काठमाडौं ।
जारी एन्फा राष्ट्रिय महिला लिगमा नेपाल एपीएफ क्लबले लगातार चौथो जित हासिल गरेको छ। दोस्रो चरणअन्तर्गत शनिवार भएको विभागीय टोलीबिचको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो। योसँगै एपीएफ १२ अंकसहित शीर्ष स्थानमा रहेको छ।
एपीएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रीति राईले समान १ गोल गरे। पहिलो हाफमा दुवै टोलीबाट गोल भएन। दोस्रो हाफ भने रोमाञ्चक बन्यो। ६० औं मिनेटमा अनिताको फ्रि–किकमा निशा थोकरले हेडमार्फत् गोल गरिन्। तर, यो अग्रता ६९ औं मिनेटमा नै तोडियो। आर्मीका लागि विमला चौधरीको कर्नरमा क्लियर हुन नसकेको बलमा विमला थापाले गोल गरिन्।
८५ औं मिनेटमा अनिताको असिस्टमा प्रीतिले गोल गरिन् । यो गोलले एपीएफको अग्रता २–१ मा पुग्यो। त्यसपछि इन्ज्युरी समयमा अनिताले गोल थप्दा एपीएफको जित पक्का भएको थियो।
यसअघिका तीन खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ६–०, वालिङ नगरपालिकालाई ९–० र वागमती युथ क्लबलाई ५–१ ले हराएको थियो। एपीएफले चार खेलमा २३ गोल गर्दा २ गोल आत्मसात गरेको छ। तर, आर्मीको भने यो जारी लिगमा पहिलो हारसमेत हो। यसअघिका खेलमा वालिङ र वागमतीलाई हराएको आर्मी पुलिससँग बराबरीमा रोकिनाले अंकतालिकामा कमजोर बनेको छ।
प्रतिक्रिया