–अधिकांश ठूला कांग्रेसको भागमा, मझौला र साना अन्य दललाई
–८ कांग्रेस, ७–७ एमाले र माओवादी, १ स्वतन्त्र, १ मधेसवादी
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत २४ क्याम्पस प्रमुख पाँच दलको भागमा परेको छ । मेरिटोक्रेसीको आधारमा क्याम्पस प्रमुख नियुक्ति गरेको रटान गर्ने उपकुलपति, रेक्टर र रजिस्टारले अन्ततः आफ्नै पार्टी निकटका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकलाई क्याम्पस प्रमुख छानेका छन्।
यसअघि नियुक्ति भएका ८ डीन, ३ निर्देशक र ६ सहपरीक्षा नियन्त्रक पनि भागवण्डाकै आधारमा नियुक्ति भएको थियो। पछिल्लो नियुक्ति पनि भागवण्डामै सीमित भयो।
स्रोतका अनुसार आइतबार राती ११ बजे क्याम्पस प्रमुखको नाम सार्वजनिक गर्दा नेपाली कांग्रेस निकट ८, एमाले र माओवादी निकट ७–७ र स्वतन्त्र र मधेसवादी दलका प्राध्यापकलाई १–१ जना भागवण्डा गरेका छन्।
स्वतन्त्र रूपमा क्याम्पस प्रमुख नियुक्ति गरेको दाबी गरेका तीन पदाधिकारीले क्याम्पस प्रमुखको अन्तिम नाम तयार गर्दा भागवण्डा गरेका हुन् । ‘नभए तीन जनामध्ये पहिलोलाई छनोट गरेको भए किन मेरिटोक्रेसीलाई आधार मानिएन ?’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।
स्रोतका अनुसार छनोटमा परेका ठूला क्याम्पस नेपाली कांग्रेस निकटलाई परेको छ भने मझौला र साना क्याम्पस अन्य चार दलले भागबण्डा गरेका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसको भागमा शंकरदेव क्याम्पस प्रमुखमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्स क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, पाटन संयुक्तमा सहप्राध्यापक रघुवीर विष्ट, पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक, मेची बहुमुखी क्याम्पस झापामा सहप्राध्यापक देवीप्रसाद आचार्य, डोटी बहुमुखी क्याम्पस सहप्राध्यापक दिलानन्द जोशी, रामस्वरूप रामसागर क्याम्पस, (रारा) जनकपुरमा प्राध्यापक वसन्तकुमार कर्ण र भैरहवा बहुमुखी क्यामपसमा लक्की जोशी छानिनुभएको छ।
एमालेबाट जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा उपप्राध्यापक प्रकाशचन्द्र खत्री, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा सहप्राध्यापक माधवप्रसाद खनाल, बुटवल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्री, पक्लिहवा कृषि क्याम्पसमा सहप्राध्यापक जन्मजय गैरे, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा उपप्राध्यापक टंकप्रसाद पन्थ, धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा सुदर्शन सिलवाल र रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी रहनुभएको छ।
माओवादीको प्राध्यापकमध्येबाट सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य, विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी, ललितकला क्याम्पस काठमाडौंमा उपप्राध्यापक यामप्रसाद शर्मा, वनविज्ञान अध्ययन संस्थान पोखरामा सहप्राध्यापक नारायणप्रसाद गौतम, कृषि र पशुविज्ञान अध्ययनसंस्थान लमजुङ क्याम्पसमा उपप्राध्यापक रामकुमार श्रेष्ठ, भोजपुर बहुमुखी क्याम्पसमा सहप्राध्यापक पर्वतकुमार राई रहनुभएको छ।
स्रोतका अनुसार भागवण्डा मिलाउन केन्द्रीय प्रविधि (हात्तीसार) क्याम्पस धरानमा स्वतन्त्र र सूर्यनारायण सत्यनारायण मरबैत्ता क्याम्पसमा मधेसवादी दललाई क्याम्पस प्रमुख नियुक्ति गरिएको छ। उपकुलपति बरालले पदबहाली गरेकै दिन मेरिटोक्रोसीको आधारमा डीन नियुक्ति गर्ने बताउनुभएको थियो। हाल सबै पदमा भागवण्डाको आधारमा छनोट गर्नुभएको छ।
त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले मेरिटोक्रेसीको आधारमा नियुक्ति गरेको भनिए पनि त्यस्तो नभएको जिकिर गर्नुभयो । यसअघि क्याम्पस प्रमुख नियुक्ति गर्ने विषयमा नेपाली कांग्रेस, एमाले र माओवादीबीच भागवण्डा नमिलेका कारण समस्या परेको थियो । यसअघि तीन दलीय भागबण्डाको आधारमा ८ डीन र ३ नियुक्ति गरेको छ ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते त्रिवि सभाको बैठकमा डीन नियुक्ति गर्न निर्देशन दिनुभएको थियो । त्यसको २ दिनपछि मंसिर २९ गते डीन र कार्यकारी निर्देशक नियुक्ति भएको हो । नियुक्ति भएकामध्ये ३ नेपाली कांग्रेस, २ एमाले र २ डीन माओवादी निकट छन् । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्मा कांग्रेस र एमाले दुवैले आफ्नो दाबी गरेका छन् ।
नियुक्ति भएकामध्ये नेपाली कांग्रेसबाट वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल नियुक्त हुनुभएको छ । एमालेको तर्फबाट शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य र इन्जिनियरिङ अध्ययन संस्थानमा प्राडा सुशीलबहादुर वज्राचार्य नियुक्त हुनुभएको छ ।
माओवादीबाट मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राडा दुबिनन्द ढकाल र कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल डीन नियुक्ति हुनुभएको छ। नियुक्ति भएकामध्ये कृषि तथा पशुविज्ञान र वन विज्ञानमा मेरिटोक्रेसी तोडेर सहप्राध्यापकलाई डीन नियुक्ति गरिएको छ।
त्यसै गरी तीन जना निर्देशक तीन दलबीच भागवण्डा गरिएको छ । योजना निर्देशनालयका निर्देशक डा. सहप्राध्यापक लक्ष्मीकान्त शर्मा माओवादी, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक सहप्राध्यापक डा. राजेन्द्र कुँवर एमाले र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र कार्यकारी निर्देशक प्राडा मीना राजभण्डारी नेपाली कांग्रेस निकट हुनुहुन्छ ।
योजना निर्देशनालयका निर्देशक शर्मा सहप्राध्यापक हुनुहुन्छ।
डीन र निर्देशक नियुक्ति गर्नुअघि ६ उप नियन्त्रक पनि भागबण्डा भएको थियो । तीमध्ये ४ एमाले र १–१ जना नेपाली कांग्रेस र माओवादी निकटलाई नियुक्ति दिएको थियो।
कुन क्याम्पस प्रमुख कुन दल निकट
नेपाली कांग्रेस : पाटन संयुक्त, शंकरदेव, नेपाल कमर्स, पृथ्वीनारायण, मेची बहुमुखी, डोटी बहुमुखी क्याम्पस, रारा बहुमुखी क्याम्पस जनकपुर, भैरहवा बहुमुखी
नेकपा एमाले : जुम्ला क्याम्पस, सुर्खेत बहुमुखी, बुटबल बहुमुखी, पक्लिहवा कृषि क्याम्पस, त्रिभुवन बहुमुखी पाल्पा, धौलागिरि बागलुङ, रत्नराज्य लक्ष्मी
माओवादी : ललितकला, विश्वभाषा, सानोठिमी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, पोखरा वन विज्ञान र भोजपुर बहुमुखी, लमजुङ कृषि
स्वतन्त्र : केन्द्रीय प्रविधि क्याम्पस धरान (हात्तीसार)
मधेसवादी दल : सूर्यनारायण सत्यनारायण मरबैत्ता क्याम्पस
प्रतिक्रिया