काठमाडौं ।
नेपालका सद्भाव आचार्यले ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जितेका छन् । बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ६ स्ट्रोकले हराउँदै सदभावले उपाधि जितेका हुन् । उनी यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
सन् १९८८ को दोस्रो संस्करणदेखि नेपालले सहभागिता जनाउँदै आएको हो । ढाकास्थित कुर्मितोला गल्फ क्लबमा शनिवार १ ओभर ७३ स्कोर बनाएका सद्भावले समग्रमा ३ ओभर २९१ सहित उपाधि जिते । सद्भावले फ्रन्ट नाइन २ ओभर ३८ मा पूरा गरे। पहिलो, दोस्रो र सातौं होलमा बोगी प्रहार गरेका उनले आठौं होलमा एक सट बचाए ।
यसपछि १४औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे पनि १५औं होलमा एक सट खेर फाले । उनले ब्याक नाइन १ अन्डर ३५ मा सकाए । उनले पहिलो र दोस्रो दिन समान ३–अन्डर ६९ को स्कोर गरेका थिए । तेस्रो दिन भने ८ ओभर ८० को प्रदर्शन गरेका थिए । तर, अन्तिम दिन सम्हालिँदै उपाधि जिते ।
बंगलादेशका सफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनले समग्रमा ९ ओभर २९७ को स्कोरसहित दोस्रो स्थान प्राप्त गरे। बंगलादेशकै मोहम्मद समिम समग्रमा ११ ओभर २९९ सहित चौथो भए। समग्रमा १२ ओभर ३०० बनाएका श्रीलंकाका चालिथा पुष्पिका पाँचौं स्थानमा रहे। नेपालका राहुल विकेले ६–ओभर ७८ को प्रदर्शन गर्दा समग्रमा १६ ओभर ३०४ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए।
सद्भावको लागि यो प्रतियोगिता विशेष बन्यो। उनले दुई स्वर्ण जिते। व्यक्तिगततर्फ उपाधि जितेका उनले राहुल विकेसँग मिलेर टिम स्पर्धामा नेपाललाई स्वर्ण दिलाएका थिए । यसअघि उनले ३६औं संस्करणमा सुवास तामाङसँग मिलेर टिमतर्फ स्वर्ण हात पारेका थिए।
सद्भावले गत नोभेम्बरमा फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यू २१ तर्फ पहिलो भएका थिए। समग्रमा भने उनले दोस्रो स्थान प्राप्त गरेका थिए। चारदिने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कुल १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
प्रतिक्रिया