एजेन्सी ।
नोभाक जोकोभिचले रोजर फेडेररको सदाबहार रेकर्ड तोडेका छन्। अस्ट्रेलियन ओपनको दोस्रो चरणमा जोकोभिचले छनोट खेलाडी जेम फेरियालाई ६–१, ६–७, ६–३, ६–२ ले हराएर फेडेररको रेकर्ड तोडेका हुन्।
तेस्रो चरणमा पुगेका सर्बियाली खेलाडी जोकोभिचले ग्रान्डस्लाममा धेरै सिंगल्स खेल खेल्ने रेकर्डमा उनको नाम लेखाए । उनले यो विश्व रेकर्ड पुरुष र महिला दुवै विधामा धेरै खेल खेल्नेमा राखेका हुन् ।
जोकोभिचले यो खेलसमेत गरी ४ सय ३० ग्रान्डस्लाम खेल खेलेका छन्। यसअघि यो विश्व रेकर्ड स्विजरल्यान्डका फेडेररको नाममा थियो । फेडेररले अन्तिम पटक ग्रान्डस्लाम प्रतियोगिता २०२१ को विम्बल्डनमा खेलेका थिए। ग्रान्डस्लाममा ४ सय भन्दा बढी खेल्नेमा तीन खेलाडीमात्रै छन्।
यस्तै, जोकोभिचले ३० वर्ष उमेरमाथि ग्रान्डस्लाम प्रतियोगितामा १ सय ५० सिंगल्स खेल जितेको रेकर्ड पनि राखे। उनी अझै एक विश्व रेकर्डमा पुग्न सक्नेछन्।
उनले यदि मेलबर्नमा उपाधि जितेमा सर्वाधिक ग्रान्डस्लाम सिंगल्स उपाधि जित्ने खेलाडी बन्नेछन्। हाल जोकोभिचले २४ ग्रान्डस्लाम उपाधि जितेका छन्। उनको यो विश्व रेकर्ड अस्ट्रेलियाकी मार्गारेट कोर्ट स्मिथसँग बराबरीमा छ। महिला खेलाडी स्मिथले २४ ग्रान्डस्लाम उपाधि जितेकी छन्।
प्रतिक्रिया