सायम प्रिमियर लिगमा ४ टिम


काठमाडौं ।

सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ। लिग फागुनको अन्तिम साता हुने सायमका प्रिन्सिपल अशोकराज पाण्डेले जानकारी गराए। चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन्।

प्रतियोगितामा एक टिम खरिद गर्न सम्बन्धितले अधिकतम १ लाख खर्च गर्नु पर्नेछ। खेलाडीलाई २ समूहमा वर्गीकरण गरिने छ। ग्रेड ‘ए’ मा रहेका खेलाडीका लागि न्यूनतम ५ हजार देखि अधिकतम २५ हजार रुपियाँ मूल्य तोकिएको छ। ग्रेड ‘बी’ का खेलाडीको मूल्य न्युनतम ५ हजारदेखि अधिकतम १५ हजार रुपियाँ निर्धारण गरिएको छ । एक टिमले १२ खेलाडी किन्नुपर्ने छ ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा मार्की खेलाडी पनि सार्वजनिक गरिएको थियो । सायम सुपर किङ्समा दिनेश बोहरा, सायम च्यालेन्जर्समा अभिषेक भण्डारी, सायम ब्लास्टर्समा रोहित पोदार र सायम नाइट राइडर्समा श्रृजलराज शर्मा मार्की खेलाडी रहेका छन्।

खेल १५–१५ ओभरको हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपियाँ खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए। प्रिन्सिपल पाण्डेले विद्यार्थीहरूलाई जिम्मेवारीबोध गराउने उद्देश्यले प्रतियोगिता व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूलाई नै सुम्पिएको बताए।

सायम च्यालेन्जर्सले सर्वाधिक २ पटक उपाधि जितेको छ। च्यालेन्जर्स पहिलो र तेश्रो संस्करणको उपाधि विजेता हो। दोस्रोमा सायम सुपर किङ्स र चौथोमा सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए। खेलस्थल तत्कालका लागि मूलपानी क्रिकेट मैदानलाई प्रस्ताव गरिएको छ।