उदयपुर ।
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजातिका लागि नगरपालिका वा गाउँपालिकाले छुट्याएको बजेट स्थानीयले नै आफ्नो कार्यक्रममा खर्च गर्न पाउने व्यवस्था भए पनि आफ्नै कार्यक्रम प्रति आदिवासी जनजाति साथीहरुले बेवास्ता गर्दा बजेट प्रयोग विहीन भएको बताएका छन् ।
अध्यक्ष मगरले बिहीबार उदयपुरको गाईघाटमा त्रियुगा नगरपालिकाद्धारा आयोजित तथा आदिवासी जनजाति आयोगद्धारा संयोजन गरिएको आदिवासी जनजाति लक्षित बजेट तथा कार्यक्रमसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै कानुन अनुसार प्रत्येक स्थानीय निकायले ,प्रदेश सरकार तथा संघीय सरकारले समेत कुल बजेटको १५ प्रतिशत बजेट आदिवासी जनजातीकालागि छुट्याउनु पर्ने हुन्छ । तर सबै पालिकाले बजेट छुट्याउन नसकेको, बजेट छुट्याए पनि कतिपय पालिकामा आदिवासी जनजातीहरुले कार्यक्रम गर्न नसकेको अवस्था रहेको बताए ।
त्रियुगा नगरपालिकाकी उप प्रमुख एवम् कार्यवाहक नगरपालिका प्रमुख महेश्वरी राईको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं १६ का वडाध्यक्ष मान बहादुर राई, गौरी शंकर उदास, इन्द्रराज कार्की, उपेन्द्र तामाङ, राजकुमार कोयु, शारदा दनुवार, महेन्द्र कुमार राई, राजकुमार राई लगायतका वक्ताहरुले नगरपालिकाले कानुनमा तोकिए अनुसार आदिवासी जनजातीकालागि बजेटको व्यवस्थापन गर्नु पर्ने र बजेट कार्यान्वयनमा सबै आदिवासी जनजाति मिलेर आवश्यक प्राथमिकता प्राप्त योजनाका साथै अन्य योजना तथा कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
त्रियुगा नगरपालिका स्तरीय कार्यक्रम भएकोले नगरभित्र बसोवास गर्दै आएका आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग लगायतका बारेमा पनि वक्ताहरुले कुरा उठाएका थिए । अन्तरक्रिया कार्यक्रममा विभिन्न जिज्ञासा तथा प्रश्नहरु उठेकोमा प्रमुख अतिथि अध्यक्ष मगरले आफ्नो कार्यक्रममा सबै आदिवासी जनजाति तथा लक्षित वर्गले चासो राखेर बजेट तथा कार्यक्रमका बारेमा सोधीखोजी गरी कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा अध्यक्ष मगरद्धारा प्रस्तुत कार्यपत्रमाथि महेन्द्र कुमार राईले संक्षिप्त टिप्पणी गर्दै आदिवासी जनजाति आयोगले गरेको यो कार्यक्रम महत्त्वपूर्ण रहेको र बजेट तथा कार्यक्रम कार्यान्वयनको बाटोमा सफल र उपलब्धिपूर्ण हुनु पर्ने कुरामा जोड दिए ।
प्रतिक्रिया