काठमाडौं ।
चार दशक लामो बसाइपछि तलेजु भवानीको प्रतीकको रूपमा रहेको वायुपंखी घोडा ‘समस’ अर्थात् कुमारको निधन भएको छ। कुमार घोडाको निधन भएकै दिन चारवर्षे कागबेनी अर्थात् नयाँ कुमार घोडाको प्रवेश भएको छ। नेपाली सेनाले बोलाउने नाम जे राखे पनि हनुमानढोकामा तलेजु भवानीको वाहनका रूपमा कुमार घोडा भनिन्छ।
नेपाली सेनाको नारायणहिटीस्थित क्याबलरी गुल्मबाट सेनाले नाम राखेको कागबेनी तलेजु भवानी मन्दिर परिसरमा प्रवेश भएपछि कुमारको प्रतीक घोडा बस्न थालेको छ। किंवदन्तीअनुसार मृत्यु भएको कुमारलाई अत्येष्टि गर्नुअघि नयाँ घोडा भित्र्याउनुपर्ने प्रचलन छ। कुमार घोडाको शुक्रवार दिउँसो १ बजे मृत्यु भएको थियो।
सोही प्रचलनअनुसार नयाँ कुमार घोडालाई तलेजुस्थित तबेलामा प्रवेश गराइएको हो। नयाँ कुमार घोडालाई नासल चोकमा विधिपूर्वक पूजा अर्चना गरी हनुमानढोकाको प्रवेशद्वारबाट प्रवेश गराएर मूलचोक हुँदै विष्णु मन्दिरसँगैको तबेलामा राखिएको छ।
नयाँ कुमार घोडालाई तबेलामा राख्नुअघि मृत्यु भएको घोडालाई तलेजु भवानीको सिंहद्वारबाट बाहिर निकालिएको थियो। ‘बाँसको खटमा राख्न नहुने परम्पराअनुसार मुत्युवरण गरेको कुमार घोडालाई हनुमानढोकाको मूलचोकमा विधिपूर्वक बिदाइ गरी शोभा भगवती पुर्याइएको हो’ –तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले भन्नुभयो।
कुमार घोडालाई गाडिएको थियो। उहाँका अनुसार मृत्यु भएको कुमार घोडालाई हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरेको थियो। उहाँको अन्तिम संस्कार हुनुअघि नै तलेजुमा नयाँ कुमार घोडा प्रतिस्थापन गरिएको थियो। मृत्यु भएको कुमार घोडा दुई वर्षदेखि बिरामी थियो । कुमार बिरामी पर्न थालेपछि तलेजुका पुजारीसहित टोलीले नयाँ घोडा छनोट गरेका थिए।
‘क्याबलरी गुल्मभित्र रहेको कुमार त्यस बेला सानो थियो, सेतो र कालो देखिन्थ्यो अहिले टाउकोमा कालो र रातो देखिएको छ’ –पुजारी कर्माचार्यले भन्नुभयो। तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माको कार्यकालमा तलेजुको प्रतीक नयाँ कुमार घोडा छानिएको थियो।
‘अहिलेको कुमार घोडाको शरीरमा कुनै खोट छैन, सबै जुरेपछि कागबेनीलाई छानेका हौं’ –मूल पुजारी कर्माचार्यले भन्नुभयो। उहाँका अनुसार नयाँ घोडालाई स्याहारसुसार गर्न एक जना कामदारको आवश्यक छ। राजाको कार्यकालमा महर्जन परिवारबाट कुमार घोडा हेरचाह गर्ने व्यवस्था थियो। अहिले हनुमानढोका कार्यालयका कर्मचारीले हेरचाह गरिरहेका छन्।
उक्त कुमार घोडालाई दाना, पराललगायत खानेकुमार हनुमानढोका कार्यालयबाट व्यवस्थापन भइरहेको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेलले नयाँ कुमार घोडाको सबै व्यवस्थापन कार्यालयले गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘नयाँ कुमार घोडालाई कुनै पनि समस्या हुन दिनेछैनौं, समयमै खाना र स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएका छौं।’
महेन्द्र मल्लको पालामा अश्वमेघ यज्ञ गरेदेखि वायुपंखी घोडाको रूपमा तलेजु मन्दिर परिसरमा राखिएको भनाइ छ। यसमा चढ्न र छुन हँुदैन । उक्त घोडा सायद २०४० सालतिर ल्याएको हुन सक्ने आँकलन मूल पुजारी कर्माचार्यको भनाइ छ। उहाँका अनुसार तलेजुको प्रतीकको निधन भएपछि अनिष्ट हुन सक्ने भनाइ छ।
मूल पुजारी कर्माचार्यले कुमार घोडाको आत्माको कामना गर्दै आज तलेजुमा पूजा गर्ने कार्यक्रम रहेको बताउनुभयो । ‘अनिष्ट र अशान्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्न लागेका हौं –मूल पुजारी कर्माचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो । युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले पुरानो कुमार घोडाको विधिवत अन्त्येष्टि गर्नुअघि नयाँ कुमार घोडाको प्रवेश गराइएको जानकारी दिनुभयो।
प्रतिक्रिया