जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा

7.61k
Shares

वीरगन्ज।

जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलम सम्पन्न तीन दिवसीय फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिसले आर्मीलाई २८ रनले हरायो ।

पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भयो । इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाए ।आर्मीलाई अलआउट गर्न पुलिसका दुई स्पीनर काफी रहे । सागर ढकालले ६ तथा ललित राजवंशीले ४ विकेट लिए । सागरले १४.२ ओभरमा ३५ रन खर्चे । ललितले १५ ओभरमा ३९ रन दिए ।त्यसअघि तेस्रो दिनमा १३२–९ को अवस्थाबाट सुरूवात गरेको पुलिस १३९ रनमा अलआउट हुँदै १०२ रनको अग्रता बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए । आर्मीका साहब आलमले ५ तथा बसिर अहमदले ४ विकेट लिए । साहबले पहिलो इनिङमा ७ विकेट लिएका थिए ।पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३–९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए । आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए ।

त्यसपछि जवाफमा आर्मी १७० रन बनाएर अलआउट भएको थियो । आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन बनाउँदा बसिर अहमदले ४० रन बनाए । सोमपाल कामीले ३२ रन बनाए । विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए ।पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र गुल्शन झाले १–१ विकेट हात पारे ।नेपाल पुलिस क्लब गतवर्षको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पनि च्याम्पियन हो । पीएम कपको फाइनलमा पनि पुलिसले आर्मीलाई नै हराएको थियो ।