एजेन्सी ।
डेनील मेदभेदेभले विश्व वरीयतामा ४ सय १८ औं स्थानमा रहेका खेलाडीसँग दुई सेट हार्नु पर्दा नेटको क्यामेरा नै बिगारेका छन्। अस्ट्रेलियन ओपनअन्तर्गत मंगलवार भएको पहिलो चरणको खेलमा रुसी खेलाडी मेदभेदेभ डेब्यु खेलाडी कासिडी समरेजसँग २–१ सेटले पछि परेका थिए ।
उनले यही झोंकमा नेटको क्यामेरामा र्याकेटले हिर्काएका थिए। उनले क्यामेरा नबिग्रुन्जेल हिर्काइरहेका थिए। तर, मेदभेदेभले पछि चौथो र पाँचौं सेटमा नियन्त्रण बनाएर थाई खेलाडी समरेजलाई ६–२, ४–६, ३–६, ६–१, ६–२ ले पन्छाउन सफल भए ।
मेदभेदेभ मेलबर्नमा तीन पटक फाइनल खेलिसकेका खेलाडी हुन् । पहिलो सेट उनले सहजै जिते पनि दोस्रो र तेस्रो सेट समरेजले हात पार्दा एक स्तब्ध नतिजा निस्कने सम्भावना बढेको थियो । तेस्रो सेट पनि गुमाउन पुग्दा मेदभेदेभ अनियन्त्रित भएर रिस सबै नेट क्यामेरामा बिसाए ।
तर, यसपछि चौथो र पाँचौं सेट जितेर मेदभेदेभले ग्रान्डस्लाम प्रतियोगितामा सबैभन्दा ठूलो हार हुने सम्भावनालाई समाप्त पारेका थिए । समरेज वाइल्ड कार्डमार्फत प्रतियोगितामा प्रवेश गरेका थाई खेलाडी हुन् । उनले ग्रान्डस्लाम डेब्युमै स्तब्ध नतिजा निकालेर झण्डै सबैलाई आश्चर्यचकित पार्न तयार नै भइसकेका थिए । तर, उनी सफल भएनन् ।
मेदभेदेभले मेलबर्नमा पाँच सेट खेल्ने बानी नै भइसकेको छ । गत वर्ष फाइनलमा उनी दुई सेटले अगाडि थिए । तर, इटालीका यानिक सिनरले त्यसपछि तीनै सेट जितेर उनलाई उपाधिबाट वञ्चित गरेका थिए । समरेजले दोस्रो र तेस्रो खेलमा निकै शसक्त खेल देखाएका थिए।
उनको खेल देखेर मेदभेदेभले बताए—दोस्रो र तेस्रो सेटमा मैले बल नै छुन सकेन । उनको पावर खेलमा मैले के गर्ने थाहा नै भएन । मैले उनको खेल हेरेको थिएँ र यस्तो स्तरीय खेल भने देखेको थिएन । म एकदम आश्चर्यमा परे । यदि, उनले यस्तो खेल फेरि देखाएमा उनको जीवन नै राम्रो हुनेछ, पैसा, केटी, क्यासिनो जेजे छ पाउनेछन् ।
सोही प्रतियोगितामा पाको खेलाडी गाएल मोन्फिल्स युवा खेलाडीलाई हराएर दोस्रो चरणमा प्रवेश गरे । ३८ वर्षीय फ्रेन्च खेलाडीले उनकै देशका २१ वर्षीय जियोभानी मेटसी पेरीकार्डलाई ५ सेटमा हराए । सो खेल मोन्फिल्सले ७–६, ६–३, ६–७, ६–७, ६–४ ले जितेका थिए । गत साता मात्रै अकल्यान्डमा एएसबी क्लासिक जित्दा मोन्फिल्स एटीपी टुरमा च्याम्पियन हुने पाको खेलाडी बनेका थिए।
महिलातर्फ केवल ५३ मिनेटमा अस्ट्रेलियाकी युवा खेलाडी इमर्सन जोन्सलाई हराएर एलेना रिबाकिना दोस्रो चरणमा पुगिन्। मेलबर्नमा २०२३ मा रनरअप बनेकी काजाख खेलाडीले ११ एस प्रहार गरेकी थिइन्। उनले २८ विनर अंक जोड्दै खेल ६–१, ६–१ ले जितेकी थिइन्।
प्रतिक्रिया