हो । उक्त पहिलो संस्करणको यू–१९ महिला टी–२० विश्वकप दक्षिण अफ्रिकामा आयोजना भएको थियो । जसमा, इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै भारत विजेता भएको थियो । तर, पुरुष यू–१९ विश्वकप भने ५० ओभरको फरम्याटको हो।
यसरी छनोट भयो
गत वर्षको नोभेम्बरमा यूएईमा विश्व कपका लागि एसियाली छनोट भएको थियो। छनोट प्रतियोगितामा नेपालसहित ४ देशको सहभागिता रहेको थियो । प्रतियोगिता दोहोरो चरणको रोबिन लिगका आधारमा भएको थियो।

नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनोट भएको थियो । पहिलो खेलमा यूएईसँग पराजित भएको नेपालले अन्तिम खेलमा यूएईलाई नै पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।
१६ टोलीको सहभागिता
यू–१९ महिला विश्वकपमा १६ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । नेपाल भने समूह ‘डी’ मा रहेको छ । नेपालले स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलियासँग खेल्नेछ । यो समूहमा अस्टे«लियाले स्कटल्यान्डलाई हराएर २ अंक जोडिसकेको छ ।
फरम्याट यस्तो छ
प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समान ६ टोलीको दुई समूह हुनेछन् । समूह १ मा समूह ‘ए’ र ‘डी’का शीर्ष ३ टोली रहने छन् । त्यस्तै, समूह २ मा समूह ‘बी’ र ‘सी’का शीर्ष ३ टोली रहनेछन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इन्डिजसँग खेल्न पाउने सम्भावना प्रबल छ । सुपर सिक्समा हरेक टोलीले २÷२ खेल खेल्नेछन् । सुपर सिक्सका दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाली टोली ः सोनी पाखरिन, किरणकुमारी कुँवर, कृष्मा गुरुङ, सना परविन, स्नेहा महरा, सावित्रा धामी, तृष्णा विक, रिया शर्मा, अलिशाकुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत ।