मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका ४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई काठमाडौँको बौद्ध नयाँबस्ती बस्दै आएका २६ वर्षीय समीर तामाङ रहेका छन् ।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०२५ प ३१ २९ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२८ प १९ ७१ राखि समीरले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकल भक्तपुर घर भएका पूर्ण बहादुर शाहीले यही पुस २२ गते भक्तपुरकै च्यामासिंहबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।