दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि


काठमाडौं ।

नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी गराए।

पुरुषमा ५ र महिलामा २ गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ । महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ।

हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ। स्वर्ण, रजत र कांस्य पदक विजेतालाई के कति दिने रकम दिने भन्ने प्रतियोगिताअघि टुंगो लगाउने आयोजकले जनाएको छ। दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमै पहिलोपटक हुन लागेको हो ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

प्रतियोगितालाई लक्षित गरी नवौं टेडवाङ जितकुण्डो सेमिनार बिहीबारदेखि बत्तीस पुतलीमा सुरु भएको छ। दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन्। दोश्रो दिन शुक्रबार रेफ्री सेमिनार हुनेछ। दुवै कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानको सहभागिता रहने छ ।

मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनार सञ्चालन गर्ने छन्। उनीहरुलाई मुख्य प्रशिक्षक थापाले सहयोग गर्ने छन्।